नेपालमा जलवायु परिवर्तन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालमा जलवायु परिवर्तन


२४ श्रावण २०७५, बिहिबार


जलवायु परिवर्तन

हिमालको काखमा अवस्थित नेपाल आकारमा सानो देश भएता पनि भौगोलिक विविधिताको कारणले यहाँ लगभग सबै प्रकारका हावापानीहरू पाइन्छन् । मुख्यतयाः दक्षिण एसियाली मनसुन र हिम शृंखलाहरू मौसममा प्रभाव पार्ने प्रमुख अवयवहरू हुन् । द्रुतरूपमा भइरहेको आधुनिकीकरण र औद्योगीकरणले गर्दा विश्वव्यापीरूपमा जलवायुमा भएको अस्वभाविक परिवर्तनप्रति विभिन्न वैज्ञानिक अनुसन्धानहरूले स्पष्ट चिन्ता प्रकट गरेको पाइन्छ ।

जलवायु परिवर्तनबारे नीतिप्रसांगिक सूचनाहरू प्रदान गर्ने जलवायु परिवर्तन अन्तरसरकारी समूह (इन्टरगर्भरमेन्टल प्यानल अन क्लाइमेट चेन्ज, आइपिसिसी) को अनुसार पृथ्वी सतहको औसत तापक्रम करिब ०.८५ डिग्री सेल्सियस बढेको देखाएको छ । सन् १९५० यताका पछिल्ला तीन दशकहरूमा अघिल्ला दशकहरूभन्दा गर्मी बढेको छ भने उत्तरी गोलाद्र्धमा सन् १९८३ देखि २०१२ सम्मको अवधि बितेका १४०० वर्षहरूमध्येको सबैभन्दा बढी गर्मी महसुस गरिएको ३० वर्षको अवधि हो । सन् २०१६ र २०१५ सबैभन्दा बढी गर्मी मापन भएका क्रमशः पहिलो र दोस्रो वर्षहरू हुन् । सन् १९५० यता अवलोकन गरिएका मौसम र हावापानी सम्बन्धी अतिजन्य घटनाहरूले विश्वभर ठन्डा दिन र रातहरूको संख्या घट्दो क्रममा रहेको तर न्यानो रात तथा दिनहरूको संख्यामा वृद्धि भइरहेको देखाएको छ ।

यी सबै तथ्यहरूबाट जलवायु परिवर्तन भइरहेको प्रष्ट देखिन्छ । जलवायु परिवर्तनको मुख्य कारण हरितगृह ग्यासहरूको अधिक उत्सर्जन नै हो ।

जलवायुको कुनै भौगोलिक तथा प्रशासनिक सिमाना नहुने भएकोले नेपालले हरितगृह ग्यास उत्सर्जन न्यून (०.०२७५) गरिरहेको भएता पनि जलवायु परिवर्तनको उच्च जोखिममा छ । जलवायु परिवर्तनका हिसावले नेपालका तराईभन्दा पनि पहाडी र हिमाली भूभागहरूमा बढी असर परेको देखिन्छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा सञ्चालित देशका विभिन्न स्थानहरूमा अवस्थित मौसमी केन्द्रहरूको करिव ४५ वर्षको मौसमी तथ्यांक अध्ययन गर्दा समयक्रमसँगै यहाँको जलवायुमा क्रमिकरूपमा परिवर्तन भइरहेको देखिन्छ । चरम मौसमी घटनाहरू (एक्सट्रिम वेदर इभेन्ट)हरूको अस्वभाविक वृद्धि तथा प्रकृति र आवृतिमा समेत वर्षेनी फेरबदल भइरहेको छ ।

लगातार सुख्खा हुने दिनहरू प्रतिदशक ५ दिनका दरले वृद्धि भइरहेको तर लगातार वर्षा हुने दिनहरूको संख्या भने सामान्य रहेको देखिन्छ । भारी वर्षा (५० मिलिमिटर वा सोभन्दा बढी) हुने दिनहरूको संख्यामा वृद्धि भइरहेको छ भने हल्का र मध्यम वर्षा हुने दिनहरूको संख्या घट्दो छ । वार्षिक कूल वर्षा प्रतिवर्ष करिव १ मिलिमिटरले घटिरहेको छ, जुन नगन्य हो । तर, वर्षाको प्रकृति स्थानपिच्छे वर्षेनी फरक हुने भएकोले गोदावरी (कैलाली), लुम्ले, बाग्लुङ, जिरी, कर्मैया, फत्तेपुर (सप्तरी) लगायतका क्षेत्रमा भने करिव ५ मिलिमिटरभन्दा बढीले वार्षिक वर्षामा बढोत्तरी भएको पाइन्छ । विशेष गरी सुदूर पश्चिम क्षेत्र, पश्चिम पहाडी (लुम्ले, बाग्लुङ आसपास) तथा मध्य तराई एवं पहाडी क्षेत्रमा वर्षाको मात्रा क्रमिक वृद्धि भइरहेको छ । धेरै वर्षा हुने दर मध्य पहाडदेखि तराईतिर बढ्दो छ भने, अति वर्षा हुने दर चुरेदेखि माथि उच्च पहाडसम्म बढ्दो छ ।

यसै गरी न्यानोपनामा वृद्धि तथा चिसोपनामा घट्ने क्रम छ । वार्षिक चिसा दिनहरू र रातहरूमा क्रमशः प्रतिदशक २ र १ दिनले कमी आएको छ । तर, हिउँदे मौसममा चिसा दिनहरूको संख्या प्रतिदशक १ दिन बढेको पाइन्छ (चिसा रातहरू भने घट्दो क्रममा छन्) । साथै गर्मीयाममा ताता दिनहरूको संख्या प्रतिदशक १५ दिनले बढेको देखिन्छ । सबै मौसम र स्थानहरूमा ताता रात (६ दिन÷दशक) भन्दा ताता दिनहरुको वृद्धिदर बढी छ । औसत वार्षिक तापक्रम प्रतिवर्ष ०.०१७ डिग्री सेन्टिग्रेडले वृद्धि भइरहेको छ । पछिल्ला दशकहरूमा तापक्रम वृद्धि भई पुरानो रेकर्डलाई उछिन्ने क्रम बढ्दो छ । अधिकतम तापक्रम तुलनात्मकरूपमा अस्वभाविक (०.०५ डिग्री सेन्टिग्रेड/वर्ष)रूपले वृद्धि भइरहेको देखिन्छ भने न्यूनतम तापक्रममा सामान्य परिवर्तन (०.००३ डिग्री सेन्टिग्रेड/वर्ष) भइरहेको देखिन्छ ।

तराई, पहाड र हिमालमा औसत तापक्रम प्रतिवर्ष क्रमशः ०.०२, ०.०३ र ०.०४ डिग्री सेन्टिग्रेडले वृद्धि भइरहेको छ । औसत र अधिकतम तापक्रम वृद्धिदर उचाई अनुसार बढ्दो छ । तर, न्युनतम तापक्रमको भने घट्दो छ । चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जलगायत तराई र चुरेका विभिन्न घना जंगल क्षेत्रहरूमा दिउँसोको तापमानमा सामान्य गिरावट भएको देखिन्छ, यद्यपि यसको लागि थप सूक्ष्म अध्ययनको जरूरी छ ।

सन् १९७० देखि २०१५ को अवधिमा सन् २०१० सबैभन्दा गर्मी र त्यसपछि क्रमश: २००९, १९९९, २००६ र २०१५ गर्मी वर्षकोरूपमा छन् । उक्त अवधिका अतिजन्य मौसमी अवस्थाहरू (भारी वर्षात्का दिनहरू, अति गर्मीआदि)मध्ये ६० प्रतिशत र ४० प्रतिशत घटनाहरू क्रमशः सन् १९९० र २००० पछि घटेको तथ्यांक छ । वर्षेनी घट्ने प्राकृतिक प्रकोपहरूमध्ये ७५ प्रतिशतभन्दा बढी प्रकोपहरू जल तथा मौसम सम्बद्ध प्रकोपहरू हुन्छन् र जसले वार्षिक सरदर ६०–८० प्रतिशत भौतिक तथा मानवीय क्षति पुर्याउने गरेको छ । विनासकारी भूकम्पबाहेक पछिल्ला ६ वर्षको तथ्यांक हेर्ने हो भने उक्त क्षति ७० देखि ९० प्रतिशतसम्म रहेको पाइन्छ ।

यसर्थ यहाँ अति वर्षा, खडेरी, अति गर्मी र अति चिसोका घटनाहरू वृद्धि भइरहेका छन्, जुन जलवायुका असामान्य अवस्थाहरू हुन् । उल्लेखित तथ्यांकबाट नेपालमा जलवायुको अवस्था सरदरभन्दा परिवर्तन भएको पाइन्छ, जसले कृषि, खानेपानी, स्वास्थ्य, वन, जलस्रोत, पर्यटन र अन्य क्षेत्रमासहित दैनिक जीवन पद्दतिमा समेत असर गरेको सावित गर्न सकिन्छ । मानवीय तथा प्राकृतिक कारणले जलवायु समयक्रम अनुसार परिवर्तन भइरहने एक प्रक्रिया भएकाले उक्त परिवर्तनसँग जुध्न सक्ने क्षमताको विकास गर्दै सम्भावित असरहरूको न्यूनीकरण गर्नु आजको आवश्यकता हो । जसको लागि प्रतिकूल असरका क्षेत्रहरूमा अनुकूलनका कार्यक्रमहरू सञ्चालन तथा सोसम्बन्धी जनसमुदायको क्षमता अभिवृद्धि गर्नेतर्फ हामी सबैले ध्यान दिनु आवश्यक छ ।

कार्यक्रमहरूको योजना र कार्यान्वयन गर्दा अहिलेसम्म घटेका जल तथा मौसम सम्बद्ध अतिजन्य घटनाहरूको जोखिमलाई आधार मानी सम्भावित क्षतिलाई रोक्न सक्ने क्षमता भएको भौतिक पूर्वाधार निर्माण र अन्य क्षेत्रगत प्राविधिक प्रणालीको विकासले भविश्यमा हुने जनधनको क्षति न्यूनीकरणका साथै जलवायु परिवर्तनसँग सहजै जुध्न सक्ने क्षमता विकास हुनेछ । परिवर्तित जलवायुका कारण अतिजन्य मौसमी घटनाहरूको अस्वभाविक एवं असामयिक उत्पत्तिलाई समयमै आँकलन गरी पूर्वसूचना प्रदान गर्नु मौसम विज्ञानका लागि अवसर र चुनौतीको रूपमा देखापरेको छ ।

प्रतिक्रिया दिनुहोस