सबल प्रतिपक्षका लागि सशक्त नेृतत्व « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सबल प्रतिपक्षका लागि सशक्त नेृतत्व


६ असार २०७५, बुधबार


काठमाडौं । नेपाली काँग्रेसका युवा नेताहरुले सबल प्रतिपक्षका लागि पार्टीमा सशक्त नेतृत्वको खाँचो रहेको औँल्याएका छन् ।

मंगलबारदेखि मलवानपुरको हेटौंडामा शुरु भएको काँग्रेसका जिल्ला सभापतिको भेलामा सात युवा नेताहरुले आफ्नो संयुक्त लिखित धारणासहित वर्तमान शैली, नेतृत्व र वैचारिक अलमलबाट सशक्त प्रतिपक्षीय भूमिका निर्वाह हुन नसक्ने बताएका हुन् ।

काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले अब काँग्रेसको नयाँ मिसन तय गर्दै नयाँ युगका लागि नयाँ एजेण्डा बोकेर हिँड्न सक्ने गरी संगठनको खाका कोर्न जरुरी भएको र त्यस्तो एजेण्डा बोक्न सक्ने नेतृत्वको आवश्यकता औँल्याए ।

अहिलेको कम्युनिष्ट शक्तिसँग प्रतिस्पर्धा गर्ने र हिजोकोभन्दा पनि बलियो तथा जनमुखी संगठनका रुपमा काँग्रेसलाई डो¥याउने नेतृत्व चाहिएको बताउने उनीहरुको लिखित प्रस्तावमा ‘यसका लागि काँग्रेस स्वयं रुपान्तरित हुनुपर्ने र यी सबको जग हाल्ने कामका लागि महासमिति बैठक सबैभन्दा उपयुक्त स्थान हो’ उल्लेख थियो ।

काँग्रेसले उठाएको विचार र राजनीतिक सोच राष्ट्रिय राजनीतिमा प्रभाबकारी हुँदा पनि पार्टी स्वयंले भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा किन जित्न सकिएन भन्ने गम्भीर प्रश्न खडा भएको उल्लेख गर्दै उनीहरुले यसको समीक्षाका लागि प्रजातन्त्र पुनःस्थापनापछि अहिलेसम्म काँग्रेस कहाँ चुक्यो त्यसको लेखाजोखा गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

लिखित प्रस्तावमा राष्ट्रिय राजनीतिमा कम्युनिष्ट सरकारले देखाएको संविधान र लोकतन्त्र विरोधी रवैयाको सशक्त मुकाविला र खबरदारीका लागि तथा लोकतन्त्र र संघीयताको सफल कार्यान्वयनका लागि काँग्रेस रक्षाकबच बन्नुपर्ने उल्लेख गरिएको थियो ।

केन्द्र तथा सबै प्रदेशमा रचनात्मकरुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने र पार्टीलाई संविधानले मार्गनिर्देश गरेअनुरुप तत्काल संघीय प्रणालीमा पार्टीको पुनःसंरचना गर्नुपर्ने सुझाव दिइएको थियो ।

पार्टीलाई नयाँ स्वरूप दिनका लागि छलफल गर्दै गर्दा वैचारिक, सांगठनिक र नेतृत्वका बारेमा पनि थप छलफल हुनुपर्ने र विधानअनुसार नियमितरुपमा पनि अर्को साल फागुनमा पार्टीको १४औँ महाधिवेशन गर्नुपर्नेमा जोड दिइएको थियो ।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार जिल्ला सभापतिको यो भेला भएको हो । जिल्ला सभापति भेला एवं ग्राम र नगरपालिका तहसम्मको पार्टीको सांगठनिक संरचना तथा भातृ र शुभेच्छुक संस्थामार्फत सुझाव बमोजिम पार्टीको विधानमा परिमार्जन एवं संशोधनलगायतको तयारी गरी आगामी भदौमा काँग्रेस महासमितिको बैठक बस्ने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस