अनमी नहुँदा बर्थिङ सेन्टर बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अनमी नहुँदा बर्थिङ सेन्टर बन्द


२९ जेष्ठ २०७५, मंगलबार


जाजरकोट । जााजरकोटको छेडागाड नगरपालिकाको दशेरा स्वास्थ्य चौकीमा अनमी नहुँदा बर्थिङ सेन्टर बन्द भएको छ ।

सुरक्षित सुत्केरी हुन सेन्टरमा आएपनि अनमी नहुँदा सेवा प्रवाहमा समस्या भएको छेडागाड नगरपालिका स्वास्थ्य शाखाका प्रमुख भीमराज सिंहले जानकारी दिए । स्वास्थ्य चौकीमा दुई जना अनमीको दरबन्दी हुनुपर्ने भएपनि हाल एकवटा मात्र दरबन्दी रहेको छ ।

सो दरबन्दीमा कार्यरत अनमी प्रतिभा थापालाई काजमा दैलेख सरुवा गरिएपछि अहिले यहाँको बर्थिङ सेन्टर बन्द भएको हो । अस्थायीरुपमा काम गर्दै आएकी अनमी अविसरा शाही पढाइका लागि बिदामा बसेको दशेरा स्वास्थ्य चौकीका प्रमुख रामबहादुर थापाले जानकारी दिए ।

जेठ २३ गतेदेखि अहिलेसम्म दशेरा अनमीविहीन भएकाले बर्थिङ सेन्टर बन्द हुन पुगेको हो । स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा दुईजना अनिवार्य अनमीको दरबन्दी हुनुपर्ने भएपनि अहिले स्वास्थ्य चौकी अनमीविहीन भएको छ । पटकपटक अनमीको दरबन्दी थप गर्न मन्त्रालय, विभागमा माग गरेपनि सुनुवाइ नभएको प्रमुख थापाले बताइन् ।

स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिला अहिले सेवा नपाउँदा मर्कामा परेको छेडागाड नगरपालिका दशेराकी प्रेमकला अधिकारीले बताइन् । छेडागाड नगरपालिकाका प्रशासकीय प्रमुख सर्वदल शाहीले यो बारेमा बुझेर समस्या समाधान गर्ने बताए ।

अहिले स्वास्थ्यकर्मीको सरुवा, काजमा पठाउने जिम्मा स्थानीय सरकारलाई नै दिइएको छ । जाजरकोटका सातवटा तहमा यहाँका सबै स्वास्थ्य संस्था हस्तान्तरण भइसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस