विमानस्थल गौचरन बन्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विमानस्थल गौचरन बन्दै


२८ जेष्ठ २०७५, सोमबार


दाङ । यहाँको विमानस्थलमा उडान हुन छाडेपछि गौचरन बनेको छ । टरिगाउँ विमानस्थलमा उडान बन्द भएपछि हाल यहाँकावासिन्दाले विमानस्थलभित्र पशुचौपाया चराउने थलोका रुपमा उपयोग गर्न थालेका हुन् ।

वि.सं. २०११ फागुन ११ गते परीक्षण उडान गरिएको यस विमानस्थलमा २०१६ सालदेखि नेपाल वायु सेवा निगमको जहाजले उडान भर्दै आएको थियो ।

त्यसपछि २०५२ सालमा नेपाल एयरलाइन्सले उडान भरे पनि इन्धन अभाव देखाउँदै चार महिनामै उडान बन्द गरेको थियो । वि.सं. २०६० मा नेपाल वायु सेवा निगम, यति र सीता एयरलाइन्सले हप्तामा एक दिन भए पनि लगातार छ वर्षसम्म उडान भरेका थिए । विमानस्थल कालोपत्रे गर्न थालेपछि यो विमानस्थल चार वर्षसम्म बन्द भएको थियो ।

कालोपत्रे सकिएपछि तुलसीपुर उद्योग वाणिज्य संघको पहल र समन्वयमा गोमा एयरले २०७२ सालमा नौ महिनासम्म उडान भरेको थियो । यात्रु अभाव देखाउँदै फेरि सेवा रोकिएको थियो । यसपटक पनि यहाँ उडान भर्दै आएको समिट एयरलाइन्सले पनि यात्रु अभावको कारण देखाउँदै उडान रोकेको छ ।

पटक पटक बन्द हुँदै सञ्चालन हुँदै आएको विमानस्थल कालोपत्रेपछि नियमित हुने आशामा बसेका दाङवासीको आशा अझै पूरा हुन सकेको छैन । पछिल्लो समयमा घाँसेमैदान हवाईमैदान बनाउन १० करोडको लगानीमा ७०० मिटर धावनमार्ग कालोपत्रे भएको थियो । विमानस्थल सानो भएकाले ठूला विमान अवतरण गर्न नसक्ने भन्दै त्यसको स्तरोन्नतिका लागि पहल गर्नुपर्ने स्थानीयवासीले माग गरिरहेका बेला सरकारको बजेट वक्तव्यले नछोएपछि उनीहरू आक्रोशित भएका छन् ।

जनप्रतिनिधिहरु निर्वाचित भएपछि तुलसीपुर उपमहानगरपालिकाले २०७४ पुस १९ गते बाजागाजासहित पहिलोपटक समिट एयरसँग सम्झौता गरी विमान सञ्चालन गरेको थियो ।

पटक–पटक सञ्चालन र बन्द हुँदै आएको विमान सेवा बन्द भएपछि यहाँका स्थानीयवासीले फेरि नेपालगञ्जबाटै विमान सेवा उपभोग गर्नुपर्ने बाध्यता भएको छ । तुलसीपुर उपमहानगरपालिका र समिट एयरबीच गत पुसमा प्रतियात्रु सात हजार २०० भाडा लिने सहमति भएको थियो । सोही सहमतिअनुसार १९ पुसमा समिट एयरले पहिलोपटक दाङको टरीगाउँ हवाईमैदानबाट उडान भरेको थियो । इन्धनको मूल्य वृद्धि भएको भन्दै समिट एयरले प्रतियात्रु दुई हजार ६८० एकतर्फीरुपमा भाडामा वृद्धि गरेपछि तुलसीपुर उपमहानगरपालिकाले समन्वय गर्न छोडेको छ ।

भाडा वृद्धिसँगै यात्रु पाइन छोडेपछि गएको जेठ १३ र २० गते समिट एयरले उडान भर्न सकेन । समिट एयरले हप्तामा आइतबार र बुधबार दुईपटक उडान भर्ने सहमति गरे पनि पछिल्लो समय आएर आइतबारमात्रै उडान भर्दै आएको थियो । हप्तामा एकपटक उडान भर्दै आएको समिट एयरले पुसदेखि जेठसम्म छ महिनाको अवधिमा तीनपटक उडान रद्द गरेको सूचना अधिकारी खरेलले बताए । नियमित उडान पनि नहुने, महँगो भाडादरले हवाईसेवा सञ्चालन गर्न निकै कठिनाइ र समस्या भएको उपमहानगरपालिकाले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आपसी सहमतिका आधारमा गरिएको सम्झौताविपरीत काम गर्नु राम्रो नभएको भन्दै पुनर्विचारका लागि विमान कम्पनीलाई अनुरोध गर्ने बताए । सम्झौताअनुसार काम नभए नयाँ र धेरै विमान भएको विमान कम्पनीसँग समन्वय गरेर उडान सेवा सञ्चालन गर्ने उनले जानकारी दिए ।

विभिन्न समयमा हुने संघसंस्था होस् वा अन्य निर्वाचनमा नेताहरुले विमानस्थललाई चुनावी नारा गराए पनि नियमित विमान सेवा सञ्चालन र विमानस्थलको स्तरोन्नतिमा भने कसैले पनि ठोस कदम नचालेको स्थानीय निमकुमार श्रेष्ठले बताउनुभयो । यहाँ आउने विभिन्न दलका नेता तथा मन्त्रीहरुले विमानस्थल सबै किसिमले उपयुक्त भएकाले नियमित विमान सञ्चालन गर्ने प्रतिबद्धता भने व्यक्त गर्न छोडको छैनन ।

प्रतिक्रिया दिनुहोस