परराष्ट्रको चमेना गृहमा काग ग्राहक ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

परराष्ट्रको चमेना गृहमा काग ग्राहक !


२२ असार २०७५, शुक्रबार


काठमाडौं । सफा र व्यवस्थित हुनुपर्ने चमेना गृहको आधारभूत मापदण्ड हो । तर, सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयको चमेना गृह न सफा छ न त व्यवस्थित नै ।

केही दिनअघि परराष्ट्रको चमेना गृहमा खिँचिएको तस्बिरले पनि चमेना गृह अस्तव्यस्त रहेको पुष्टि गर्छ तस्बिरमा ग्राहकले खाने प्लेट तथा कपमा कागले केही खाइरहेको देख्न सकिन्छ । झट्ट हेर्दा लाग्छ– कतै यहाँका ग्राहक काग त होइनन् !

त्यसको केही समयपछि खाजा खान पुगेका कर्मचारीहरू तिनै कागहरु धपाएर गाडीको टायरमाथि थोत्रो कार्पेटको टुक्रा बिछ्याएर बनाइएको टेबुलमा खाजा मगाउँछन् ।

चमेना गृहभन्दा केही पर कर्मचारीका लागि खाजा खान बनाइको ठाउँ मात्रै होइन, आँगनमै बनाइएको बस्ने ठाउँ पनि यति झुर छ कि सुकुम्बासी झुपडबस्तीमा समेत यति सारो भद्रगोल र फोहोर हुँदैन ।

हिँउदको गर्मी तथा वर्षात्को पानी छेक्न थोत्रा टिनको छानोको ओतमुनि अफिसका काम नलाग्ने कुर्सी टेबुलमा खाजा खानुपर्छ । यहाँ राखिएका एकआध सोफा सेटहरू देख्दै घिनलाग्दो मात्रै छैनन्, खुट्टै भाँचिएर बस्ने नमिल्ने भएका सामानलाई इँटाहरू थुपारेर अड्याइएको छ ।

यति मात्रै होइन, दाउरा त्यही ठाउँमा थुपारिएको छ । काम नलाग्ने प्लाई त्यही ठड्याइएको छ । फोहोर बढारेर पनि त्यहीँ छेउ लगाइएको छ । झिंगाहरू भुन्भुनाइरहेका छन् र एक जना कर्मचारी उभिएरै मुख मिठ्याई मिठ्याई जेरी खाँदैछन् । लाग्छ, अत्यन्तै गरिबीका बिचबाट जेनतेन यो चमेना गृह संचालनमा आएको छ र सिंहदरवारभित्रको परराष्ट्र, अर्थ लगायतका वरपरसमेतका केही कर्मचारीहरूका लागि जोहो गरिरहेको छ ।

त्यसो त बाहिर मात्रै होइन, चमेना गृहको भित्रि अवस्था पनि त्यस्तै दयनीय छ । पकवानहरू पकाउने भान्सा उस्तै छ । ग्याँस चुलो राख्ने टेबुलदेखि पकाएको कुराहरू राख्ने ठाउँ अनि भुइँसम्म, जताततै फोहोर छ । खानेकुरा राखिएका भाँडाहरू, तरकारी तथा फलफूल काट्ने चपिङ बोर्डदेखि खाएका जुठाभाँडाहरू एकै ठाउँमा राखिएका छन् ।

चमेना गृहको बाहिरी आवरण पनि विचित्रैको देखिन्छ । ठीक अगाडि केही बार देखिएको चमेना गृहको यो स्वरूप हेर्नुहोस् त ?

झट्ट हेर्दा कुनै सुकुम्बासी वस्ती नजिकैको स्याल झाडी जस्तै लाग्ने यो चमेना गृहबाट केही मिटर मात्रै पर चौबिसै घण्टा कुकुरहरूको भेला भइरहन्छ । यहाँ कुकुरहरूको ठूलै झुण्ड छ ।

राती मात्रै होइन, यो बाटो हुँदै दिउँसै हिँड्न समेत डराउँछन्, सिंहदरवारका कर्मचारीहरू । चमेना गृहमा पशुपन्छीको सिधा सम्पर्कले विभिन्न रोगहरू निम्तिन सक्ने जोखिमबारे चमेना गृह सञ्चालक र मन्त्रालयले चासो नदिएको कर्मचारीहरूको दुखेसो छ ।

सिंहदरवारभित्रको फोहोरसमेत यही व्यवस्थापन गरिँदै आएको छ । खुला ठाउँमा अव्यवस्थित तवरले संकलन तथा प्रशोधन गरिने फोहोरको गन्ध निकै परसम्म पुग्छ ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका एक कर्मचारी पछिल्लो अनुगमनमा सिंहदरवारका अधिकांश चमेना गृह अव्यवस्थित देखिएको बताउँछन् । उनका अनुसार विभागले २०७४ तिहारलगत्तै सिंहदरवारका चमेना गृहको अनुगमन गरेको थियो । ‘अनुगमनमा सिंहदरवार परिसरमा रहेका ३०–३२ चमेना गृहमध्ये दुई÷तीन मात्रै व्यवस्थित देखिए,’ ती कर्मचारीले भने, ‘त्यसपछि चमेना गृह व्यवस्थित गर्न सञ्चालकलाई खाद्य स्वच्छता तालिम दियौं ।’ त्यसयता अनुगमन गर्न नसकिएको उनले बताए ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत राज पौड्याल भने चमेना गृह बन्द गर्न निर्देशन दिइसकेको बताउँछन् । ‘अबको केही दिनमा चमेना गृह बन्द हुन्छ,’ उनले भने ।

मन्त्रालयका सूचना अधिकारी रामबाबु ढकालले भने परराष्ट्र मन्त्रालयले चमेना गृह सञ्चालन नगरेको भन्दै पन्छिए । तर, केन्द्रीय तथ्यांक विभागले उक्त चमेना गृहलाई ‘परराष्ट्रको क्यान्टिन’ भनेको छ ।


क्यान्टिनको ढोकामा तथ्यांक विभागको स्टिकर छ नि भनेपछि उनले परराष्ट्रकै भएको स्विकारे ।

चमेना गृह सोझै मानव स्वास्थ्यसँग जोडिएको छ । यसमा सामान्य हेलचेक्रयाइले विभिन्न संक्रमणको खतरा हुन सक्छ । तसर्थ, चमेना गृह व्यवस्थित गर्नतर्फ सञ्चालक र परराष्ट्र मन्त्रालयले ध्यान दिने हो कि !

Tags :
प्रतिक्रिया दिनुहोस