टीकापुर घटनाको तीन वर्ष : पीडितको रोकिएन आँशु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

टीकापुर घटनाको तीन वर्ष : पीडितको रोकिएन आँशु


७ भाद्र २०७५, बिहिबार


भीमदत्तनगर । शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाइन् । नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको विचल्ली भएको छ ।

बुढेसकालको भरोसा मानेको जेठो छोरो जनकबहादुरलाई गुमाएयता सीतादेवीको आँशु रोकिएको छैन । उनको घरमा पुग्दा वृद्धा नेगी घाँस काट्दै थिइन् । “छोरो गुमाएयता बिरामी नै परे, हरेक दिन खाना पस्केर खान बस्दा छोरालाई नै सम्झिन्छु,” सीतादेवीले आँशु झार्दै भनिन् ।
छोरा मारिएको तीन वर्ष बितिसक्दा पनि घटनाका दोषीलाई कारवाही हुन नसकेको भन्दै उनले दुःख मनाउ गरिन् ।

टिकापुर घटनापछि प्रहरी हवल्दार जनकबहादुरकी श्रीमती परमादेवीले पाँच सन्तानका साथ माइतमा आश्रय लिएका छन् । दाजु मारिएपछि सीतादेवीको कान्छो छोरो उमेश वैदेशिक रोजगारबाट फर्किएर अहिले घरमा बेरोजगार बनेका छन् । “परिवारको भरोसा नै जेठो छोरा जनक थियो,” सीतादेवीले भनिन् ।

कान्छो छोराको सहारामा बाँचेको नेगी परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको छ । “बुढेसकालमा भरोसा गुमाउँदा परिवारमै विचलन आयो,” जनकका बुबा वीरसिंहले भने, “कहीँकतैबाटै सहयोग पाउन सकिएन, दोषीलाई कारवाही भएको देख्न पाए हुन्थ्यो ।” टीकापुर घटनामा संलग्न २२ जनालाई समातेको सुन्नमा आएपनि सजाय के भयो थाहा नपाएको उनी बताउँछन् ।

घटनापछि बुहारी परमादेवी भीमदत्तनगरपालिका–१९ बागफाँटामा माइतकहाँ बस्दै आउकी छन् । “छोरो गुमाएपछि सरकारले उपलब्ध गराएको रकमबाट नाति÷नातिनीको खर्च चलाएको छ ।” बुबा वीरसिंहले भने । नेगी परिवार राहत र न्यायको पर्खाइमा छ । आफूसित भएको चार कट्ठा जमीनमा खेती फलाएर परिवारको छाक टार्न मुश्कल भएको उनी बताउँछन् ।

यस्तै टीकापुर घटनामै ज्यान गुमाएका प्रहरी निरीक्षक बलराम विष्टको परिवारको पनि आँशु अझै थामिएको छैन । शुक्लाफाँटा नगरपालिका–११ कलुवार घर भएका विष्टकी श्रीमती मन्धरादेवी घटनापछि अहिलेसम्म घर बाहिर निस्केकी छैन । पतिवियोगको पीडा झेल्दै आएकी उनले पीडकलाई कारवाही गर्न भएको ढिलाइप्रति दुखेसो पोखिन् ।

“घटना भएको तीन वर्ष भयो म घर बाहिर निस्कन सकिरहेको छैन,” उनले भनिन्, “श्रीमान्ले त्यत्तिक्कै ज्यान गुमाए, चित्त बुझाउने ठाउँ छैन ।” घटना हुँदा पीडित परिवारका छोरा÷छोरीलाई सरकारले निःशुल्क शिक्षा दिने भने पनि हालसम्म केही सुनुवाइ नभएको मन्धरादेवीे बताउँछिन् । उनका छोरा÷छोरी बुबाले पाउने सुविधाबाटै अध्ययन खर्च गर्दैछन् ।” उनले भनिन् ।, “छोरा÷छोरीको पढाइप्रति सरकार गम्भीर बनोस् ।”

त्यसैगरी टीकापुर घटनामै ज्यान गुमाएका बेलौरी नगरपालिका–६ विद्यानगरका प्रहरी निरीक्षक केशव बोहराको परिवार पनि हत्यामा संलग्नलाई कारवाही नभएकोप्रति निराश छ । बोहराका श्रीमती र छोरा÷छोरी काठमाडौंमा बस्दै आएका छन् । घरमा भेटिएका बोहराका भाइ महेश दोषीलाई कारवाही भएमात्रै मृत आत्माले शान्ति पाउने बताउँछन् ।

“यति ठूलो घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर भएको देखिएन ।” उनले भने ।, “पीडकलाई राजनीतिक कारण देखाएर उन्मुक्ति दिन हुँदैन ।” घटनाका मुख्य आरोपी निर्वाचनमा सहभागी भएकोप्रति उनले दुःख व्यक्त गरे ।

“कारवाही हुनुपर्ने मान्छेलाई संरक्षण दिनु हुँदैन,” उनले भने । वि.सं. २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरासहित आठ प्रहरी र एक बालकले ज्यान गुमाएका थिए । उक्त घटनाको मुद्दा हाल कैलाली जिल्ला अदालतमा चलिरहेको छ । घटनाका अभियुक्तमध्ये २३ जना कैलाली कारागार र मुख्य आरोपी रेशमलाल चौधरी केन्द्रीय कारागार काठमाडौंमै पुर्पक्षका लागि थुनामा छन् । अभियुक्तका आश्रित दुई बालबालिका पोखराको बाल सुधारगृहमा छन् ।

प्रतिक्रिया दिनुहोस