ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने ७५ पुगे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने ७५ पुगे


२३ जेष्ठ २०७५, बुधबार


ग्वाटेमाला । ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बुधबार बिहानसम्म ७५ पुगेको समाचार छ ।

यस प्रकोपको कारण अझै पनि करिब २०० व्यक्ति वेपत्ता रहेका उद्धारमा खटिरहेका अधिकारीले जानकारी दिएका छन् ।

राजधानी शहरनजिकैको एक स्थानमा भएको यो ज्वालामूखी विस्फोट एक शताब्दियता कै शक्तिशाली भएको पुष्टि गरिएको छ । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीले जनाएका छन् ।

मङ्गलबार र बुधबार बिहान केही थप शव फेला परेपछि सो सङ्ख्या ७५ पुगेको र अझै ठूलो सङ्ख्याका नागरिक हराइरहेका मध्यअमेरिकी देश ग्वाटेमालाको विपद्सम्बन्धी निकायले जानकारी दिएको छ ।

ग्वाटेमाला सिटीभन्दा ३५ किलोमिटर पर रहेको उक्त क्षेत्रमा तीव्र वेगमा तातो खरानी र लाभाबाट जोगाउन हजारौको सङ्ख्याका व्यक्तिलाई उद्धार गरिएको जनाइएको छ ।

उद्धार गरी सुरक्षित स्थानमा पु-याइएका कैयौँ व्यक्तिले आफ्ना आफन्त हराइरहेको गुनासो गरेका छन् । विस्फोटमा करिब १०० भन्दाबढी घाइते भएका र उनीहरुको उपचार जारी रहेको छ ।

आइतबार राति भएको यस प्रकोपमा परी कम्तीमा पनि १७ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । तीमध्ये करिब चार हजारलाई शरणार्थी शिविरमा सारिएको बताइएको छ ।

सेना र प्रहरीले उद्धारको काम जारी रहेको छ, उनीहरुको सहयोगमा ठूलो सङ्ख्याका स्थानीयलाई पनि अन्यत्रै सारिएको जनाइएको छ ।

ज्वालामुखीबाट ठूलो परिमाणमा भग्नावशेष र चट्टानसहितको लेदो बग्ने क्रम बुधबारसम्म पनि रोकिएको छैन । यस्तो भेल मानवस्वास्थ्यका लागि घातक हुनसक्ने जानकारी स्थानीय रेडियोहरुले दिइरहेका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस