सिंहदरवारभित्र मन्त्रालय र केन्द्रिय आयोजना मात्रै रहने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सिंहदरवारभित्र मन्त्रालय र केन्द्रिय आयोजना मात्रै रहने


प्रशासन विशेष ब्युरो

१२ असार २०७५, मंगलबार


काठमाडौं । सिंहदरवार परिसरभित्र रहेका आयोग, समिति तथा आयोजनाहरुलाई एक महिनाभित्र खालि गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिइएको छ ।

मंगलवार नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षमा बसेको विभिन्न मन्त्रालयका सचिवहरु सम्मिलित बैठकले उक्त निर्णय गरेको हो ।

उच्च स्रोतका अनुशार सिंहदरवारभित्र रहेका भवनसंरचनाहरुको पुनःव्यवस्थापन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयहरु गाभिँएसँगै थप भएको जनशक्ति व्यवस्थापन गर्न मौजुदा भौतिक संरचना अपुग हुने देखिएपछि मन्त्रालय तथा केन्द्रिय आयोजनावाहेकका निकायहरुलाई सिंहदरवारबाट खालि गर्न लागिएको हो ।

सिंहदरवार परिसरभित्र मन्त्रालय तथा केन्द्रिय आयोजनावाहेक अन्य कुनै आयोग, समिति, आयोजना लगाएतका निकाय नराख्ने र सम्बन्धित मन्त्रालयले यस्ता निकायहरुलाई एक महिनाभित्र सिंहदरवार परिसरबाहिर व्यवस्थापन गर्न निर्देशन दिएको हो –स्रोतले बतायो ।

त्यसैगरी मन्त्री तथा सचिवहरुले आफु खुसी निर्णय गर्दै जुन मन लाग्यो त्यही भवन कब्जा गर्दै जाने प्रक्रियामा समेत ब्रेक लगाइएको छ ।

देशको मुख्य प्रशासनिक केन्द्रलाई ब्यवस्थित गर्न सिंहदरवार सचिवालय पुनर्निर्माण समितिले कर्मचारीको दरवन्दी र आवश्यकतासमेतको आधारमा योजना तयार गर्ने र शहरी विकास मन्त्रालयका सचिवबाट आवश्यकता हेरी निर्णय गरेर सम्बन्धित निकायलाई कार्यान्वयनका लागि पठाउने निर्णय भएको छ ।

समितिको सिफारिसमा शहरी विकास सचिवबाट भएको निर्णयलाई सबै मन्त्रालयहरुका लागि मान्य हुने र तत्कालै कार्यान्वयमा ल्याउनु पर्ने छ ।

हाल सिंहदरवारभित्र जो शक्तिमा छ उसैले कब्जा गरेर बस्ने गरेको स्थिति छ । मन्त्रालयको कामको प्रकृति, दरवन्दी तथा आवश्यकता हेरेर सिंहदरवार सचिवालय पुनर्निर्माण समितिले भवनहरु निर्माण गर्दै आएको भएपनि पछिल्लो समयमा जो पावरमा पुग्छ र जहाँ बस्न मन लाग्छ उसले क्याविनेटबाटै निर्णय गराएर कब्जा गर्ने प्रवृति बढेपछि यसमा बे्रक लगाउन अत्यावश्यक भइसकेको थियो एक उच्च प्रशासकले भने ।

यदी यो निर्णय आत्मसाथ लागु हुने हने भने सरकारी संयन्त्रहरुमा देखिएका कमिकमजोरी तथा हस्तक्षेपकारी प्रवृति निरुत्साहित हुने र आवश्यकताको आधारमा चुस्त, दुरुस्त र पारदर्शी सेवा प्रवाहका लागि समेत कोशेढुङ्गा सावित हुने उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस