कलकत्ता इन्टरनेशनल चिल्ड्रेन थिएटर फेस्टिभलमा नेपालको ‘उपियाँको निवन्ध’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कलकत्ता इन्टरनेशनल चिल्ड्रेन थिएटर फेस्टिभलमा नेपालको ‘उपियाँको निवन्ध’


३१ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । भारतको कलकत्ता इन्टरनेशनल चिल्ड्रेन थिएटर फेस्टिभलमा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक ‘उपियाँको निवन्ध’ मञ्चन हुने भएको छ ।

थिएटर मल, प्रेरणा विद्याश्रम हरिसिद्धि र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)को सो नाटक १८ जुन साँझ ६ बजे कलकत्तास्थित पश्चिम बंगालको एकेडेमी अफ फाइन आर्टको हलमा मञ्चन हुनेछ ।

कलकत्ताको नाट्य संस्था ‘एसो नाटक सिखी’ले आयोजना गर्ने सो नाट्य महोत्सव १७ जुनदेखि २१ जुनसम्म हुँदैछ । नेपाल, भारत, दक्षिण अफ्रिका, मेक्सिको, श्रीलंका लगायत आठ देश सहभागी हुने नाट्य महोत्सवमा १६ वटा नाटक मञ्चन हुनेछन् ।

कलकत्ता इन्टरनेशनल चिल्ड्रेन थिएटर फेस्टिभलमा नाटक ‘उपियाँको निवन्ध’को ४० औँ मञ्चन हुनेछ । यसअघि प्रेरणा विद्याश्रमले नै २०६८ मा रुसी साँस्कृतिक केन्द्र र शैली थिएटरको राष्ट्रिय बाल नाटक महोत्सवमा पहिलोपटक मञ्चन गरेको थियो । त्यस्तै २०६९ मा मण्डला थिएटरमा भएको बालनाटक मेलामा चार मञ्चन भएको थियो ।

नियमित मञ्चनको रुपमा थिएटर सेन्टर फर चिल्ड्रेन नेपालले २०७३ मा थिएटर मल नाटकघरमा व्यवसायिक कलाकारका साथमा ३४ मञ्चन गरेको थियो ।

स्कुले परिवेशको कथालाई हाँस्यव्यंग्य शैलीमा प्रस्तुत गरिएको नाटक ‘उपियाँको निबन्ध’मा लौरी बोकेर कक्षा लिने नेपाली शिक्षकले नमूनाका रुपमा लेखिदिएको ‘उपियाँ’ शीर्षकको निबन्ध लेखिदिन्छन् । त्यही निबन्ध मानक मानेर अन्य निबन्ध लेख्ने विद्यार्थीको कथा नाटकले प्रस्तुत गरेको छ ।

कलकत्तामा प्रेरणा विद्याश्रमका विद्यार्थीहरु सकिना, किर्ती, जब्बु, सर्जिला, दिया, योगेश, एलेक्स, आयुश, अडिन, कृष्णा, रोनिक महर्जन, निर्देश केसी र लुमन्ती डंगोलले अभिनय गर्नेछन् । २० जनाको नाट्य टोली विहिबार महोत्सवमा सहभगी हुन भारततर्फ प्रस्थान गर्दैछ ।

नेपालबाट गार्डेन थिएटरको चे शंकर निर्देशित नाटक ‘मिस्टर फक्स एण्ड स्कुल बोय’को टोली पनि सो महोत्सवको लागि भारत प्रस्थान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस