स्थानीय तहमा अझै ४३ हजार कर्मचारी अपुग « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

स्थानीय तहमा अझै ४३ हजार कर्मचारी अपुग


३ भाद्र २०७५, आइतबार


समायोजन

काठमाडौं । स्थानीय तहमा अझै प्रशासनतर्फ करीब १३ हाजर र प्राविधिकतर्फ ३० हजार कर्मचारी अपुग छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले सङ्घीयता कार्यन्वयनसँगै स्थानीय तहमा कर्मचारी दैनिक रूपमा पठाए पनि अझै प्रशासनतर्फ १२ हजार ८७१ कर्मचारी अपुग भएको मन्त्रालयका स्थानीय तह शाखाका प्रमुख प्रेम लुइँटेलले जानकारी गराए ।

सातसय त्रिपन्न स्थानीय तहमा प्रशासनतर्फ १८ हजार ३१ कर्मचारीमध्ये अहिले पाँच हजार १६० मात्र कर्मचारी छन् । सबभन्दा बढी नासु अपुग छ । बाह्र हजार ९६४ नायव सुब्बामध्ये ११ हजार ७२ अपुग छन् । उपसचिव लुइँटेलका अनुसार सहसचिव दुई, उपसचिव २१३, शाखा अधिकृत २७९, नायबसुब्बा ११ हजार ७२, खरदार एक हजार २७९ कर्मचारी अपुग छन् ।

मन्त्रालयले प्रशासनतर्फ सचिव एक, सहसचिव १८, उपसचिव ५३१, शाखा अधिकृत एक हजार २३८, नायबसुब्बा १२ हजार ९६४ र खरदार तीन हजार २७९ आवश्यक छ भने काठमाडौं महानगरपालिका दुई सहसचिवमध्ये एक पद खाली छ ।

यस्तै कामनपामै आठ उपसचिव पद रिक्त छ । अहिले ती शाखामा शाखाअधिकृतले काम चलाइरहेका छन् । यसैगरी ११ उपमहानगरपालिका दुई जनाको दरले २२ उपसचिव रहने व्यवस्था भए पनि अहिले नौँ मात्र छन् ।

यस्तै ७५ हजारभन्दा बढी जनसङ्ख्या भएका सबै नगरपालिकामा सबै उपसचिव पुगेका छन् भने ७५ हजारसम्म जनसङ्ख्या रहेका ६८ नगरपालिकामध्ये एक नगरपालिकामा मात्र उपसचिवको पद रिक्त छ ।

यसैगरी ५० हजारसम्म जनसङ्ख्या भएको १५१ नगरपालिकामा ५४ उपसचिव, २५ हजारसम्म जनसङ्ख्या भएका ३१ नगरपालिकामा १७ उपसचिव, २५ हजार भन्दामाथि जनसङ्ख्या भएका १२६ गाउँपालिकामा ११५ उपसचिव र ७७ जिल्ला समन्वय समितिमा पाँच उपसचिवको पद रिक्त छ ।

काठमाडौं महानगरमा सचिव र अन्य पाँच महानगरमा सहसचिवको दरबन्दी छ भने नगरपालिका र २५ हजारभन्दा माथि जनसङ्ख्या भएका गाउँपालिकामा उपसचिव र २५ हजार भन्दाकम जनसङ्ख्या भएका गाउँपालिकामा शाखा अधिकृत नै प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ । प्राविधिकतर्फ पनि करीब ३० हजार कर्मचारी अपुग रहेका शाखा प्रमुख लुईटेलले बताए ।

‘‘प्राविधिक पनि ठूलो मात्रामा कर्मचारी अपुग छ’’ उनले भन्नुभयो, ‘‘तर प्राविधिकतर्फका कर्मचारीलाई स्थानीय तहले नै करारमा राख्ने भएकाले पदपूर्ति भइरहेको छ । सरकारले स्थानीय तहलाई ५७ हजार ९६६ दरबन्दी स्वीकृत गरेको छ । नासु नपुग हँुदा नगरपालिकाका वडा कार्यालयमा कर्मचारीको अभाव छ । सातसय त्रिपन्नस्थानीय तहका छ हजार ६६८ वडा कार्यालय छन् ।

सामान्य मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले अहिलेको अवस्थामा स्थानीय तहमा कर्मचारी पु-याउन नसकिने बताउनुभयो । “स्थानीय तहमा भएका जनशक्ति र जिल्ला तहमा रहेका सबै जनशक्तिलाई हामीले स्थानीय तहमा खटाएका छौँ,” उनले भने, “तर अहिले भएका जनशक्तिबाट मात्र पदपूर्ति गर्न सकिदैन ।”

उनले प्रदेश लोकसेवा आयोगबाट पनि आवश्यक जनशक्ति पूर्ति गर्न सकिने बताए । स्थानीय तहमा छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । रासस

प्रतिक्रिया दिनुहोस