दोस्रो चरणमा कसको सम्भावना ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दोस्रो चरणमा कसको सम्भावना ?


१० असार २०७५, आइतबार


काठमाडौं । २१ औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ रसियामा जारी छ । जारी प्रतियोगितामा अहिलेसम्म चार टिमले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् भने पाँच टिम अघिल्लो चरणको ‘रेस’बाट बाहिरिसकेका छन् ।

समूह ‘ए’
यो समूहबाट रसिया र उरुग्वे एक खेलअगावै प्रि–क्वाटरफाइनलमा पुगिसकेका छन् । सोही समूहबाट साउदी अरेबिया र इजिप्ट बाहिरीसकेका छन् ।
सो समूहबाट सबै टिमले समान दुई खेल खेलका छन् । रसिया र उरुग्वेको समान ६ अंक छ भने साउदी अरेबिया र इजिप्ट अंकविहिन छन् ।

समूह ‘बी’
यो समूहबाट स्पेन, पोर्चुगल र इरानको सम्भावना छ । यो समूहबाट पनि सबै टिमले समान दुई खेल खेलिसकेका छन् । स्पेन र पोर्चुगलको समान चार अंक छ भने इरानको तीन अंक छ । दुवै खेल विपक्षीलाई सुम्पेको मोरक्को प्रतिष्पर्धाबाट बाहिरिसकेको छ ।

सोमबार हुने खेलबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्नेछ । जसमा इरान र पोर्चुगल तथा स्पेन र मोरक्को भिड्दैछन् । इरान र पोर्चुगलको खेलमा विजेता दोस्रो चरणमा पुग्नेछ भने स्पेनलाई दोस्रो चरण पुग्न मोरक्कोलाई हराउनुपर्नेछ ।

समूह ‘सी’
यो समूहबाट फ्रान्स अन्तिम १६ मा पुगिसकेको छ । दुई खेल खेलेको फ्रान्स ६ अंकसहित शीर्ष स्थानमा छ । समान खेल खेलेका डेनमार्क चार अंकसहित दोस्रो र एक अंकसहित अस्ट्रेलियाले तेस्रोमा छ । उसको पनि दोस्रो चरणमा पुग्ने सम्भावना जिवितै छ । अंकविहीन पेरु भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

अन्तिम १६ पुग्न डेनमार्कले फ्रान्सविरुद्धको खेल जित्नुपर्छ । अस्टेलियालाई अन्तिम १६ मा पुग्न पेरुलाई हराउनुपर्नेछ भने डेनमार्क फ्रान्ससँग हार्नुपर्नेछ ।

समूह ‘डी’
यस समूहबाट क्रोएसिया अन्तिम १६ मा पुगिसकेको छ । क्रोएसिया ६ अंकसहित शीर्ष स्थानमा छ । बाँकी तीन टिमको दोस्रो चरण पुग्ने सम्भावना छ । सबै टिमले समान एक खेल खेल्न बाँकी छ ।

नाइजेरिया तीन अंकसहित दोस्रो स्थानमा छ भने अर्जेन्टिना र आइसल्याण्डको समान एक अंक छ । अन्तिम खेलबाट नकआउट चरण पुग्ने टिमको टुंगो लाग्नेछ ।

समूह ‘इ’
यस समूहबाट ब्राजिल र स्विजरल्याण्ड समान चार अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । सर्बिया तीन अंक सहित तेस्रो स्थानमा छ । अंकविहिन कोस्टारिका प्रतियोगिताबाट बाहिरिसकेको छ ।

सर्बिया र ब्राजिलको बिजेता अन्तिम १६ मा पुग्नेछ भने स्विटजरल्याण्डलाई अन्तिम १६ मा पुग्न कोस्टारिकालाई हराउनुपर्नेछ ।

समूह ‘एफ’
यस समूहबाट मेक्सिको, जर्मनी र स्विडेनको दोस्रो चरण पुग्ने सम्भावना छ । मेक्सिको दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । समान खेल खेलेका जर्मनी र स्विडेनको समान तीन अंकका साथ दोस्रो र तेस्रोमा छन् । दुई खेल हारेको कोरिया भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

अन्तिम खेलमा जर्मनी कोरियासँग र मेक्सिको स्विडेनसँग भिड्दैछन् । यसका विजेता दोस्रो चरण पुग्नेछन् ।

समूह ‘जी’
यस समूहमा बेल्जियम ६ अंकका साथ शीर्ष स्थानमा छ । उसले दुई खेल खेलेको छ । एक खेल खेलेको इग्ल्याण्ड तीन अंकसहित दोस्रोमा छ । एक खेले खेलेको पनामा र दुई खेल खेलेको ट्युनेसिया भने अंकविहिन छन् । दोस्रो चरण पुग्न सबै टिमको सम्भावना छ ।

समूह ‘एच’
यस समूहका सबै टिमले अहिलेसम्म समान एक खेल मात्रै खेलेका छन् । जापान र सेनेगलले खेल जितेर तीन अंक पाएका छन् । पोल्याण्ड र कोलम्बिया भने अंकविहिन छन् ।
यस समूहबाट दोस्रो चरणमा पुग्ने टिमको टुंगो लागेको छैन । सबैको सम्भावना उत्तिकै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस