कार्तिक २ गते, २०७५

अन्तर्वार्ता दिँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुस्

अहिले सिजन सरकारी सेवामा नयाँ पदपूर्तिको चलिरहेको छ । लोक सेवा आयोग केन्द्रीय कार्यालयले हालसालै शाखा अधिकृत (रा.प. तृतीय श्रेणी)को लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । लगत्तै लोक सेवा आयोगका सबै क्षेत्रीय कार्यालयहरूले नायब सुब्बा (रा.प.अनं.प्रथम श्रेणी)को लिखित परीक्षाको नतिजा समेत प्रकाशित गरिसकेका छन् । यसै सन्दर्भमा लिखित परीक्षा उत्तीर्ण गरिसकेका उम्मेदवारहरूका लागि उपयोगी हुनेगरी अन्तर्वार्ता विशेष सामग्री पस्केका छौं ।

विगतका वर्षका तुलनामा प्रथम पत्रमै थोरै परीक्षार्थी उत्तीर्ण भएको हुँदा अबको चरण परीक्षार्थीहरूलाई त्यति सहज हुने देखिँदैन । लोक सेवा आयोगले प्रकाशित गरेको कतिपय ठाउँको यस वर्षको लिखित नतिजा हेर्दा आवश्यक भन्दा धेरै नै बढी परीक्षार्थीलाई अन्तर्वार्तामा सहभागी गराइने गरी नतिजा प्रकाशन भएको छ । यसको कारण लिखित परीक्षामा बढेको प्रतिस्पर्धा र लिखित परीक्षामा परीक्षार्थिहरूको अंक जुधेको हुँदा नै हो । अतः अन्तर्वार्ता लगायत अबका चरणका परीक्षाको प्रस्तुतिले उम्मेदवारको सफलता वा विफलतामा ठूलो प्रभाव पार्ने देखिन्छ ।

अन्तर्वार्ताका लागि पूर्वतयारी 
निश्चय पनि धेरै उम्मेदवारहरूका लागि यो क्षण आफ्नो जीवनको अहम क्षणको रूपमा रहन्छ । केही डर, उत्साह तथा अन्योलताको समय हो यो । यसका लागि परीक्षार्थीले धेरै कुराको पूर्वतयारी गर्नुपर्ने हुन्छ, जसले तपार्इँलाई अन्तर्वार्ताको समयमा निकै नै सहज अनुभूति गराउन सक्छ । अन्तर्वार्तामा उपस्थित हुँदा मौसम सुहाउँदो साधारण औपचारिक पोसाक, कुन पदमा उत्तीर्ण हुनुभएको हो, सोको पाठ्यक्रमबारे सामान्य जानकारी, अन्य अन्तर्वार्तामा उपस्थित हुन गइरहेका साथीहरूको तयारीबारे सामान्य जानकारी, समसामयिक घटनाहरूबारे अपडेट, सकारात्मक सोचको विकास र आत्मविश्वासको सिर्जना तथा अन्तर्वार्तास्थलमा उचित समयमै पुग्ने प्रबन्ध मिलाउने जस्ता कुराहरू यसको पूर्वतयारीअन्तर्गत पर्छन् ।

अन्तर्वार्तामा आवश्यक सामग्रीहरू 
अन्तर्वार्तामा जानुपूर्व आफूलाई आवश्यक पर्ने सामग्रीहरू साथै लिएर जानुहोस् । पहिलो चोटी अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ र नर्भस हुन्छु भन्ने लाग्छ भने विश्वासिलो मित्रलाई सहयोगका लागि आग्रह गर्नुहोस् । अन्तर्वार्तामा जाँदा के–के लाने भनेर अन्तर्वार्तापूर्व नै सम्बन्धित लोक सेवा आयोग कार्यालयमा गएर सल्लाह लिँदा बेस हुन्छ । सामान्यतया अन्तर्वार्तामा जानुपूर्व आफ्नो फोटो, शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र तथा फोटोकपी, डटपेन, बाहिर धेरै हिँड्ने गर्नुहुन्न वा बानी छैन भने पिउने पानीलगायत सामग्रीहरू लिएर जानुपर्ने हुन्छ ।

अन्तर्वार्तामा आई क्युँ र इ क्युँ 
अन्तर्वार्तामा आई क्यु तथा इ क्यूको विशेष महत्व रहन्छ । आइ क्युले तपाइँको स्मार्टनेस झल्काउँछ भने इ क्युले तपाइँ र अन्तर्वार्ताकार बीचमा र्‍यापोर्ट बिल्डिङ गर्न मद्दत गर्न सक्छ । सामान्य शिष्टाचार (अन्तर्वार्ता दिन कक्षमा प्रवेश गर्दा र समाप्त गरेर बाहिर निस्कँदा) अनुमतिपश्चात मात्रै आसन ग्रहण गर्ने, जातीयता, वर्गीयता, धार्मिकता, राजनीतिक विचार र अन्य विषयमा विवादास्पद कुराहरूबाट टाढै रहने र अन्तर्वार्ताकारले आफूलाई एक सक्षम तथा कमिटेड कर्मचारीको श्रेणीमा राख्ने वातावरण सिर्जना गर्नेपट्टि उम्मेदवारले बडो चतुरताका साथ ध्यान दिनुपर्ने हुन्छ ।

केही चुनौतीपूर्ण परिवेशहरू
अन्तर्वार्ताकारले तपाइँमा रहेका गुणहरूको चिरफार गर्न तथा तपाइँको परीक्षण गर्न जानीजानी प्रसंशा गर्ने, आलोचना गर्ने, उम्मेदवारको निजी मामिलासम्बन्धी प्रसंगहरूको उठान गर्ने, विभिन्न विकल्पहरूमध्ये एक छनोट गर्न लगाउने, हतोत्साही बनाउन खोज्ने प्रश्नहरू गर्ने, विवादित प्रश्नहरू गर्ने वा तपाईँले सही उत्तर दिएको खण्डमा समेत त्यसलाई सहजरूपमा स्वीकार नगर्ने जस्ता अनेक उपायहरू अपनाउन सक्छन् । यस्तो अवस्थामा उम्मेदवारले धैर्यता कायम राख्दै सन्तुलित ढंगले परिवेश सम्हाल्नुपर्ने हुन्छ । उम्मेदवारले अन्तर्वार्तामा झगडा गर्न वा आफूमाथि परेर केही हुनेवाला छैन भन्ने कुराको हेक्का राख्नुपर्छ । किनभने अन्तर्वार्ताको त्यो सीमित क्षणपछि न अन्तर्वार्ताकारले तपाईँलाई चिन्छ न त तपाईँले नै अन्तरवार्ताकारलाई । अतः उम्मेदवारले अत्यन्तै प्रोफेसनल ढंगले परिस्थितिको सामना गर्नुपर्ने हुन्छ ।

कम्युनिकेसन स्किल
अन्तर्वार्तामा तपाईँप्रति अन्तर्वार्ताकारले कस्तो धारणा बनाउने भन्ने कुरामा कम्युनिकेसनले महत्वपूर्ण भूमिका खेल्छ । प्रोपर आइ कन्ट्याक्ट, जेस्चर एन्ड पोस्चर, बसाई, बोल्दा अनुहारको एक्सप्रेसनलगायत सामान्य तथा भद्र हुनुपर्छ । उत्तर दिँदा कन्फिडेन्स झल्कनुपर्छ। सरलता र मिठासपन सरकारी सेवाका कर्मचारीको गहना हुन् भन्ने विषयलाई उम्मेदवारले अन्तर्वार्ताको समयमा तथा सेवाप्रवाहका बखतमा समेत सदैव ख्याल गर्नुपर्छ ।

ठिक्क बोल्नुहोस्, बुझेर बोल्नुहोस् 
अन्तर्वार्तामा धेरै बोल्नु कहिलेकाहीँ घातक सावित हुन सक्छ । सामान्यतः उम्मेदवारले प्रसंग जहाँ लगेर टुंग्याउँछ, अन्तर्वार्ताकारले त्यहिँबाट नयाँ प्रश्नको सुरुवात गर्छन् । अतः आफूलाई कन्फिडेन्स भएको सरल विषयमा लगेर कुरालाई टुंग्याउनुपर्छ । यसको अर्थ बनावटी कुरा गर्नुपर्छ भन्ने होइन । कुन प्रसंग ल्याएर कसरी डिल गर्नेबारे अन्तर्वार्ताको पूर्वतयारीकै अवस्थामा समेत प्लानिङ तथा रिहर्सल गर्न सकिन्छ, जसले वास्तविक अन्तर्वार्ताको बेला विषयवस्तुलाई विषयान्तर हुनबाट जोगाई तपाइँको पक्षमा परिवेशको सिर्जना गर्छ । साथै आफूले नजानेको प्रश्नमा शिष्टतापूर्वक सो कुरा आफूलाई जानकारी नभएको उत्तर दिँदा सो विषयसँग सम्बन्धित अन्य प्रश्नको सिर्जना नै हुँदैन र यसले तपाईँको इमान्दारी तथा कमजोरी स्वीकार गर्नसक्ने खुबीलाई समेत दर्शाउँछ । यस्तै प्रश्न वा प्रश्नको आशय नबुझेको खण्डमा दोहोर्‍याएर भन्न आग्रह गर्नुपर्छ । स्मरण रहोस्, अन्तर्वार्तामा सोधिएको प्रश्न आएन भन्दैमा अन्तर्वार्ताकारको नजरमा तपाईँ कमजोर सावित हुनुहुन्न । प्रश्न नआएर नर्भस हुनुभयो वा आवेगमा आउनुभयो वा विषयान्तर हुनुभयो भने मात्र कमजोर सावित हुने सम्भावना रहन्छ ।

के नगर्ने ? 
अन्तर्वार्ताको समयमा गर्न नहुने केही कुराहरू छन् । भड्किलो पोसाक तथा शृंगारको प्रयोग, स्ल्याङ्ग वर्डस तथा अनावश्यक थेगोको प्रयोग, उत्तर नजानेमा मुखाकृति बिगार्ने, जानेमा एक्साइटेड हुने, हातले अनुहार तथा कपालमा छुने, असंयमित भई ठूलो स्वर प्रयोग गर्ने, विभिन्न प्रभाव तथा व्यक्तिगत सम्बन्ध बनाउन खोज्ने, नकारात्मक कुरामात्र गर्ने, प्रसंग निस्केमा कसैको कुरा काट्ने, विवाद गर्ने, उचित शिष्टाचार नगर्ने यी कुराहरूबाट अन्तर्वार्ताको समयमा जोगिनुपर्ने हुन्छ ।

संयमित बन्न सिकौं 
तपाइँको अन्तिम नतिजा अन्तर्वार्ताले मात्र निर्धारण गर्दैन । लिखित परीक्षा, सूचना प्रविधि सीप परीक्षण,ग्रुप डिस्कसन (शाखा अधिकृत तहमा) ले समेत तपाईँको सफलता वा विफलतामा ठूलो भूमिका खेल्छन् । तथापि आफूले गर्नसक्ने जतिको अधिकतम तयारी भने गर्नुपर्ने हुन्छ ताकि भोलिको दिनमा आफूप्रति नै गुनासो गर्नुपर्ने स्थिति सृजना नहोस्। अर्को विचार पुर्‍याउनुपर्ने महत्वपूर्ण कुरा के छ भने अन्तर्वार्ताको समयमा तपाईँलाई हतोत्साही बनाउन अन्य प्रतिस्पर्धीहरूले विभिन्न झुठा कुरा तथा अफवाहसमेत फैलाउन सक्छन्, उदाहरणका लागि : लिखित तथा वस्तुगत प्रश्नमा शत प्रतिशत उत्तर मिलाएको भन्ने, अन्तर्वार्ता दिएर बाहिर निस्कँदा सोध्दै नसोधेको प्रसंग नै नमिल्ने कुरा भित्र सोधिएको अफवाह फैलाउने जस्ता रणनीतिहरू केही परीक्षार्थीहरूले अपनाउने गरेका कुराहरू पनि प्रायः सुनिन्छन् । यस्तो अवस्थामा आफुमा विश्वास राखी लोक सेवा आयोगप्रति समेत उच्च आस्था राख्दै तथा प्रतिस्पर्धालाई कमजोर रूपमा नलिई सफल हुन्छु भन्ने सकारात्मक सोचका साथ संयमित भई तयारीमा लागेमा अवश्य सफलता प्राप्त गर्न सकिन्छ ।

के गाह्रै हो त अन्तर्वार्ता ? 
अन्तर्वार्ता लिने व्यक्ति पनि हामीजस्तै सामान्य व्यक्ति हुन् । भोलिको दिनमा आफू सो स्थानमा पुग्नुभयो र उपयुक्त उम्मेदवार छान्ने जिम्मेवारी तपाईँको हातमा आइपर्याे भने के–के गर्छु जस्तो लाग्छ, सोही कुरालाई ख्याल गर्दै सम्भावित अन्तर्वार्ता परिवेशलाई सम्झँदै अन्तर्वार्ताको तयारी गर्नुपर्ने हुन्छ । त्यस्तै अनुभवी व्यक्ति भेट्टाउनुहुन्छ र समय लिन सक्नुहुन्छ भने अन्तर्वार्ता लिइदिन आग्रह गरी कमजोरीहरू सुधारका लागि सुझावहरू लिँदा पनि सहयोग हुन सक्छ । यो अभ्यास साथी साथी भेला भएर पनि गर्न सकिन्छ र यसले आफ्ना कमजोरीहरू पत्ता लगाई समयमै सुधार गर्न सहयोग पुग्छ । आवश्यक पूर्वतयारी तथा आत्मविश्वास छ भने ढुक्क हुनुहोस्, बाहिर हल्ला गरिएजस्तो अन्तर्वार्ता असहज भने छैन ।

समूहमा व्यक्तिगत प्रस्तुति (ग्रुप डिस्कसन) 
लोक सेवा आयोगले शाखा अधिकृत तहको परीक्षामा लिडरलेस गु्रप डिस्कसनको व्यवस्था गरेको छ । यसमा विज्ञहरूको समूहद्वारा निश्चित उम्मेदवारहरू (५–७ जना) को समूहमा व्यक्तिगत प्रस्तुतिको परीक्षण गर्ने गरिन्छ । उम्मेदवारहरूले आफूलाई जिज्ञासा लागेको कुरा छलफल सुरु हुनुपुर्व नै स्पष्ट पारिसक्नुपर्छ । किनभने प्रस्तुति सुरु भइसकेपछि बीचमा केही कुरा सोध्न तथा सल्लाह गर्न मिल्दैन । छलफलका लागि ३० मिनेटको समय तोकिएको हुन्छ । सो समयअगावै छलफल समाप्त गर्नुपर्ने हुन्छ भने तोकिएकोभन्दा बढी समय लिएमा नेगेटिभ इम्प्रेसन पर्न जाने हुन्छ । सर्वप्रथम परिचय र केही निर्देशनहरूपश्चात पूर्वजानकारी नभएको एउटा शीर्षक परीक्षकहरूले समूहको माझमा राखिदिन्छन् र समय सुरु भएको जानकारी गराउँछन् । यसपश्चात उक्त विषयमा सुरुमा को बोल्ने, कति समय बोल्ने, कतिबेला छलफल टुंग्याउने र के निष्कर्षमा पुग्ने भन्ने सबै कुराको व्यवस्थापन गर्ने जिम्मेवारी समूहका सबै सदस्यमा समानरूपमा रहन्छ । व्यक्तिको व्यक्तिगत प्रस्तुति र सामूहिक प्रस्तुति दुवै पक्षको विश्लेषण विज्ञहरूले गरिरहेका हुन्छन् । यसमा खासगरी उम्मेदवारले समूहमा काम गर्ने दक्षता कतिको राख्छ भन्ने गुणको परीक्षण गरिन्छ ।

ग्रुप डिस्कसनमा ध्यान दिनुपर्ने केही महत्वपूर्ण कुराहरू 
१. सम्भव भएसम्म आफ्नो समूहमा पर्ने साथीहरूसँग परीक्षापूर्व नै चिनजान गर्ने, कसरी प्रस्तुति गर्ने र कसरी टुंग्याउने भन्ने विषयमा पहिले नै योजना बनाउने र टुंगो लगाउने।
२. प्रोफेसनल ड्रेसअप/मेकअपमा प्रस्तुत हुने ।
३. कुन विषय पर्छ भन्ने केही जानकारी नहुने र एकपटक एक समूहलाई परेको विषय हुवहु पुन नदोहोरिने हुँदा कस्तो खालको विषयहरू सोधिएका छन् भनेर नियमित जानकारीमा राखिराख्ने ।
४. अप्ठ्यारो विषय परेको खण्डमा समूहको जुन सदस्यलाई सो विषयको बारेमा जानकारी छ, अविलम्ब छलफलमा आफ्नो जानकारी तथा भनाई प्रस्तुत गर्न सुरु गर्ने, पालो कुरेर नबस्ने । यसो गर्दा पछिका वक्ताहरूलाई सहज हुन्छ । नजानेको विषयमा बाध्यताले सुरुवात नगर्नु नै बेस ।
५. समूहको एकता देखाउन एकले भनेको कुरा अर्कोले नकाट्ने तथा विवाद एवम् बहस गर्नु हुँदैन । साथै विषयको धेरै जानकारी छ वा आफ्नो अनुभवसँग सम्बन्धित विषय छ भन्दैमा अरुको पालो नै नपुग्ने गरी बोलिरहँदा व्यक्तिगत तथा समूहगत दुवै प्रस्तुति बिग्रने हुन्छ ।
६. छलफलमा सबैले सक्रिय सहभागिता देखाउनुपर्छ । कसैले डोमिनेट गर्ने र कसैले प्यासिज बस्ने गर्नुहुँदैन । आ–आफ्नो रचनात्मकता देखाउँदै र एकले बोलेको कुरालाई अर्कोले सपोर्ट गर्ने गरी साइक्लिक अर्डरमा प्रसंग राख्दै जानुपर्छ ।
७. सम्भव भएसम्म एकै चरणमा सबैले सबै कुरा भन्नुभन्दा पनि चरण चरण गरी छलफल गर्दा उपयुक्त हुन्छ । उदाहरणको लागि पहिलो चरणमा सबैले एक एक मिनेट सामान्य जानकारी, दोस्रो चरणमा वर्तमान अवस्था तथा विद्यमान समस्या तेस्रो चरणमा समाधानका पहल तथा वे फरवार्ड उल्लेख गरेर अन्तिम वक्ताले निष्कर्षसहित छलफल टुंग्याउन सकेमा राम्रो ।


प्रस्तुतिः
भोजराज भट्ट (शाखा अधिकृत)
केदारप्रसाद खतिवडा (नायव सुब्बा)


श्रावण २४ गते, २०७५ - ११ः५३ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

underhealth
gsdfs dfg