मानसरोवरमा अलपत्र भारतीय पर्यटकको उद्धार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मानसरोवरमा अलपत्र भारतीय पर्यटकको उद्धार


२० असार २०७५, बुधबार


काठमाडौं । सरकारले कैलाश मानसरोवर यात्रामा अलपत्र परेका केही भारतीय तीर्थयात्रीको हेलिकप्टरमार्फत प्रभावकारीरुपमा उद्धार भइरहेको जनाएको छ ।

संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिकूल मौसमका कारण उडान अवरोधका कारण उद्धारमा कठिनाइ भए पनि मंगलबारदेखि सबै संयन्त्र परिचालन गरेर प्रभावकारी रुपमा तीर्थयात्रीको उद्धार भइरहेको जनाएको हो ।

यही असार १७ र १८ गते उडान हुन नसकेका कारण तीर्थयात्रीलाई सम्बन्धित गन्तव्यमा ल्याउन कठिन भएको थियो । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार ५५३ जना सिमिकोट र ३०० जना तीर्थयात्री हिल्सामा रहेका छन् । उनीहरुको आज पनि मौसमले साथ दिएकाले धमाधम उद्धार भइरहेको र भोलिसम्म सबै यात्रीको उद्धार गरिनेछ ।

भारतीय तीर्थ यात्रुको उद्धारमा स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी तथा तारा, सिम्रिक र समिट एयरका हेलिकप्टर खाटिएको प्रवक्ता उपाध्यायले बताए ।

कैलाश मानसरोबरमा लेक लाग्ने समस्याका कारण तीनजना र बाटोमा फर्कने क्रममा चार गरी जम्मा सात जनाको मृत्यु भएको पनि पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

प्रत्येक वर्ष कैलास मानसरोवरमा लेक लागेर भारतीय तीर्थयात्रीको मृत्यु हुने गरेको छ । गतवर्ष २१ जनाको मृत्युभएको थियो । प्रवक्ता उपाध्यायले अलपत्र परेका यात्रीको उद्धारका लागि मन्त्रालयको समन्वयमा सबै संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गरिएको बताए ।

उनले उडान नहुँदा अलपत्र परेका भनिएका तीर्थयात्रीलाई होटलमा बस्न खान कुनै समस्या नरहेको पनि स्पष्ट पारे । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मंगलबार ट्वीट गर्दै १६० जना तीर्थयात्रीलाई हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको जानकारी दिएका थिए ।

दुई सय ५० जनालाई हिल्साबाट सिमिकोट ल्याइएको छ । मन्त्री अधिकारीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई उल्लेख गरेर लेखेको उक्त ट्वीटमा तीर्थयात्रीको मंगलबार र बुधबार होलिकोप्टरमार्फत उद्धार हुने जानकारी दिएका थिए ।

आज मन्त्रालयको समन्वयमा यात्रीको प्रभावकारी उद्धार भइरहेको छ । मौसमले पनि साथ दिएका कारण धेरै तीर्थयात्रीलाई आज सुरक्षित गन्तव्यमा पु¥याइने बताइएको छ । अबिरल वर्षाका कारण कैलाश मानसरोवरको यात्रामा गएका करिब एक हजार ६०० भारतीय तीर्थयात्री अलपत्र परेको जनाइएको छ ।

हुम्ला र हिल्साबाट तीर्थयात्री नेपालगञ्ज ल्याउने क्रम शुरु

वर्षाका कारण हिमाली जिल्लामा उडान अवरुद्ध हुँदा हुम्लाको सिमिकोट विमानस्थल र नेपाल–तिब्बत सीमा नाका हिल्सामा अलपत्र परेका कैलाश मानसरोबरका भारतीय तीर्थ यात्रुलाई नेपालगञ्ज ल्याउने क्रम शुरु भएको छ ।

हिजोबाट जहाजको उडान नियमित भएपछि हुम्लाको सिमिकोट र हिल्सा क्षेत्रबाट भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज ल्याउन थालिएको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले बताए ।

‘हिजो तीनवटा उडान र आज बिहानैदेखि भइरहेको उडानबाट भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज ल्याउने क्रम जारी छ’—सूचना अधिकारी गौतमले भने । नेपाल—तिब्बत सीमा क्षेत्रमा रहेकालाई हेलिकप्टरबाट हुम्लासम्म र हुम्लाको सिमिकोट विमानस्थलबाट नेपालगञ्ज ल्याउन थालिएको छ ।

हुम्लाबाट भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज ल्याउन समिट, सीता र तारा एयरलाइन्सको दैनिक १०/१२ उडान हुने र एक उडानमा १४ जनालाई ल्याउन सकिने सूचना अधिकरी गौतमले जानकारी गराए ।

हिजो सिमिकोटबाट करिब १५० भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज फर्काइएको र उनीहरुको बसोवासको उचित प्रबन्धसमेत मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।

‘भारतीय तीर्थयात्रुलाई केही अप्ठेरो परेको छ भने स्थानीय प्रशाशन, प्रहरी र आफ्नो ट्राभल एजेन्सीमा सम्पर्क राख्न पनि हामीले आग्रह गरेका छौं’—प्रजिअ केसीले भने ।

नागरिक उड्डयन कार्यालय नेपालगञ्जका सूचना अधिकारी गौतमका अनुसार हुम्लामा करीब ५०० को भारतीय तीर्थयात्रु भएकोमा हिजो १५० र आज पनि त्यसकै हाराहारीमा ल्याइने बताइएको छ । नेपालगञ्ज आइसकेका भारतीय तीर्थयात्रुलाई नेपालगञ्जबाट काठमाडौं उडान भर्न भने कुनै समस्या नभएको प्रजिअ केसीले बताए । रासस

प्रतिक्रिया दिनुहोस