अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा


२ श्रावण २०७५, बुधबार


दाङ । दाङ देउखुरी जिल्ला अदालतमा बितेको आर्थिक वर्षमा अन्य मुद्दाको तुलनामा सबैभन्दा बढी ६४० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।

अदालतका न्यायाधीश हेमन्त रावलले दिएको जानकारीअनुसार दर्ता भएका ती सम्बन्ध विच्छेदका मुद्दामध्ये ४९५ वटा मुद्दा फछ्यौट भएका छन् । अर्थात् ४९५ जोडी अलग भएका छन् ।

न्यायाधीश रावलले सम्बन्ध विच्छेद गर्नुको मुख्य कारण वैदेशिक रोजगारी, प्रेम विवाह र नयाँ पुस्ता आफूहरु स्वतन्त्ररुपमा रहन चाहनु नै रहेको बताए ।

आव २०७३/७४ मा पनि जिल्ला अदालत दाङ देउखुरीमा ५२७ जनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएकामा ४१८ जोडीले सम्बन्ध विच्छेद गरेका थिए ।

त्यसैगरी जबर्जस्ती करणीका ५६ वटा मुद्दा दर्ता भएकामा २५ वटा मुद्दा फछ्यौट भएका छन् ।

लागुऔषधका अदालतमा परेका २८ वटा मुद्दामा १३ वटा, घरेलु हिंसामा तीन वटा मुद्दा दर्ता भएकामा एक वटा र मानव बेचबिखनका तीन वटा मुद्दा दर्ता भएकामा तीनवटै मुद्दा फछ्यौट भएको न्यायाधीश रावलले जानकारी दिए ।

दाङ देउखुरी जिल्ला अदालतले पत्रकार भेटघाटको आयोजना गरी अदालतले एक वर्षमा गरेको काम कारबाही सार्वजनिक गरेको हो ।

न्यायाधीश रावलले बितेको आवमा दुई हजार ३०५ वटा विभिन्न मुद्दा दर्ता भएकामा तीमध्ये एक हजार ४७१ वटा मुद्दा फछ्यौट भएको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस