कर्मचारीको तलबबाट ६ प्रतिशत पेन्सनका लागि काटिने (विधेयकसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीको तलबबाट ६ प्रतिशत पेन्सनका लागि काटिने (विधेयकसहित)


२१ श्रावण २०७५, सोमबार


काठमाडौं । नयाँ भर्ना हुने निजामती कर्मचारीको मासिक तलबबाट ६ प्रतिशत रकम निवृत्तभरण कोषका लागि काटिने भएको छ । कोषमा त्यति नै रकम सरकारले थप्नेछ । र, अवकासपछि निवृतभरण (पेन्सन)का रूपमा दिइनेछ ।

प्रतिनिधि सभामा दर्ता गरिएको ‘निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ विधेयकमा यस्तो व्यवस्था छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् साउन १ गतेदेखि भर्ना हुने निजामती कर्मचारीलाई योगदानमा आधारित पेन्सन लागू गर्ने घोषणा गरिएको थियो । त्यसको कार्यान्वयनका लागि प्रतिनिधि सभामा विधेयक दर्ता गरिएको हो ।

विधेयकमा भर्ना हुने कर्मचारी बेतलबी वा असाधारण बिदामा रहेको वा निलम्बन भएमा त्यस्तो बिदामा रहेको वा निलम्बन भएको अवधिभर कोषमा रकम जम्मा गरिने छैन । तर, त्यस्ता कर्मचारीलाई लगाइएको अभियोग प्रमाणित नभई निलम्बन फुकुवा भएमा कार्यालयले उसले पाउने तलब वापतको रकमबाट कट्टा गरी निलम्बनमा रहेको अवधिको रकम एकमुष्ट रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

सरकारी तथ्यांकअनुसार हाल वार्षिक ४० अर्बभन्दा बढी रकम पेन्सनमा नै खर्च हुन्छ । यसले राज्यलाई आर्थिक भार बढेको भन्दै सरकारले योगदानमा आधारित पेन्सन लागू गर्ने घोषणा गरेको हो । निवृत्तभरण खर्चको भार राज्यको आन्तरिक राजस्वले मात्र धान्न कठिन हुँदै गएपछि योगदानमा आधारित पेन्सन व्यवस्था कार्यान्वयनका लागि संसद्मा विधेयक पेश गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रस्तावित विधेयकअनुसार कर्मचारीलाई पेन्सनलगायत रकम उपलब्ध गराउन निवृत्तभरण कोष स्थापना गरिनेछ । कोषको केन्द्रीय कार्यालय काठमाडौंमा रहने छ भने आवश्यकता अनुसार प्रदेशस्तरीय कार्यालय वा शाखा कार्यालय खोल्न तथा कुनै ठाउँमा प्रतिनिधि नियुक्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रत्येक कर्मचारीको छुट्टै खाता
प्रस्तावित विधेयकअनुसार कोषमा प्रत्येक कर्मचारीको लागि छुट्टै व्यक्तिगत निवृत्तभरण खाता रहनेछ । कोषले मासिक तलबबाट कट्टा भएको तथा नेपाल सरकारले थपेको रकम, त्यसकोे ब्याज र कोषले आर्जन गरेको मुनाफाको तोकिए बमोजिमको रकम कर्मचारीको व्यक्तिगत खातामा जम्मा गर्नेछ ।

कोषले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र कर्मचारीको व्यक्तिगत खातामा जम्मा भएको रकम, ब्याज तथा मुनाफा जोडेर विवरण अद्यावधिक गर्नेछ ।

 हेर्नुस् विधेयक

 

Tags :
प्रतिक्रिया दिनुहोस