थमन विक हत्याका थप दुई आरोपी अदालतमा हाजिर « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

थमन विक हत्याका थप दुई आरोपी अदालतमा हाजिर


२९ श्रावण २०७५, मंगलबार


गौशाला । सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विक हत्याका थप दुई जना आरोपी जिल्ला अदालत महोत्तरीमा हाजिर भएका छन् । जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे अदालतमा हाजिर भएका हुन् ।

उनीहरु दुवैजना निवेदन दिँदै बिहान १०ः३० बजे अदालतमा हाजिर भएको जिल्ला अदालत महोत्तरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रहरी नायब निरीक्षक विकलाई २०७२ भदौ २५ गते आन्दोलनकारीले जलेश्वर–४ स्थित हटियामा कुटपिट गरी गम्भीर घाइते बनाइएका थिए । घाइते बिकलाई प्रहरीले उद्धार गरी उपचारको लागि जनकपुर लैजाँदै गर्दा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले हत्या गरेका थिए ।

उनीहरु जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलसमक्ष निवेदन दिएर हाजिर भएका हुन् । आफैँ हाजिर भएका प्रमुख मिश्र र सहमहामन्त्री पाण्डेलाई अदालतले आजै थुनछेकको बहस चलाउने बताइएको छ ।

यसअघि गत सोमबार सोही मुद्दामा आरोपी रहेका प्रदेश नं. २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा पनि महोत्तरी जिल्ला अदालतमा आफैँ निवेदन दिएर हाजिर भएका थिए। उनलाई अदालतले साधारण तारेखमा रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस