अंगरक्षकलाई कोट बोकाउने मन्त्रीको आलोचना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अंगरक्षकलाई कोट बोकाउने मन्त्रीको आलोचना


२७ जेष्ठ २०७५, आइतबार


काठमाडौं । कफी पोखिएपछि भुइँ सफा गरेको भिडियो सार्वजनिक हुँदा नेदरल्यान्डका प्रधानमन्त्रीको विश्वभर वाहवाहीे छ । नेपालका एक मन्त्रीले भने अंगरक्षकलाई छाता ओढाउन र कोट बोक्न लगाएपछि आलोचना खेप्दै छन् ।

सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा खोजी गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आफ्ना अंगरक्षकलाई छाता ओढाउन र कोट बोक्न लगाएको समाचार टेलिभिजनमा प्रशारण भएको थियो । त्यसपछि उनको सामाजिक सञ्जालमा आलोचना भएको छ । केही समयअघि पनि पशुपतिको सवारी निषेधित क्षेत्रमा गाडी राखेको भन्दै उनको आलोचना भएको थियो ।

अधिकारी वर्तमान सरकारका आशलाग्दा र युवामाझ लोकप्रिय मन्त्री मानिन्छन् । तर, उनको यो व्यवहारले निरास बनाएको सामाजिक सञ्जालका प्रयोगकर्ताले बताएका छन् ।

टेकनारायण भट्टराईले फेसबुकमा स्टाटस लेखेका छन्, ‘समस्या शासन व्यवस्था, राज्य प्रणाली, संविधान वा भूगोलको हैन, समस्या हाम्रो सोच र व्यवहारकै हो । अंग रक्षकले मन्त्रीलाई छाता ओढाउनुपर्ने, कोट बोकिदिनु पर्ने ? मैले सम्मान गर्ने मध्येका एक तपाईँको यो दृश्य अति नै नमिठो लाग्यो मन्त्रीज्यू !’

भट्टराईको स्टाटसमा आचार्य सन्तोषले कमेन्ट गरेका छन्, ‘सत्ताबाहिर रहँदा जनताका पक्षमा राम्रा र मन लोभ्याउने कुरा गर्ने र सत्तामा पुगेपछि त्यसको ठीकविपरित गर्ने नेपाली राजनीतिकहरूको नियती नै हो र ? के मन्त्री अधिकारी आफ्नै हातले छाता समात्न नसक्ने हुन् र ?’

मनी भट्टराईले लेखेका छन्, ‘सेनाहरू कहिले ठूलाबडाका जुत्ता बोक्न, कहिले मन्त्रीका कोट बोक्न र छाता ओढाउन किन प्रयोग हुन्छन् ?’

सुजाता श्रेष्ठले लेखेकी छन्, ‘छाता बोकाएको त गलत थियो नै, आफ्नो कोट नै सेनालाई बोकाएको देख्दा एउटा सर्वहारा वर्गको नेताको सामन्ती व्यवहारझैँ लाग्यो ।’

मन्त्रीले मन्त्रालयका काम मात्रै होइन, दैनिकीमा समेत हेक्का राख्नुपर्छ । ताकी आम नागरिक उत्प्रेरित बन्न सकोस् । अन्यथा आलोचित हुनुपर्ने अवस्था आउन सक्छ । यसतर्फ ध्यान दिने कि मन्त्रीज्यू ।

प्रतिक्रिया पढ्नका लागि भिडियो प्ले गर्नुहोस् र दायाँतर्फ तलपट्टि रहेको फेसबुकको लोगोमा क्लिक गर्नुहोस्

Tags :
प्रतिक्रिया दिनुहोस