जनतालाई आशा जगाउने किसिमका कार्यक्रम कार्यान्वयनमा जोड देऊ: प्रधानमन्त्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जनतालाई आशा जगाउने किसिमका कार्यक्रम कार्यान्वयनमा जोड देऊ: प्रधानमन्त्री


प्रशासन विशेष ब्युरो

३२ असार २०७५, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सेवामा ध्यान दिन र जनतालाई आशा जगाउने किसिमका कार्यक्रम कार्यान्वयनमा जोड दिन निर्देशन दिएका छन् ।

प्रशासनिक संयन्त्रलाई चुस्त, दुरुस्त र गतिशील बनाउँदै सेवा प्रवाह र विकास निर्माणप्रति प्रतिबद्ध भई राजनीतिक दललगायत सबै संस्थासँग हातेमालो गर्दै सेवामा ध्यान दिन र आशा जगाउने किसिमका कार्यक्रम कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बजेट तथा कार्यक्रममा उल्लिखित विषयहरूको कार्यान्वयन गर्ने सम्बन्धमा मन्त्रालयहरूले तयार गरेको कार्यान्वयन कार्ययोजना प्रस्तुतीकरणलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रशासनिक संरचनाहरूलाई युगले मागेको संरचनाको रूपमा राख्नुपर्ने धारणा राखेका प्रधानमन्त्री ओलीले प्रशासनिक संरचनाहरूलाई अर्नामेन्टको रूपमा होइन, कामयावी एवम् युगले मागेको संरचनाको रूपमा राख्नुपर्ने बताएका छन् । उनले आवश्यकता अनुसार संरचनाहरूको पुनःसंरचना एवम् खारेज गरिनुपर्नेसमेत बताएका छन् ।

जसोतसो कार्यकाल पूरा गर्ने वा नोकरी अवधि पूरा गर्ने अवस्थामा नभएर देश निर्माणको जिम्ममा आफ्नै काँधमा लिने अवस्थामा रहेको बताउँदै प्रधानमन्त्री ओलीले विकास निर्माण, सुशासन र समृद्धिमा जोड दिएका छन् । भ्रष्टाचार नारामा आयो, व्यवहारमा आउन सकेन भन्ने आम नागरिकको भनाईप्रति गम्भिर हुनुपर्ने उनको भनाई थियो ।

भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहको प्रभावकारिता पनि सँगसँगै जानुपर्ने बताउँदै उनले भने, ‘जनताका आशा र अपेक्षा अनुरूप न्यायालयलाई सबल, मर्यादित र प्रभावकारी बनाउनुपर्छ ।

प्रधानमन्त्री ओलीले सूचना तथा प्रविधिका क्षेत्रमा आमूल परिवर्तनतर्फसमेत जोड दिएका छन् । सो क्रममा उनले सूचना प्रविधि मन्त्रालयलाई फोरजी सेवा यथाशीघ्र देशभर संचालनमा ल्याउन तथा सामाजिक संजाललाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् ।

भूकम्पका कारण प्लास्टिकमुनि बसेका जनतालाई छानामुनि लैजाने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले बास सँगसँगै ऐतिहासिक सम्पदा एवम् धार्मिक सम्पदाहरूको पुनर्निर्माणमा जोड दिनुपर्ने बताए ।

‘विकास र समृद्धिका लागि सरदर गतिमा हिँडेर होइन कि हाम्रो गतिलाई तीव्ररूपमा अगाडि बढाउन जरुरी छ,’ प्रधानमन्त्री ओलीले भने ।

यसै क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय एवम् सम्बद्ध निकायहरूलाई १५ औं आवधिक योजनाको तयारीमा जुट्न समेत निर्देशन दिएका छन् ।

सरकारको आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रम र वार्षिक बजेट तथा कार्यक्रममा उल्लिखित विषयहरूको कार्यान्वयन गर्ने सम्बन्धमा विभिन्न मन्त्रालयहरूले तयार गरेको कार्यान्वयन कार्ययोजना प्रस्तुतीकरणको दोस्रो भागअन्तर्गत शनिबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायत १३ निकायका सचिवहरूले आ–आफ्ना मन्त्रालय र निकायका कार्ययोजनाहरू प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री तथा सबै मन्त्रालयका मन्त्री र सचिवलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रस्तुत कार्ययोजनामा सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन सम्बन्धी प्रमुख क्रियाकलापहरू, माइलस्टोनहरू, समयसीमा, प्रमुख सूचकहरू, कार्यान्वयनको लागि प्रमुख जिम्मेवार निकायहरू र सहयोगी निकायहरू लगायतका विषयहरूमा जोड दिइएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए ।

कार्ययोजनामार्फत् सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा प्रभावकारिता बढ्नुका साथै कार्यान्वयनको विभिन्न चरणको अनुगमनको सुनिश्चितता समेत हुने अपेक्षा लिइएको प्रवक्ता कुँवरको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस