हरिकङ्गाल नेताज्यू « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हरिकङ्गाल नेताज्यू


प्रशासन विशेष ब्युरो

२६ जेष्ठ २०७५, शनिबार


सुटेड बुटेड नेताज्यूको मोहक कुराकानी।
सुशासनको नारा दिइ धन कमाउने बानी।
पेशा व्यवसाय केही नगर्ने सम्पत्ति अकुत।
भ्रष्टाचारीलाई ठेगान लाउने जन्मेन सपुत।

दुई नम्बरी कमाइ आफ्नो नातेदारको नाम।
ठेलीका ठेली नियम कानुन गर्दैन नि काम।
हरिकङ्गाल नेताज्यू हाम्रा म्याडम खर्बपति।
गाई चराउने जेठान साला ससुरा अर्बपति।

सार्वजनिक नै शंका लाग्ने लुकाइयो कति।
दिन दुई गुणा रात चौगुना बढेको सम्पत्ति।
गरीब घरमा जन्मिएको ससुराली सम्पन्न।
पैसा भए झन सजिलो जनप्रतिनिधि बन्न।

सम्पत्तिको स्रोत सबैले देखाउँछन दहेज।
दहेज लिनु गैरकानुनी कसले गर्छ परहेज।
सम्पत्तिमा कुकुर बिरालो बिग्रेको सेलफोन।
छानबिन गर्ने कसले होला अधिकारी मौन।

मिडिया भरि सम्पत्तिको समाचार फैलियो।
शुन्य सहनशील सरकारको इमान मैलियो।
सतिको श्रापले होइन भ्रष्टाचारको कमाल।
सदाचारी बाँच्नै गार्हो बदमास मालामाल।

मासु भातमा भोट फाल्नु जनताको दोष।
देश पुग्यो रसातलमा कहिले खुल्छ होस।
मह काटने आफैं खाने जनताको विजोग।
समय आयो उपचार खोजौँ यो सरुवा रोग।

प्रतिक्रिया दिनुहोस