खरिद र वितरण प्रणाली व्यवस्थित नहुँदा औषधिको अभाव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खरिद र वितरण प्रणाली व्यवस्थित नहुँदा औषधिको अभाव


५ असार २०७५, मंगलबार


बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरका ६५ वर्षीय जनार्दन पौडेलको घुँडामा समस्या छ । दुखाई कम हुँदैन । सकी नसकी घाँस दाउरा गरिरहेको अवस्थामा भटिएका पौडेलले स्थानीय स्वास्थ्य चौकीमा प्रायः कुनै पनि औषधि नपाइने गुनासो गरे।

पौडेलले भने – ‘पोखरा गएर दबाई लिएर आएँ । अहिले अलि सन्चो भएको छ । स्वास्थ्य चौकीमा सामान्य औषधि पनि पाइँदैन ।’

अमलाचौर स्वास्थ्य चौकीका अहेव कृष्ण शर्मा पौडेलको नजिकै आफ्नो निजी आषधि पसल छ । स्वास्थ्य चौकीमा निःशुल्क पाइने औषधि निजी पसलमा किन्नुपर्ने बाध्यतामा स्थानीयवासी छन् । ‘स्वास्थ्य चौकीमा किन औषधि आउँदैन ? किन समयमा खरिद गरिएन ?’ भन्ने प्रश्नमा पौडेलले भने, ‘यस्तो समस्या छ भनेर सम्बन्धित कार्यालयमा गुनासो गर्दा हाम्रो जागिरमै खतरा आउन सक्छ ।’

उनले औषधि खरिद र वितरणका नाममा अनियमितता हुने संकेत गर्दै समस्या समाधान गर्न सरकारले विशेष पहल गर्नुपर्ने तर्क गरे । नगरपालिकाकै वडा नं ९ स्थित गाउँबारी स्वास्थ्य चौकीमा पनि पर्याप्त औषधि छैन ।

वर्षायाम लाग्दा जीवनजलको समेत अभाव झेल्नुपर्ने बाध्यतामा स्वास्थ्य चौकी छन् । जीवनजल नभएपछि अन्यत्रको स्वास्थ्य चौकीबाट मागेर काम चलाइआएको बानपा–१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माले बताए। एक दुई दिनमै जीवनजल नआए बिरामी फर्काउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

‘काटेमा लगाउने ‘नियोमाइसिन’ मलम नआएको वर्ष दिन भयो,’ उनले भने – ‘एन्टिबायोटिक औषधिको बढी अभाव छ ।’ महिनौँदेखि माग गर्दा पनि सम्बन्धित निकायले औषधि नपठाइदिएको उनको गुनासो छ । स्वास्थ्य चौकीलाई चाहिने औषधि केही केन्द्रबाट र बाँकी जिल्ला तथा स्थानीय तहबाट उपलब्ध हुने गरेको छ । बजेट अभावसँगै औषधि खरिद र वितरण प्रक्रिया चुस्त नहुँदा औषधि अभाव हुने गरेको छ ।

सरकारले ७० प्रकारका औषधि खरिद गरी वितरण गर्ने नीति लिएकामा प्रायः स्वास्थ्य चौकीमा ती औषधि पाइँदैनन् । स्वास्थ्य मन्त्रालयले निःशुल्क औषधि स्वदेशमै खरिद गर्न समिति गठन गरे पनि प्रभावकारीरुपमा काम हुन सकेको छैन ।

सामान्य औषधि पनि नपाएर स्वास्थ्य चौकीबाट सर्वसाधारण रित्तो हात फर्कन बाध्य छन् । औषधि निःशुल्क पाइने व्यवस्था सरकारी घोषणामा सीमित बनेको छ । तोकिएकामध्ये आधाजति औषधिको सधैँ अभाव हुने गरेको स्वास्थ्य चौकीका प्रमुखहरु बताउँछन् । अमलाचौर स्वास्थ्य चौकीका प्रमुख दुर्गा आचार्यले अन्यत्रको झैँ अमलाचौरको समस्या पनि उस्तै रहेको प्रतिक्रिया दिए ।

‘सबै स्वास्थ्यचौकीको अवस्था उस्तै हो,’ उनले भने – ‘निःशुल्क पाइने औषधि १५/२० प्रकारको मात्र हामीसँग छ ।’ कहिलेकाहीँ जीवनजल, सिटामोलजस्ता सामान्य औषधिको पनि अभाव हुने गरेको उनको अनुभव छ । पर्याप्त औषधि कहिल्यै पनि नहुने अवस्थाबाट स्वास्थ्य चौकी गुज्रिरहेको प्रमुख आचार्यले बताए । औषधि वितरणमा देखिएको अन्योलताले समस्या बढेको उनको बुझाइ छ ।

स्थानीय तह र जिल्ला जनस्वास्थ्य कार्यालयबीचको समन्वय नहुँदा औषधि खरिदमा समस्या देखिएको छ । तत्काललाई जिल्ला जनस्वास्थ्य कार्यालय र केन्द्रसँग पनि समन्वय गरेर औषधिको अभाव रोक्ने प्रतिवद्धता बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल व्यक्त गर्छन् । ‘वर्षायाममा चाहिने अत्यावश्यक औषधिको कमी हुन नदिन समन्वय भइरहेको छ,’ उनले भने – ‘हामीले औषधिको अभाव हुन दिन्नौँ ।’ आगामी वर्षदेखि औषधि खरिद तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइने उनको भनाइ छ ।

नगर प्रमुख पौडेलका अनुसार बजेट हुँदाहुँदै औषधि खरिद गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने कारण देखाई खरिद गर्न रोक्न लगाइएको पाइएको छ । नगरपालिकाले औषधि खरिदका लागि रकम अनुदान दिने र स्वास्थ्य कार्यालयका कर्मचारीलाई आफ्नो मातहत ल्याउने तयारी गरेको जानकारी पनि उनले दिए ।

नगरपालिकाले औषधि खरिदका लागि आठ लाख २० हजार विनियोजन गरी खरिदका लागि रकम निकासा गरिसकेको दाबी गरेको छ तर अनुगमन प्रभावकारी नहुँदा स्वास्थ्य चौकीमा औषधि अभाव देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयको भनाइ भने बजेट अभावका कारण औषधि खरिद नगरिएको भन्ने छ । वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीले अपर्याप्त बजेटका कारण औषधि अभाव हुने गरेको बताए । केही औषधि नभए पनि जनस्वास्थ्यमा ठूलो असर पर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘केन्द्रबाट कतिपय औषधिको टेण्डर स्वीकृत नहुँदा पनि जिल्लामा औषधि अभाव देखिन्छ,’ उनले भने – ‘औषधि खरिद र वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउन आवश्यक छ ।’

आफ्नो बजेटअनुसारको औषधि खरिद गरी प्रत्येक चौमासिकमा स्वास्थ्य चौकीमा पठाउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयको दाबी छ । स्वास्थ्य विभागले नै खरिद गरेर पठाउने औषधि पनि जनस्वास्थ्य कार्यालयकै व्यवस्थापनमा वितरण हुने गर्छ । स्थानीय तहमा आएको बजेटबाट सम्बन्धिन गाउँ र नगरको स्वास्थ्य शाखाले औषधि खरिद तथा वितरण गर्दै आएका छन् ।

सरकारले जिल्ला अस्पतालबाट ७२, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३७ थरीका औषधि निःशुल्क वितरण गर्ने व्यवस्था गरेको छ । सदरमुकाम रहेको नगर क्षेत्रमै औषधिको अभाव भइरहँदा दुर्गमको अवस्था कति कारुणिक होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस