आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राउ : गृहमन्त्री थापा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राउ : गृहमन्त्री थापा


२५ श्रावण २०७५, शुक्रबार


चितवन । गृहमन्त्री रामबहादुर थापाले नेकपाका नेता खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरिएको बताएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरिएको स्पष्ट पारे ।

“कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,”उनले भने। एक प्रश्नमा मन्त्री थापाले भने, “म गृहमन्त्री हुँ, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।” विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको मन्त्री थापाको भनाई थियो । सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिक र प्रशासनिक रुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले जानकारी दिए ।

भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न प्रहरी सफल भएको मन्त्री थापाले बताए । गृह मन्त्रालयमा प्राप्त प्रतिवेदनअनुसार उक्त घटना मुठभेडबाट भएको उनको भनाई थियो । “फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ,” मन्त्री थापाले भने।

सुन तस्करीको अनुसन्धान जारी रहेको र तस्कर नछुट्ने बताउँदै गृहमन्त्री थापाले सरकारले देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सकेको छ भने । अपराध कम भएको र दोषी तत्काल पक्राउ गर्न सरकार सफल भएको भन्दै उनले विपद् व्यवस्थापनमा सरकार लागिपरेको छ भने । रासस

प्रतिक्रिया दिनुहोस