खेल पर्यटनमार्फत मुलुक समृद्ध हुन्छ : मुख्यमन्त्री पौडेल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

खेल पर्यटनमार्फत मुलुक समृद्ध हुन्छ : मुख्यमन्त्री पौडेल


३० श्रावण २०७५, बुधबार


चितवन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को १७औँ विशेष साधारणसभा आजदेखि चितवनको सौराहामा शुरु भएको छ । विशेष साधारणसभाको उद्घाटन गर्दै प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले खेल पर्यटनमार्फत नेपाललाई समृद्ध पार्न सकिने बताए ।

उनले भने, “अन्तर्राष्ट्रियस्तरका ठूला खेलको आयोजनामार्फत नेपालमा लाखौँ पर्यटक भित्र्याउन सकिन्छ, खेल पर्यटनको प्रवद्र्धनका लागि प्रदेश सरकार क्रियाशील छ ।” खेल पर्यटन नेपालका लागि सबैभन्दा फाइदा पुग्ने क्षेत्र रहेको उनको भनाइ थियो ।

‘युवाको गौरव, जवानीमा पौरख र प्रदेशको सौरभ’ भन्ने मूल नाराका साथ प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशस्तरीय खेलकूद प्रतियोगिता आयोजना गर्ने नीति अघि सारेको उनले जानकारी दिए ।

उनले सरकारले देखेको समृद्धिको सपना पूरा गर्न खेलकूदको विकास अपरिहार्य रहेको बताए। भूकम्पका कारण भत्किएको दशरथ रङ्गशाखा निर्माणको काम तीन वर्षसम्म गर्न नसक्नु खेल क्षेत्रकै दुःखदायी कुरा भएको उनले बताए ।

प्रतिनिधिसभाका सांसद सुरेशकुमार राईले खेलकूदको विकासका लागि सरकारले नयाँनयाँ नीति ल्याउनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रङ्गशालाको आवश्यकता औँल्याए ।

कार्यक्रममा प्रदेश नं. ३ का प्रदेशसभा सदस्य नारायण सिलवाल, मिलनबाबु श्रेष्ठ, मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य उपेन्द्र पौडेललगायतले फुटबलको विकासका लागि योजनाबद्ध ढङ्गबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फालाई सङ्घीय संरचनाअनुसार लैजाने बताए ।

कार्यक्रममा खेलमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान दिलाएका फुटलबका पाँचजना पूर्वखेलाडीलाई जिल्ला फुटबल सङ्घ चितवनले सम्मान गरेको छ । सम्मानित हुनेमा सूर्यमान श्रेष्ठ, अरुणा गुरुङ, छन्नुराम चौधरी, ललित थापा र राजेन्द्रकुमार श्रेष्ठ छन् ।

सङ्घीय संरचनाअनुसार विधान संशोधन हुँदै

एन्फाको १७ औँ विशेष साधारणसभाले आर्थिक पारदर्शीताका लागि इतिहासमै पहिलोपटक आर्थिक नियमावलीसहित विधान संशोधन गर्दैछ । साधारणसभाले कार्यसञ्चालन नियमावली, कर्मचारी प्रशासन नियमावली, खेलाडी दर्ता नियमावलीसमेत पारित गर्ने अध्यक्ष शेर्पाले जानकारी दिए । नयाँ विधानअनुसार एन्फा अब प्रदेशस्तरीय संरचनामा जानेछ ।

यस्तै खेलाडी दर्ता अनलाइनमार्फत गरिने, छेलाडीको वृत्ति विकासका लागि अक्षयकोष स्थापना गरिने एन्फाले जनाएको छ । दर्तामा व्यावसायिक क्लब, गाउँस्तर र स्कुलका खेलाडीसमेत सहभागी हुन पाउनेछन् ।

परम्परागत लिग खेललाई व्यवस्थित गरी जिल्ला लिग खेलाउने, जिल्लाबाट छनोट भएकालाई प्रदेशमा, प्रदेशबाट उत्कृष्ट भएकालाई एन्फा प्रेसिडेन्ट कपमा सहभागी गराउँदै राष्ट्रिय लिग गर्ने योजना अघि सारिएको छ ।

एन्फाले रौतहटमा महिला टेक्निकल सेन्टर स्थापना निकट भविष्यमै गरिने सो अवसरमा जानकारी दिइयो । साधारणसभामा फुटबलको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनासमेत प्रस्तुत गरिँदैछ ।

विशेष साधारणसभामा ४५ जिल्ला सङ्घ, १४ ए डिभिजन क्लब, नौ बि डिभिजन क्लब, पाँच सी डिभिजन क्लबबाट चार समिति (महिला, खेलाडी, प्रशिक्षक, रेफ्री), एएफसीका प्रतिनिधि गरी ३०० जना प्रतिनिधि सहभागी छन् । रासस

प्रतिक्रिया दिनुहोस