जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन


७ असार २०७५, बिहिबार


काठमाडौं । सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ ।

सो रेलमार्ग सञ्चालनका लागि प्राविधिक तयारीस्वरुप नेपाली र भारतीय अधिकारीबीच मंगलबार र बुधबार छलफल भएको रेल विभागले जानकारी दिएको छ ।

विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायका अनुसार छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवद्वय केशवकुमार शर्मा र राजेन्द्रराज शर्मा, विभागका महानिर्देशक अनन्त आचार्य, सिनियर डिभिजनल इञ्जिनियर अमन चित्रकारलगायतका अधिकारी सहभागी थिए ।

रेलमार्ग सञ्चालनका लागि गरिनुपर्ने पूर्वतयारीका बारेमा छलफल भएको विभागको भनाइ छ ।

छैन रेल ऐन

नेपाल र भारत जोड्ने रेलमार्ग सञ्चालनको लागि तयार हुने क्रममा रहे पनि सरकारले हालसम्म रेल ऐन तयार गर्न सकेको छैन ।

यस्तै रेल सञ्चालनसम्बन्धी विभिन्न नियमावली, प्राविधिक, सुरक्षा, प्रशासनिक मर्मत संभारका लागि आवश्यक जनशक्ति कसरी उपलब्ध गराउने भन्ने विषयमा आवश्यक तयारीसमेत हुन सकेको छैन । सरकारले रेल विधेयक तयार पारेर संघीय संसद्मा पेश गर्नुपर्ने हुन्छ । विधेयक तयारीको क्रममा रहेको छ ।

यस्तै, प्राविधिक जनशक्तिको उपलब्धता र व्यवस्थापनबारेमा पनि संबद्ध निकायले ध्यान दिनुपर्ने र तत्काल त्यसको ढाँचा तयार पार्नुपर्ने आवश्यकता देखिएको छ ।

सहमतिअनुसार आगामी जुलाई ९ देखि १९ सम्म हुने दुई देशबीचको संयुक्त बैठकमा प्राविधिक तथा अन्य प्रशासनिक विषयमा सहमति जुटाइने भएको छ ।

प्रवक्ता उपाध्यायका अनुसार निर्माण सम्पन्न हुन लागेको रेलमार्ग सन् २०१८ को अन्त्यसम्म सञ्चालनमा ल्याइने भएको छ । जनकपुर–जयनगरमा ३५ किलोमिटर लामो रेलमार्ग सञ्चालनमा आउनेछ ।

विशेषगरी जनकपुर–जयनगर रेल सञ्चालनको मोडालिटीबारे छलफल गर्न भारतीय रेल विभागका अधिकारी काठमाडौं आएका हुन् । सरकारले भारतीय रेल विभागसँग ‘वेट लिज’मा रेल सम्झौता गर्ने भएको छ । सो सम्झौताअनुसार भारतीय रेल्वे विभागले रेलको डब्बा र अन्य प्राविधिक जनशक्ति उपलब्ध गराउने भएको छ ।

नेपालमा नै रेल चलाउने जनशक्ति तयार गर्ने विषयमा समेत भारतीय पक्षले सहयोग गर्ने जनाएको छ । विभागले जनकपुर जयनगरका साथै विराटनगर—बथनाहाको १८ किलोमिटर रेलमार्गमा पनि त्यस्तै सम्झौता गर्न लागेको छ । सो रेल प्रतिघण्टा १०० किलोमिटरको गतिमा दौडनेछ ।

विभागले जयनगर–जनकपुर–कुर्थासम्मको ३५ किलोमिटर खण्डमा रेल गुडाउन आवश्यक पूर्वाधार निर्माण सम्पन्न भइसकेको जनाएको छ । भारत सरकारले सो रेलमार्ग निर्माणका लागि १० अर्ब सहयोग गरेको छ ।

जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट करीब छ किलोमिटर पर कुर्था भन्ने स्थानसम्म रेलमार्गको लिकसमेत निर्माण भइसकेको छ ।

हाल निर्माण सम्पन्न भएको र निर्माणका क्रममा रहेको रेलमार्ग ‘ब्रोडगेज’को हो । सो रेलमार्गमा छवटासम्म डब्बा तान्न सक्ने चार इन्जिन राख्ने तयारी गरिएको छ । यस्तै, रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययनको कार्य पनि जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस