प्राधिकरणका आयोजनाको लागत घटाउनुस् : मन्त्री पुन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्राधिकरणका आयोजनाको लागत घटाउनुस् : मन्त्री पुन


१ भाद्र २०७५, शुक्रबार


काठमाडौं । निर्माणाधीन जलविद्युत् आयोजनाको लागत र समयावधि लम्ब्याउने रोेगबाट मुक्त हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्राधिकरणले निर्माण गरिरहेका अधिकांश आयोजनाको अवस्था समस्याग्रस्त रहेको र समयमै सम्पन्न हुने अवस्था नभएको भन्दै मन्त्रालयले निर्देशन दिएको हो । प्राधिकरणले निर्माण गरिरहेको कुलेखानी तेस्रो जलविद्युत् आयोजना, माथिल्लो त्रिशूली थ्री ए, रघुगङ्गाजस्ता आयोजना समस्यामा छन् । अधिकांश आयोजनामा निर्माण व्यवसायीको काम गर्ने प्रवृत्तिमा समेत समस्या देखिएको छ ।

कूल १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो विगत १० वर्षदेखि निर्माणाधीन अवस्थामा छ । सो आयोजनामा निर्माण व्यवसायीको लापर्बाही हुनाका साथै समन्वय र सक्रियता देखाउन प्राधिकरणसमेत चुक्दै आएको छ । सातपटक म्याद थपिँदासमेत आयोजना कहिले सकिने भन्ने टुङ्गो छैन । ‘गोरखा भूकम्प’ का कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ए चालू आवको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि सो अवधिमा सकिन्छ वा सकिँदैन भन्ने अवस्था छैन ।

निर्माण व्यवसायीको छनोटको समस्यामा फसेको म्याग्दीमा आयोजनास्थल रहेको रघुगङ्गाको अवस्था पनि उस्तै छ । प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण गरिरहेको माथिल्लो तामाकोशीसमेत तोकिएको समयमा पूरा हुने अवस्था छैन । सो आयोजना आगामी पुस मसान्तमा सकिने लक्ष्य राखिएको भए पनि निर्माण व्यवसायीका कारण ठाडो सुरुङमा स्टिल जडान गर्ने कार्य हालसम्म शुरु हुन सकेको छैन । प्राधिकरणको ३३औँ वाषिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तोकिएको समयमा आयोजना पूरा नगर्ने प्रवृत्तिबाट मुक्त भएर काम गर्न निर्देशन दिए।

“विद्युत्भार कटौतीको अन्त्य भयो भनेर मख्ख परेर बस्ने अवस्था छैन, आयोजनाको हालत असाध्यै खराब छ । यति समयमा पूरा गर्छौं भनेर प्रतिबद्धता जनाए पनि राष्ट्र र जनताप्रति जिम्मेवार बन्न पर्दैन ?”, मन्त्री पुनले प्रश्न गरे । नहुने काम भइहाल्छ र हुन्छ भनेर देश, जनतालाई नढाट्नसमेत मन्त्री पुनले प्राधिकरणको नेतृत्वको ध्यानाकर्षण गराए । उनले निजी क्षेत्रलाई समेत इमान्दार र जिम्मेवार भएर ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

“शक्ति केन्द्र धाएर, केही व्यक्ति वा संस्थालाई खुशी पारेको भरमा अब पनि मुलुक चल्छ भन्ने मान्यताले काम गर्दैन”, मन्त्री पुनले भने । उनले सरकारी निकाय बढी जिम्मेवार बन्नुपर्ने र नमूना काम गर्नुपर्नेमा जोड दिए । निजी क्षेत्रले पनि देश र जनताको हितमा काम गर्नुपर्ने र जता पनि फाइदा मात्रै खोज्ने र शक्ति केन्द्रलाई मिलाउने प्रवृत्तिबाट मुक्त हुन उनको आग्रह थियो ।

प्राधिकरणका कर्मचारीको आफ्नै शेयर स्वामित्व रहने गरी ६० मेगावाट क्षमताको मोदी खोला जलविद्युत् आयोजना निर्माणका लागि स्वीकृति दिने चरणमा मन्त्रालय रहेको उनको प्रष्टोक्ति छ । सरकारले २०७५ देखि २०८५ साललाई ऊर्जा दशक घोषणा गरेको छ । ऊर्जा क्षेत्रको सुधारका लागि सरकारले गत वैशाखमा श्वेतपत्र सार्वजनिक गरेको छ । सरकारले विद्युत्को खपत बढाउनका लागि रणनीतिकरुपमा उपाय अपनाएको र त्यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेको उनले जानकारी दिए । सरकारले आगामी तीन वर्षभित्र तीन हजार मेगावाट, पाँच वर्षमा पाँच हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेकाले प्राधिकरणले नै त्यसका लागि महत्वपूर्ण जिम्मेवारी लिनुपर्नेमा मन्त्री पुनले जोड दिए ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्यायले हरेक नागरिकलाई केन्द्रमा राखेर सेवा दिने सोचका साथ प्राधिकरण लाग्नुपर्ने बताए । उनले विद्युत्भार कटौतीको अन्त्यपछि मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पु¥याएको सकारात्मक योगदानको समेत चर्चा हुनुपर्नेमा जोड दिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैको सहकार्य र सक्रियताले नै प्राधिकरणलाई नाफामा लैजान सकिएको दृष्टान्त पेश गरे। आव २०७४/७५ मा प्राधिकरणले रु एक अर्ब एक करोड खुद मुनाफा गर्ने देखिएको छ । प्राधिकरणको सञ्चित घाटा अझै पनि ३२ अर्ब रहेको छ । यस्तै प्राधिकरणले भारतबाट गत आवमा १९ अर्ब बराबरको विद्युत् आयात गरेको छ ।

कार्यक्रममा प्राधिकरणको आधिकारिक टे«ड युनियनका अध्यक्ष जनार्दन भट्टराईले सबै कर्मचारीलाई साथमा लिएर जाने मान्यताको विकास गर्न प्राधिकरणको नेतृत्वलाई आग्रह गरे । सो अवसरमा मन्त्री पुनले प्राधिकरणका पहिलो कार्यकारी निर्देशक हर्षमान थापालाई सम्मान गरे । यस्तै उत्कृष्ट सेवा गर्ने १५ कर्मचारी, केही आयोजना र वितरण केन्द्रका कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस