नन्दन तालको अस्तित्व सङ्कटमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नन्दन तालको अस्तित्व सङ्कटमा


१२ भाद्र २०७५, मंगलबार


नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ मा रहेको प्राकृतिक नन्दन ताल क्षेत्र संरक्षणका लागि गुरुयोजना नबनेका कारण तालको अस्तित्व नै खतरामा परेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेका सनइ र हकुहीमा रहेको ऐतिहासिक नन्दन ताल अहिले पर्याप्त संरक्षण नहुँदा र अतिक्रमणको चपेटाका कारण सामान्य पोखरीको रूपमा परिणत भएको हो ।

करीब १४० बिगाहामा फैलिएको तालको जग्गामा अहिले स्थानीयले अतिक्रमण गरेर खेती गर्दै आइरहेका छन् । संरक्षण र प्रवद्र्धनका लागि वर्षेनी सरकारी निकायबाट रकम विनियोजन हुने भए पनि स्वयम् अतिक्रमण गर्नेकै अवरोधको कारण रकम खर्च हुन सकेन ।

वर्षेनी अतिक्रमणको चपेटमा पर्नु र संरक्षणका लागि गुरुयोजना नबन्दा तालको अस्तित्व नै खतरामा परेको स्थानीय राजेन्द्रकुमार सहनीले जानकारी दिए । नाममा मात्र ताल सीमित र फिल्डमा सामान्य पोखरीमा रहेको ताल क्षेत्रको अधिकांश जग्गा अतिक्रमणको चपेटामा परेको अवस्था देखिन्छ ।

नक्सामा तालको जग्गा भए पनि अधिकांश तालमा पानी छैन भने ताल क्षेत्रसमेत अतिक्रमण भएर व्यापक मात्रामा खोतीबाली गर्ने गरेको पाइन्छ । ताल क्षेत्रको जग्गामध्ये केही जग्गालाई राजनीतिक प्रभावमा केही व्यक्तिले अतिक्रमण गरी व्यक्तिगत नाममा दर्तासमेत गरेका छन् ।

“ताल अहिले अतिक्रमणमा परेर सबै खेतमा परिणत भएको छ, ताल सुकेर पोखरी बनेको छ” स्थानीयले अतिक्रमण गरेर  खेतीपाती गर्दै आएका भए पनि सरकारी निकायको उदासिनताका कारण अतिक्रमण रोकिएको छैन ।

तालको संरक्षण र विकासका लागि तालको नापनक्सा समेत भएको छैन । धमाधम ताल पुर्दै खेती हुँदै आएको छ । अब गाउँपालिकाले गुरुयोजना बनाएर तालको संरक्षण गर्ने लक्ष्य लिएको पाल्हीनन्दन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिए ।

राजनीतिक दलको दबाब र अतिक्रमण गर्ने स्थानीय कुनै न कुनै राजनीतिक पार्टीमा आवद्ध भएकाले यसलाई राजनीतिक मुद्दाको रूपमा सरकारी निकायले लिएको कारण स्थानीय तहले समेत तालको अतिक्रमण रोक्न सकेको छैन । जिल्लामा रहेका सरकारी निकायलाई ताल अतिक्रमणबारे जानकारी हुँदा समेत आवश्यक कदम चाल्न नसक्दा अतिक्रमणकारीको मनोबल बढेको छ ।

लामो समयदेखि अतिक्रमणमा परेको भए पनि राजनीतिक स्थायित्व नहुँदा अतिक्रमण रोक्न सकिएको छैन । अतिक्रमण नियन्त्रण गरी तालको संरक्षण गर्न कार्ययोजना बनाएर सुन्दर पार्क बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए।

ताल अतिक्रमण हुँदै जाँदा जलचर र जल बनस्पतीसमेत लोप हुँदै गएका छन् । नन्दन ताल अतिक्रमणको चपेटामा परेका कारण अतिक्रमण रोकेर ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नसके यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुयाउन सकिने निश्चित छ ।

नन्दन तालजस्तै पश्चिम नवलपरासीमा रहेका ऐतिहासिक तालतलैयाहरु धमाधम अतिक्रमण भइरहेका छ । खेतीपाती वा बस्ती बसाउने नाममा सार्वजनिक तालतलैया पुरेर संरचना निर्माण गरिँदा समेत प्रशासन र स्थानीय तह मौन बसेपछि अतिक्रमण झन् बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस