कम्प्युटर अपरेटर पद खारेज नगर्न माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कम्प्युटर अपरेटर पद खारेज नगर्न माग


२५ असार २०७५, सोमबार


काठमाडौं । कम्प्युटर अपरेटर पद खारेज गर्न नहुने माग राख्दै लोकसेवाअन्तर्गत कम्प्युटर अपरेटर पदको परीक्षा तयारी गरिरहेका विद्यार्थीले सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ज्ञापनपत्र बुझाएका छन् ।

सरकारले केही समयअघि राजपत्र अनंकित प्रथम श्रेणीको कम्प्युटर अपरेटर र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पद खारेज गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयले भविष्यको उत्कृष्ट प्राविधिक जनशक्तिलाई सरकारी क्षेत्रमा प्रवेश गर्ने बाटो रोकेको र कम्प्युटर अपरेटरको तयारी गरिरहेकाको अवमूल्यन भएको ज्ञापनपत्रमा जनाइएको छ ।

‘२०७४ फागुन २७ गते नेपाल सरकारको ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति’को बैठकले नेपाल विविध सेवाअन्तर्गत प्राविधिक पदअन्तर्गत लोकसेवा आयोगबाट लिखित र प्रयोगात्मक परीक्षापश्चात् सिफारिस हुँदै आएको पद कम्प्युटर अपरेटरमा बहालवाला कर्मचारी अवकाश भएपछि स्थायी पद स्वतः खारेज हुनेछ र त्यस पदमा आवश्यकता अनुसार सेवा करारबाट पूर्ति गरिने निर्णय गरेपछि यसबारे गम्भीर ध्यानाकर्षण भएको र यसले वर्षाैंदेखि तयारी गरिरहेका विद्यार्थीलाई झस्काएको ज्ञापनपत्रमा भनिएको छ ।

लोकसेवामा कम्प्युटर अपरेटर पद स्वतः खारेज गरी परीक्षा र परीक्षणबिनै करारमा पदपूर्ति गरिएका कर्मचारीबाट कार्यसम्पादनमा ह्रास आउने दावी ज्ञापन पत्रमा गरिएको छ ।

‘यो सरकार तथा कर्मचारी प्रशासनको हितमा नभएकाले हामी सालिन भई निर्णय खारेजीको माग गर्दछौँ,’ ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापन पत्रको बोधार्थ निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन, निजामती सेवामा ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन (संघ) र नेपाल राष्ट्रिय कर्मचारी संगठनलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस