जटिल अवस्थाका नवजात शिशुको उपचार कपिलवस्तुमै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जटिल अवस्थाका नवजात शिशुको उपचार कपिलवस्तुमै


प्रशासन विशेष ब्युरो

४ श्रावण २०७५, शुक्रबार


काठमाडौं । केही वर्षअघिसम्म कपिलवस्तुमा नवजात शिशुका जटिल रोगको उपचार हुँदैनथ्यो । जिल्लाभरका अस्पतालमा उपचार सेवा नभएपछि अभिभावकहरू नवजात शिशुको उपचार गर्न जिल्ला बाहिर जाने गर्थे । उपचारका लागि जिल्लाबाहिर जानुपर्दा उनीहरूले आर्थिक भारसँगै सास्ती पनि खेप्नुपथ्र्याे । समयमा उपचार नपाउँदा कतिपय नवजातले त ज्यान पनि गुमाउँथे । तर, अहिले अवस्था फेरिएको छ ।

कपिलवस्तुको जिल्ला अस्पतालमै जटिल अवस्थाका नवजात शिशुको उपचार हुने गरेको छ । नवजात शिशु स्याहार केन्द्र स्थापना भएपछि जिल्लामै उपचार सम्भव भएको हो ।

मातृ तथा नवजात शिशु (मानसी) परियोजनाले जिल्ला अस्पतालअन्तर्गतको नवजात शिशु विशेष स्याहार केन्द्रलाई उपकरण खरिद गर्न १० लाख रूपैयाँ सहयोग गरेको छ । जसमा बगैचा लगाएत अन्य केही व्यवस्थापनका लागि नगरपालिकाको समेत सहयोग रहेको छ ।

स्याहार केन्द्रमा जन्मनेबित्तिकै निस्सासिएका, कठ्याङ्गिएका तथा जन्डिस भएका शिशुको उपचार सेवा छ । यस्तै, बेहोस भएका, शरीरमा ग्लुकोजको मात्रा कम देखिएका र रगत जाने समस्या भएका शिशुको पनि उपचार गरिन्छ ।
जन्मेदेखि २८ दिनसम्मका जटिल अवस्थाका बच्चाको निःशुल्क उपचार हुने गरेको जिल्ला अस्पतालले जनाएको छ ।

स्याहार केन्द्र स्थापना पछि जिल्लाभरीबाट उपचारका लागि आउने गरेका छन् । पछिल्लो समय स्याहार केन्द्रमा जिल्ला बाहिरबाट पनि उपचारका लागि बिरामी ल्याइने गरिएको अस्पतालले जनाएको छ ।

नवजात शिशुको मृत्युदर घटाउन कपिलवस्तुमा कार्यक्रम सञ्चालन गरिएको फेयरमेडका कन्ट्री कोर्डिनेटर निर्मला शर्मा बताउँछिन् । ‘सरकारले सन् २०३० सम्म नवजात शिशु मृत्युदर १२ प्रतिहजारमा घटाउने लक्ष्य लिएको छ । यसैलाई सहयोग गर्न कपिलवस्तुमा परियोजना सञ्चालन गरेका हौं,’ उनले भनिन् ।

परियोजना सञ्चालन भएपछि कपिलवस्तुको स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताउँछन्, परियोजना प्रबन्धक शशीलाल कर्ण । ‘जिल्ला अस्पतालमा नवजात शिशु विशेष स्याहार केन्द्र स्थापना भएपछि जिल्लाभरकै स्वास्थ्य सेवामा नयाँ आयाम स्थापित भएको छ,’ उनी भन्छन् । उनले स्याहार केन्द्र स्थापना भएपछि जटिल अवस्थाका नवजात शिशुलाई जिल्लाबाहिर लैजान नपर्ने अवस्था रहेको बताए ।

नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भेका अनुसार पछिल्लो १० वर्षयता नवजात शिशुको मृत्युदर घटेको थिएन। सन् २०१६ को सर्भे अनुसार नेपालमा प्रतिहजार जिवित जन्मको बच्चामा मा २१ जना बच्चा मर्ने गरेका छन् ।

बाल स्वास्थ्य महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक झा कपिलवस्तुमा नवजात शिशु सघन उपचार कक्ष बनाउन फेरमेड (मानसी परियोजना)ले सहयोग गरेको बताउँछन् । ‘हामीले नै बनाउने हो भने तीन–चार वर्ष लाग्न सक्थ्यो । बजेट अभावले एकैचोटी सबै ठाउँमा बनाउन सम्भव छैन,’ उनले भने, ‘त्यसैले हामीले सहयोगी निकायलाई सरकारी अस्पतालमा एनआइसियु स्थापना गर्न आग्रह गर्याैं । यसलाई फेयरमेडले स्वीकार गरी आर्थिक सहयोग गर्याें ।’

उनका अनुसार देशैभर नवजात शिशु सघन कक्ष (एनआइसियु) बनाउन महाशाखाको योजना छ । योजना अनुरूप कति ठाउँमा सेवा सुरु भइसकेको र कति ठाउँमा निर्माण भइरहेको उनले बताए ।

नवजात शिशुको उपचारका लागि आवश्यक उपकरण सञ्चालन गरिसकेकाले जटिल अवस्थाको बिरामीको उपचार भइरहेको जिल्ला अस्पताल कपिलवस्तुले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस