मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गरिने : मन्त्री थममाया थापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गरिने : मन्त्री थममाया थापा


७ असार २०७५, बिहिबार


बाबियाचौर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले दुर्गम र विकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको उपचार सेवामा पहुँच बढाएर मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गर्न लागिएको बताएकी छन् ।

म्याग्दीको मालीका गाउँपालिका– ६ दरबाङमा आज समाजकल्याण परिषद्अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दे मन्त्री थापाले अप्ठ्यारोमा परेका दुर्गम, विकट क्षेत्रका गरीब, विपन्न सुत्केरी, गर्भवती र नवजात शिशुलाई हेलिकप्टरबाट उद्धार गरेर तत्कालै अस्पताल पु¥याउन एयर एम्बुलेन्स सञ्चालनको तयारी गरेको जानकारी दिइन् ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत एयर एम्बुलेन्स सञ्चालन गर्न आगामी आर्थिक वर्षका लागि मन्त्रालयले २९ करोड ५७ लाख बजेट विनियोजन गरिएको मन्त्री थापाले जानकारी दिइन् ।

एकदिने शिविरमा बालरोग विशेषज्ञ नवराज सुवेदी, स्त्रीरोग विशेषज्ञ सरिता गुरुङ, चिकित्सक रुपक श्रेष्ठ, दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मेडिकल अधिकृत कृष्ण कँडेल र तीलक गौतमले सेवा दिने जनाइएको छ ।

शुक्रबार अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर र शनिबार बेनी अस्पतालमा पहिचान हुने शल्यक्रिया गर्नुपर्ने बिरामीलाई थप उपचारको व्यवस्था मिलाइने कोषका अध्यक्ष हुमबहादुर बरुवालले जानकारी दिए ।

मालिका, मंगला र धौलागिरि गाउँपालिकाका सर्वसाधारणलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस