केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था गर्न माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था गर्न माग


३१ असार २०७५, आइतबार


काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाली व्यवसायलाई केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालको नेतृत्वमा आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटेर रसुवाका जनतालाई मात्र पास उपलब्ध गराउँदै आएको सरकारले देशैभरिका व्यवसायीलाई एकदिने पासको व्यवस्था मिलाउन माग गरेको हो ।

यस्तै महासंघले भन्सारमा सहज रुपमा व्यवसायीको पहुँच हुनुपर्ने, व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने, तातोपानी नाका तत्काल खुलाउनुपर्नेलगायत मागसमेत गरेको छ ।

ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले व्यवसायीले राखेका माग सकारात्मक भएको भन्दै उक्त माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । “नेपालको परराष्ट्र हेर्ने टोली र चीनको परराष्ट्र हेर्ने टोलीबीच भन्सारका विषयमा छलफल भइरहेको छ, छिट्टै सकारात्मक नतिजा आउनेछ”, उनले भने ।

यसअघि महासंघको टोलीले केरुङ नाकाको अवलोकन गरी नेपाली व्यवसायीले भोग्नुपरेको समस्याका बारेमा जानकारी लिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस