कर्मचारीलाई तोकिएको कार्यक्षेत्रमा पठाउन ताकेता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीलाई तोकिएको कार्यक्षेत्रमा पठाउन ताकेता


२९ जेष्ठ २०७५, मंगलबार


समायोजन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको कार्यक्षेत्रमा नखटिने कर्मचारीलाई २४ घण्टाभित्र रमाना दिएर हाजिर हुन पठाउन सम्बन्धित निकायलाई ताकेता गरेको छ ।
मन्त्री लालबाबु पण्डितको निर्णयअनुसार मन्त्रालयले १७ मन्त्रालय र योजना आयोगलाई पत्रमार्फत ताकेता गरेको हो ।

यसअघि स्थानीय तहमा कर्मचारी नपुगेको गुनासो आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको कार्यक्षेत्रमा खटिएका कर्मचारीलाई रमाना दिएर पठाउन पटक–पटक मन्त्रालयहरूको ध्यानाकर्षण गराउँदै आएका थिए ।

तर, पनि निर्देशन कार्यान्वयन नभएपछि मन्त्रालयले १८ निकायलाई ताकेता गरेको हो ।

मन्त्रालयले अर्थ, उद्योग वाणिज्य, ऊर्जा, सिँचाइ तथा जलस्रोत, कृषि, भूमिसुधार, खानेपानी, गृह, परराष्ट्र, भौतिक पूर्वाधार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, शिक्षा, श्रम रोजगार, पर्यटन, सञ्चार, सहरी विकास र स्वास्थ्य मन्त्रालय तथा योजना आयोगलाई पत्र पठाएको छ ।

‘कार्यालय प्रमुखले समयमा रमाना नदिने र रमाना लिइसकेका कर्मचारीसमेत अटेर गरी समयमा तोकिएको कार्यक्षेत्रमा नजाने प्रवृत्ति देखिएको छ, त्यसैले २४ घण्टाभित्र हाजिर हुन पठाउन अनुरोध छ,’ पत्रमा भनिएको छ ।

सरुवा भएर पनि तोकिएको ठाउँमा नजाने कर्मचारीलाई विभागीय कारबाही गर्ने तयारी गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । ‘सम्बन्धित मन्त्रालयलाई सरुवा भएका कर्मचारीलाई पठाउन अन्तिम पटक २४ घण्टे पत्र पठाएका छौं । अब पनि कर्मचारी नगए विभागीय कारबाही थाल्छौं,’ उनले भने ।

मुलुकभरका सात सय ५३ स्थानीय तहमा ५७ हजारदेखि ६० हजार कर्मचारी आवश्यक पर्ने देखिन्छ । त्यसमध्ये ४० हजार कर्मचारी खटाइसकिएको मन्त्रालयले जनाएको छ ।
बाँकी कर्मचारीलाई असारभित्र परिचालन गर्न मन्त्री पण्डितले निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस