श्रावण ४ गते, २०७५

घुँडा दुख्नु कम्मरमा नसा च्यापिएको लक्षण पनि हुनसक्छ

घुँडा, ढाड तथा कम्मर दुख्ने समस्या आम नेपालीको साझा समस्या हो । उपचार गराउँदा पनि रोग सन्चो नहुँदा कतिपय आजित बनेका छन् । के कारणले यस्तो समस्या देखापर्छ ? यसको उपचार के हो ? यहीँ विषयमा प्राकृतिक तथा क्रोनिक ब्याक पेन एक्सपर्ट डा. सुनिल पौडेलसँग प्रशासन डट कमका एस राज उपाध्यायले गरेको कुराकानी ।

घुँडा दुख्दा कम्मरमा नसा च्यापिएको भन्नुभयो, यस्तो पनि हुन्छ र ?
घुँडा दुखाईका विभिन्न कारणहरू छन् । यसको सबैभन्दा आम कारण भनेको जोर्नी खिइनु, भिटामिनको कमी, यूरिक एसिड तथा चोटपटक नै हो । तर, कम्मरमा नसा च्यापिँदा पनि यो दुख्न सक्छ भनेको हो । घुँडाको उपचार गरेर पनि ठिक नभएको अवस्था छ भने नसा च्यापिएको अवस्थाको शंका गर्नुपर्ने हुन्छ । हरेक हप्ता यस्ता थुप्रै बिरामीहरू हामीकहाँ आउनुहुन्छ ।

उदाहरणको लागी राम वाग्ले जी (नाम परिवर्तन)को कुरा गरौं । उहाँ घुँडा दुखेर नेपाल मात्र होइन, भारतका थुप्रै ठाउँमा निदान र उपचारका लागि गइसक्नु भएको थियो । जहाँ गए पनि उपचारमा संलग्न चिकित्सकहरूले उहाँलाई घुँडा खिइएको वा खिइन लागेको भन्नुभएको थियो । चिकित्सकहरूले उहाँलाई बिसौं खालका दबाईहरू दिनुभयो, बढी नहिँड्न सल्लाह दिनुभयो, थेरापीहरू दिनुभयो । तर, जुनै चिकित्सकको सल्लाह मान्दा पनि उहाँलाई सन्चो भएन । कताबाट सुनेर हो त्यसपछि उहाँ उपचारका लागि मकहाँ आउनुभयो ।

मैले उहाँलाई ढाड र कम्मर दुखेकोबारे सोधें । हामी कम्मरको दुखाई इग्नोर गर्छाैं । तर, त्यहीँबाट नसा च्यापिन्छ र केही समयपछि घुँडा पनि दुख्न थाल्छ । बिरामीको इतिहास कोट्याउँदै गएपछि मात्रै यो रोगबारे थाहा हुन्छ । उहाँको पनि त्यस्तै समस्या रहेछ । आठ वर्षअघि चामल उठाउँदा कम्मर चसक्क भएको उहाँले बताउनुभयो । त्यसपछि फिजिकल एग्जामिनेसन गर्दा मलाई नसा च्यापिएको शंका लाग्यो ।

उहाँसँग घुँडाको २०/२५ एक्सरे थियो । मैले उहाँका सबै एक्स–रे हेरेँ । त्यसमा माइनर घुँडा खिइएको देखियो । त्यो उमेरमा त्यतिको घुँडा खिइनु सामान्य हो । खिइएर घुँडा दुखेको होइन भन्नेमा म पूरै विश्वस्त भएँ । फिजिकल जाँच गर्दा पनि घुँडामा केही प्याथोलोजी छैन भन्ने प्रमाणित भयो । त्यसैले हामीले घुँडाको एक्स–रे गरेनौं । बरु कम्मरको एमआरआई गर्ने सल्लाह दियौं ।

उहाँ पहिला त एमआरआई गर्न नै मान्नु भएको थिएन । घुँडा दुखेको छ कम्मरको एमआरआई किन गर्ने भन्नुहुन्थ्यो । तर, कन्भिन्स गरेपछि एमआरआई गर्न मान्नुभयो । एमआरआईमा उहाँको दायाँ साइडको ‘एल फाइभ’ नसा च्यापिएको रहेछ ।

कम्मरको दायाँ साइडको नसा च्यापिएको सुनेपछि उहाँ दंग पर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले यत्रा धेरै नाम चलेका विशेषज्ञ चिकित्सकलाई देखाएँ । तर, कही यसो भनेनन् । पहिले नै तपाईँकहाँ आउनु पर्दाेरहेछ ।’ हामीले उहाँको घुँडा दुख्दा कम्मरको उपचार गर्याैं र उहाँ अहिले पूर्णरूपमा ठिक हुनुभएको छ ।

भनेपछि एक ठाउँको दुखाई अर्कै ठाउँमा अर्कै समस्याका कारण पनि हुन सक्छ होइन त ?
हो, हुन सक्छ । प्रायःजसो रिफर्ड पेन र नसा च्यापिँदा यस्तो हुन्छ । जस्तै : पाताको मांसपेशी च्यातिँदा काँध दुख्न सक्छ, गर्धनमा नसा च्यापिँदा हात दुख्न सक्छ, कम्मरमा नसा च्यापिदा घुँडा र खुट्टा दुख्न सक्छ । राम्रो हिस्ट्री तथा फिजिकल जाँचपछि गरिने अन्य अनुसन्धान पछि यो पत्ता लाग्छ ।

नेपालमा नसा च्यापिने रोगका बिरामी बढेका हुन् ?
हो, निकै बढेका छन् । हाम्रो प्रवृत्ति र संस्कृतिले नै नसा च्यापिन्छ । हाम्रो जस्तै बस्ने र निहुरिने प्रवृत्ति संसारमै कहीँ छैन, जुन निकै खतरनाक छ । हाम्रोमा जे गर्दा पनि बस्न र निहुरिनै पर्छ, जस्तै : भाँडा माझ्दा, लुगा धुँदा, झाडु लगाउँदा, पोछा लगाउँदा, खाँदा, बस्दा, पूजा गर्दा, नमन गर्दा आदि । उठेरै गर्न सकिने काम पनि हामीलाई बसेर तथा निहुरिएरै गर्नुपर्छ । अनि यसले डिस्क तथा नसामा दबाब पैदा गर्छ, बिस्तारै डिस्क फुटेर नसा च्यापिन्छ । त्यसकारण संसारमा सबैभन्दा बढी नेपालमा नसा च्यापिने समस्या छ ।

कतिपय जटिल रोगहरू अप्रेसन नगरी उपचारबाटै पनि ठीक हुन्छन् भनिन्छ, नसा च्यापिएको उपचारबाट मात्रै निको हुने सम्भावना कति हुन्छ ?
हो । प्रायःजसो यस्ता रोग उपचारबाटै निको गर्न सकिन्छ । ९० प्रतिशतभन्दा बढी नसा च्यापिने मेकानिकल कारण बिग्रेर हुन्छ । यी रिभर्सिवल हुन्छन् र उपचारबाट पूर्णरूपमा निको हुन्छन् ।

१० प्रतिशत केसमा मात्रै अन्य प्याथोलोजी हुन्छ, जस्तै : ट्युमर, टिबी, चोटपटक, दुर्घटना, केही भाँचिएको, क्यान्सर आदि । यीमध्ये केही औषधीबाटै ठिक हुन्छन् र केहीलाई अप्रेसन गर्नुपर्छ । यो सबैलाई थाहा हुँदैन ।

हामीले उदाहरण दिएको बिरामीलाई पनि हामीले एकीकृत चिकित्सा पद्धति (इन्टिगे्रटिभ रूपमा) उपचार गर्याैं । उहाँ तीन महिनापछि पूर्णरूपमा सन्चो हुनुभयो । उपचारका क्रममा उहाँलाई सावधानी, एक्सरसाइज तथा विभिन्न थेरापी गरायौं । घरमा गर्ने उपचारहरू सिकायौं । जसले गर्दा उहाँको दुखाई दोहोरिएको छैन ।

डा. सुनिल पौडेललाई प्रश्न सोध्न हटलाइन ९८१६१९८४६८ वा hamrodoctor@gmail.com

असार २२ गते, २०७५ - १२ः४४ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg