रक्सी(वाइनसमेत)को थोरै मात्रा पनि खतरनाक ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रक्सी(वाइनसमेत)को थोरै मात्रा पनि खतरनाक !


१५ भाद्र २०७५, शुक्रबार


रक्सी वाइन

हरेक दिन थोरै मात्रामा रक्सी सेवन गर्दा स्वास्थ्यलाई फाइदा गर्छ भन्ने आम बुझाइ छ । तर, हालसालै गरिएको एक गहन तथा विशाल अध्ययनले भने यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पर्ने देखाएको छ । रक्सीले मानव–स्वास्थ्यमा पार्ने असरबारे अर्थो न्युरो हेल्थ केयरका प्राकृतिक तथा क्रोनिक ब्याक पेन एक्सपर्ट डा. सुनिल पौडेलसँग प्रशासन डट कमले गरेको कुराकानीको सम्पादित अंश ।

हरेक बेलुकी थोरै थोरै मात्रामा (आधा वा एक पेग) रक्सी सेवन गर्नु राम्रो हुन्छ भन्ने आम बुझाइ छ, वास्तविकता के हो ?
यो त पिउनेहरूको बहाना मात्र हो । रक्सी सेवन गरेर स्वास्थ्यलाई फाइदा हुँदैन । डिजेल गाडीमा पेट्रोल हालेर राम्रो हुन्छ र ? यसबारे पहिल्यै पनि अध्ययन/अनुसन्धानहरू भएका नै थिए । तर, अनुसन्धानहरूको निचोडलाई गलत अर्थ लगाएर यसका हानीबारे ढाकछोप गरिएको थियो । वास्तवमा रक्सी सेवन हानिकारक नै हो । पछिल्लो अनुसन्धानले पनि रक्सी (तथा वाइन)को कुनै पनि मात्रामा सेवन हानिकारक हो भन्ने प्रमाणित गरेको छ, जुन अहिलेसम्मको सबैभन्दा ठूलो र गहन अनुसन्धान पनि हो ।

कतिपय चिकित्सकहरूले त रेड वाइन सेवन गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ भन्छन् नि ?
सर्वसाधारणमा मात्रै होइन, चिकित्सकहरूमा समेत यसबारे भ्रम रहेको पाइन्छ । नयाँ रिसर्चहरूमा अपडेट हुन नसक्नेले यसो भनेको हुन सक्छ । कुनै पनि रक्सि होस् यसका बेफाइदा भने खतरनाक नै छन् । कुनै पनि रक्सिले थोरै मात्रामा पनि कलेजो, पेट, मृगौला, दिमागका रोगदेखि क्यान्सरसम्म लगाउन सक्छ ।

भर्खरै विश्वविख्यात ल्यान्सेट जर्नलमा प्रकाशित तथा अहिलेसम्मको लामो तथा ठूलो रिसर्च अनुसार कुनै पनि रक्सी (वाइनसमेत) कुनै पनि मात्रामा सेवन गर्नु खतरनाक हुन्छ । यस अनुसार रक्सीको सुरक्षित मात्रा नै छैन । ग्लोबल बर्डेन अफ डिजिज भन्ने यो अध्ययन सन् १९९० देखि सन् २०१६ सम्म १९५ वटा देशहरूमा गरिएको हो । यस अनुसार थोरै रक्सीले मात्र पनि पहिलो वर्षदेखि नै नकारात्मक असर तथा क्यान्सर हुने लक्षण देखाउन सुरु गर्छ ।

त्यसो भए रक्सी पिउनु भएन होइन त ?
स्वस्थ रहन चाहनेले रक्सी पिउनुहुँदैन । किनकि यसको सेवनले रोग मात्रै निम्त्याउने होइन, ज्यानै समेत जाने गरेको छ । १५– ५० वर्ष उमेरसमूहका १० जनामा १ को मृत्यु रक्सी सेवनको कारणबाट हुने गरेको पाइएको छ । त्यसकारण म रक्सी नपिउने सल्लाह दिन्छु ।

रक्सी पिउने लत(बानी) लागि सकेका मानिसहरु कसरी छोड्न सक्छन् त ?
यो छोड्नको निम्ति सबैभन्दा आवश्यक कुरो हो गल्तिको बोध अनि राम्रो आत्मशक्ति । दोश्रो महत्वपूर्ण कुरो भनेको साथीभाई तथा आफ्नो घरपरिवारको साथ । यदि थोरै थोरै खाने बानी छ भने आजै र अहिलै छोड्नुहोस् तर कुलत नै छ भने बिस्तारै घटाउँदै लगेर छोड्नुपर्दछ । रक्सिको कुलत लागेका व्यक्तिहरुमा गाह्रो अवस्थाहरु पनि आउन सक्छ तर यसका कुनै पनि समस्या विशेषज्ञको सल्लाह, औषधि तथा उपचारबाट ठिक हुन सक्छ ।


डा. सुनिल पौडेल, संस्थापक निर्देशक, अर्थोन्युरो हेल्थकेयर, लाई सम्पर्क गर्न हटलाइन ९७४१३३३००९, ५५३३२१९ वा  [email protected]


 

Tags :
प्रतिक्रिया दिनुहोस