ठडिँदै विद्यालय भवन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ठडिँदै विद्यालय भवन


प्रशासन विशेष ब्युरो

४ असार २०७५, सोमबार


काठमाडौं । तीन वर्षअघिको भूकम्पमा देशभरका झण्डै आठ हजार विद्यालय भवन क्षतिग्रस्त बने । भवन क्षतिग्रस्त भएपछि थुप्रै विद्यार्थी चौर तथा अस्थायी टहरामा बसेर पढ्न बाध्य भए । अहिले भने विद्यार्थीको यो बाध्यता हट्दै गएको छ । पुनर्निर्माणले गति लिएसँगै धमाधम विद्यालय भवन निर्माण हुन थालेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अहिलेसम्म ४८ प्रतिशत विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । भवन पुनर्निर्माणसँगै विद्यार्थीहरू ‘भूकम्प प्रतिरोधी’ भवनमा बसेर पढ्न थालेका छन् ।

प्राधिकरणका अनुसार भूकम्पपछि सात हजार पाँच सय ५३ भवन पुनर्निर्माण गर्नुपर्ने देखिएको थियो । तीमध्ये तीन हजार ६ सय ३६ विद्यालय भवन बनिसकेका छन् । जसमा १३ हजार दुई सय ८५ कोठा निर्माण गरिएको छ ।

प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरे भूकम्पमा क्षतिग्रस्त भवनको पुनर्निर्माण धमाधम भइरहेको बताउँछन् । ‘अहिलेसम्म ४८ प्रतिशत भवनको पुनर्निर्माण सकिएको छ,’ उनी भन्छन् । उनका अनुसार दुई हजार ३२ विद्यालय भवनको पुनर्निर्माण भइरहेको छ ।

एक हजार आठ सय ८५ विद्यालय भवनको पुनर्निर्माण प्रक्रिया नै सुरु हुन सकेको छैन । ‘भूकम्पमा झण्डै आठ हजार विद्यालय भवन क्षतिग्रस्त बने । ती सबै एकैचोटी बनाउन सम्भव छैन । त्यसका लागि बजेटसँगै प्राविधिक काम गर्न आवश्यक हुन्छ,’ सह प्रवक्ता घिमिरेले भने, ‘त्यसैले अहिलेसम्म केही भवनको प्रक्रिया सुरु हुन नसकेको हो ।’

यस्तै, भूकम्पमा क्षतिग्रस्त बनेका ३० कलेज तथा विश्वविद्यालयका भवनमध्ये दुई सम्पन्न भएको प्राधिकरणले जनाएको छ । २१ भवनको पुनर्निर्माण भइरहेको र ७ को प्रक्रिया सुरु हुन रहेको प्राधिकरणले जनाएको छ ।

बजेटको प्रक्रियाले पनि केही भवनको पुनर्निर्माणमा ढिलाई भएको उनले बताए । ‘यद्यपि, आगामी आर्थिक वर्षदेखि पुनर्निर्माण गर्नुपर्ने विद्यालय भवनको प्रक्रिया सुरु हुन्छ,’ उनले भने । प्राधिकरणको अवधिसम्म भवन निर्माण सम्पन्न हुने उनले बताए ।

र योपनि,

धमाधम घर ठड्याउँदै भूकम्पपीडित

गति लिँदै सम्पदा पुनर्निर्माण

Tags :
प्रतिक्रिया दिनुहोस