गोत्र के हो ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गोत्र के हो ?


२ असार २०७५, शनिबार


मन्दिरमा पुजारीले सोधे ‘तिम्रो गोत्र के हो’ ?

छोडपत्रको कागज व्याग मै थियो ! श्रीमानको गोत्र भनौ भने सम्बन्ध छुट्यो कसरी भन्ने ? नभनौ भने अब आफ्नो गोत्र के हुन्छ अलमल्ल परेँ ।

बाबुले मन्त्रका साथ सारेको गोत्र कुन विधिले फिर्ता हुन्छ ? फिर्ता गर्ने पनि विधि छ कि ? मनमा कुरा खेलिरहे ! न यता न उताको जिन्दगी नारीको ! मन भतभती पोल्न थाल्यो। खासमा गोत्र कसलाई चाहिन्छ ? भगवानलाई कि पुजारीलाई ? शनिवारको दिन थियो । अशान्त मनलाई केही समय भएपनि शान्ति दिलाउन मन्दिरको ढोकामा पुगेकी थिएँ । तर समय मेरो पक्षमा रहेन। दुःखेको घाऊ फेरी बल्झाईदिए पुजारीले । अचानाको पीर खुकुरीलाई के थाहाँ ? यस्तो अफ्ठ्यारो परिस्थिति मलाई मात्र होईन धेरै नारीलाई परेको होला ।सम्झिदा दिक्क लाग्यो । के विवाह गर्दा गोत्र सार्नै पर्ने हुन्छ त ?

हाम्रो संस्कार भित्रको एउटा सवाल हो यो । अब त विवाह गर्दा गोत्र नफेरी गर्नु पर्छ जस्तो लाग्यो । मसँगै भएकी साथी सरलाका आँखा रसाएको देखेँ । मलाई भन्दा पीडा उनलाई पो भएको रहेछ। शान्ति खोज्न गएको मेरो मन झन अशान्त भयो । विवाह पद्धतिको पुस्तक लेख्नेले पारपाचुके पद्धतिको पनि पुस्तक लेखिदिनु पर्ने नि ? मेरो मनले भगवान् पुज्न भन्दा यो उल्झन सुल्झाउन जरुरी ठान्यो । पूजाको थालीको एक थुङ्गा फूल भगवानको पाउमा चढाएर पुजारीलाई केही नभनि सरासर घर आएँ । न पूजा पूर्ण रुपमा भयो न भगवानले प्रसाद पाए न पूजारीले दक्षिणा !

Tags :
प्रतिक्रिया दिनुहोस