कोरियामा एकल नाटक ‘चन्द्र,सूर्य र काग’ मञ्चन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरियामा एकल नाटक ‘चन्द्र,सूर्य र काग’ मञ्चन


९ श्रावण २०७५, बुधबार


काठमाडौं । नेपालका रङ्गकर्मी केदार श्रेष्ठले कोरियाको दुई अन्तर्राष्ट्रिय नाटक महोत्सवमा आफ्नो प्रस्तुति मञ्चन गरेका छन् । उनले ‘पुम थिएटर फेस्टिभल २०१८’ र ‘आसितेज कोरिया इन्टरनेशनल समर थिएटर फेस्टिभलमा आफ्नो एकल नाटक ‘चन्द्र–सूर्य र काग’ मञ्चन गरेका हुन् ।

‘एसियन आर्टिस्ट रेसिडेन्स फर चिल्ड्रेन्स थिएटर २०१८’मा नेपालबाट प्रतिनिधित्व गर्दै ‘आसितेज नेपाल’को तर्फबाट सहभागी भएका केदार श्रेष्ठ थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मलका संस्थापक तथा कला निर्देशक समेत छन् ।

कोरियाको लोकप्रिय लोककथामा नेपाली पात्र र परिवेश थपिएको छ । नेपालमा शुभ समाचारको प्रतीकको रुपमा लिइने कागलाई थप्दै नेपाली लोक भाका समेत समावेश गरिएको थियो ।

आमाको पर्खाइमा रहेका भोका दाजु र बहिनीले छट्टु बाघसँग गरेको संघर्ष कथामा छ । संघर्षमा कागले निरन्तर साथ दिन्छ । नेपाली परिवेशमा ढाल्ने क्रममा कोरियाली लोककथामा भन्दा फरक रुपमा मृत्युपर्यन्त पनि आमाले आफ्ना छोराछोरीलाई क्रुर बाघको घेराबाट बचाएको कथा प्रस्तुतिमा छ । आमाले जोगाएर आकाशमा पुगेका दाजु बहिनी अन्ततः चन्द्र र सूर्य बन्छन् ।

दाजु, बहिनी, आमा, बाघ र काग गरी ५ पात्र रहेको यस कथामा श्रेष्ठले एकल प्रस्तुतिको परिकल्पना गरेका छन् । समग्रमा यो माया, ममता, सहयोग, संघर्ष र खुशीको कथा हो ।

कोरियाको गेयोगीं प्रान्तस्थित मिन्डुले थिएटर भिलेजमा हुने बालबालिका र अभिभावकमा केन्द्रित नाट्य महोत्सव ‘फेस्टिभल पुम’को यो १० औं संस्करण हो

कोरियन आर्ट काउन्सिलको सहकार्यमा गरिएको एसियन आर्टिस्ट रेसिडेन्समा कोरिया, नेपाल, भारत, फिलिपिन्स, श्रीलंका र पाकिस्तानका गरी १० रङ्गकर्मी सहभागी थिए । थिएटर फेस्टिभलमा भने विश्वभरबाट विभिन्न देशका नाटकहरु मञ्चन भएका थिए ।

प्रतिक्रिया दिनुहोस