मलको बिक्री केन्द्र स्थापनापछि किसान उत्साहित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मलको बिक्री केन्द्र स्थापनापछि किसान उत्साहित


३ श्रावण २०७५, बिहिबार


धनगढी । कैलालीको पूर्वी भेगको बौनिया बजारमा सरकारको अनुदानित रासायनिक मलको बिक्री केन्द्र स्थापना भएसँगै स्थानीय किसान उत्साहित भएका छन् ।

गाउँमा मलको बिक्री केन्द्र स्थापना भएपछि मल खरिद गर्न सदरमुकाम धनगढी धाउनुपर्ने बाध्यता हटेकाले किसान उत्साहित भएका प्रतापपुरको किसान बहुद्देश्यीय सहकारी संस्थाका जयनारायण चौधरीले बताए ।

यसअघिसम्म अनुदानित मल खरिद गर्न सदरमुकाम धनगढी धाउनुपर्दा समय बढी लाग्ने, खर्चिलो र झन्झटिलो हुने गरेको थियो । बौनिया बजारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड क्षेत्रीय कार्यालय धनगढीको पहलमा अनुदानित रासायनिक मलको बिक्री केन्द्र स्थापना गरिएको हो ।

“अनुदानको मल बिक्रीका लागि बौनिया बजारमा बिक्री केन्द्र स्थापना गरेका छौँ”, कार्यालयका सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले भने, “बिक्री केन्द्र स्थापनाबाट समयमै र सहजरुपमा मल प्राप्त हुने भई किसान लाभान्वित भएका छन् ।”

साल्ट ट्रेडिङले क्षेत्रीय कार्यालय धनगढी र महेन्द्रनगरको उपशाखा कार्यालयमार्फत पनि अनुदानित मल बिक्री गर्दै आएको छ । कार्यालयका सहायक महाप्रबन्धक पाण्डेले आव २०७४/७५ मा अनुदानको युरिया आठ हजार ४५९ मेट्रिक टन, डिएपी तीन हजार १६६ मेट्रिक टन र पोटास २१६ मेट्रिक टन मल बिक्री गरिएको जानकारी दिए ।

यस्तै उक्त अवधिमा गैरअनुदानित मल सिंगल सुपरफस्पेट (एसएसपी) एक हजार ५६६ मेट्रिक टन र एमोनियम सल्फेट ४६ मेट्रिक टन बिक्री भएको बताइएको छ । अनुदानित मलको कूल परिमाणको ३० प्रतिशत मल साल्ट ट्रेडिङले र बाँकी ७० प्रतिशत कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी संस्थमार्फत बिक्री वितरण गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस