गति लिँदै पुनर्निर्माण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गति लिँदै पुनर्निर्माण


प्रशासन विशेष ब्युरो

६ असार २०७५, बुधबार


काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणले गति लिन थालेको छ । निजी घर, विद्यालय तथा स्वास्थ्य भवन र ऐतिहासिक सम्पदा ठडिँदैछन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार मंगलबारसम्म एक लाख ४९ हजार दुई सय २५ घर निर्माण सम्पन्न भएका छन् । निर्माणाधिन घरको संख्या चार लाख ९३ हजार दुई सय ९६ छ ।

सरकारले घर निर्माण गर्न अनुदान रकम उपलब्ध गराएपछि धमाधम घर ठडिएको भूकम्पप्रभावित क्षेत्रका वासिन्दा बताउँछन् । ‘सरकारले अनुदान रकम उपलब्ध गराएपछि घर बनाउन सहज भएको छ,’ नुवाकोट, विदुर नगरपालिकाका एक भूकम्पपीडितले भने, ‘केहीले घर बनाइसके । केही निर्माणाधीन अवस्थामा छन् ।’

सरकारले भूकम्पपीडित परिवारलाई तीन किस्तामा तीन लाख रूपैयाँ अनुदान दिँदै आएको छ । सरकारले पहिलो, दोस्रो र तेस्रो किस्तामा क्रमशः ५० हजार, एक लाख ५० हजार र एक लाख रूपैयाँ उपलब्ध गराउँछ ।

प्राधिकरणका अनुसार मंगलबारसम्म एक लाख ४९ हजार दुई सय २५ परिवारलाई सबै (पहिलो, दोस्रो र तेस्रो) किस्ताको रकम उपलब्ध गराइएको छ ।

प्राधिकरणका अनुसार सात लाख १९ हजार दुई सय २५ परिवारसँग अनुदान सम्झौता गरिएको थियो । तीमध्ये सात लाख १० हजार सात सय ३२ परिवारलाई पहिलो किस्ता र चार लाख ११ हजार दुई सय ४२ परिवारलाई दोस्रो किस्ताबाफतको रकम वितरण गरिएको थियो ।

भूकम्पपीडितले धमाधम घर बनाउन थालेको प्राधिकरणका सहायक प्रवक्ता तथा सूचना अधिकारी मनोहर घिमिरे बताउँछन् । पुनर्निर्माणले अपेक्षाअनुरूप गति लिन सकेको छ कि छैन ? उनले जवाफ फर्काए, ‘पुनर्निर्माण गति नलिएको भन्न मिल्दैन । अहिलेसम्मको कार्यप्रगतिलाई सकारात्मक नै मान्नुपर्छ ।’ यद्यपि, जनशक्ति अभावले समग्र पुनर्निर्माणमा सामान्य समस्या भएको उनले बताए ।

विद्यालय भवन पुनर्निर्माण ४८ प्रतिशत
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अहिलेसम्म ४८ प्रतिशत विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । भवन पुनर्निर्माणसँगै विद्यार्थीहरू ‘भूकम्प प्रतिरोधी’ भवनमा बसेर पढ्न थालेका छन् ।
प्राधिकरणका अनुसार भूकम्पपछि सात हजार पाँच सय ५३ भवन पुनर्निर्माण गर्नुपर्ने देखिएको थियो । तीमध्ये तीन हजार ६ सय ३६ विद्यालय भवन बनिसकेका छन् । जसमा १३ हजार दुई सय ८५ कोठा निर्माण गरिएको छ ।

सम्पदा पुनर्निर्माण
भूकम्पमा तहसनहस भएका सम्पदाको पुनर्निर्माणले अहिले गति लिन थालेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पमा सात सय ५३ सम्पदामा क्षति पुगेको थियो । तीमध्ये एक सय १५ को पुनर्निर्माण भइसकेको छ । तीन सय १४ पुनर्निर्माण भइरहेका छन् । पुनर्निर्माणको प्रक्रियासमेत सुरु हुन नसकेका सम्पदा तीन सय २४ छन् ।

सम्पदा पुनर्निर्माणले गति लिन थालेको प्राधिकरणको सम्पदा पुनर्निर्माण शाखाका पुरातत्व अधिकृत भीष्म बास्कोटा बताउँछन् । ‘सम्पदा पुनर्निर्माण घर बनाएजस्तो सजिलो छैन,’ उनी भन्छन्, ‘यसको पुनर्निर्माण गर्दा मौलिक, सांस्कृतिक पक्ष मात्रै होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डलाई पनि विचार गर्नुपर्छ ।’

रानीपोखरी, काष्ठमण्डप र धरहरा छिटो उभिन नसकेकाले जनताले सम्पदा पुनर्निर्माण गति नलिएको गुनासो गरेको उनले बताए । ‘यी सम्पदाको पुननिर्माण भएपछि जनतामा सम्पदाको पुनर्निर्माण हुँदैन भन्ने भ्रम हटेर जानेछ,’ उनले भने ।

आधाभन्दा बढी स्वास्थ्य संस्थाका भवनको पुनर्निर्माण
भूकम्पमा क्षतिग्रस्त भएका आधाभन्दा बढी स्वास्थ्य संस्थाका भवनको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पमा एक हजार एक सय ९७ स्वास्थ्य संस्थाका भवन क्षतिग्रस्त भएकोमा ६ सय ४३ को पुनर्निर्माण सकिएको प्राधिकरणले जनाएको छ । पुनर्निर्माण भइरहेका स्वास्थ्य संस्था एक सय ४५ छन् । अन्यको भने प्रक्रिया नै सुरु हुन सकेको छैन ।

अहिलेसम्मको पुनर्निर्माणको कार्यप्रगति सकारात्मक नै रहेको उनको दाबी छ । भूकम्पपछिको पुनर्निर्माणबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिएको र देखाइएको भन्दा अवस्था फरक नरहेको उनले बताए । ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पाँच वर्षका लागि गठन गरिएको हो । त्यसकारण दुई–तीन वर्षमै पुनर्निर्माण सकिन्छ भन्ने सोच्नु नै हतारो हो,’ उनले भने, ‘त्यसकारण अहिल्यै पुनर्निर्माणको प्रगतिबारे नकारात्मक टीकाटिप्पणी गर्न मिल्दैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस