कार्तिक २ गते, २०७५

बिहानको घामले भिटामिन डी दिँदैन

उपत्यकामा बसोबास गर्ने हरेक पाँच जनामध्ये चारमा भिटामिन डीको कमी रहेको तथ्य यसअघि नै बाहिर आइसकेको छ । हामीकहाँ एउटा अर्को मान्यता पनि छ कि भिटामिन डीका लागि बिहानको घाम सबैभन्दा उत्तम । तर, बिहानको घाममा भिटामिन डी नहुने अर्थात एकमदै न्यून रहने विशेषज्ञको राय छ । कतिबेलाको घाममा पाइन्छ त भिटामिन डी ? क्रोनिक ब्याक पेन एक्सपर्ट डा. सुनिल पौडेलसँगको कुराकानी ।

भिटामिन डीका लागि बिहानको घाम सबैभन्दा उत्तम भनिँदै आएको थियो । तर, तपाईँले बिहानको घाममा भिटामिन डी नै नपाउने भन्नुहुन्छ त ?
हो, काठमाडौं जस्तो प्रदुषित ठाउँमा बिहानको घामबाट भिटामिन डी पाउन एकदमै गाह्रो छ ।

तथ्य १: छालामा युभिबी नामक सूर्यका किरणहरू पर्दा भिटामिन डी पैदा हुन्छ । तर, बिहान तथा बेलुकाको सूर्य किरणमा यो एकदमै कम हुन्छ । यस सम्बन्धि रिसर्चबाट बनाइएको यो ग्राफमा हेर्नुस् त । स्पष्ट देखिन्छ कि बिहान ८ बजेअघि र बेलुका ४ बजेपछि युभिबी एकदमै न्युन मात्रामा देखिएको छ । ग्राफमा बिहान तथा बेलुका न्यून र १२ बजेतिरको घाममा सबैभन्दा बढी युभिबि पाइएको देखिएको छ ।

तथ्य २: काठमाडौं भनेको नेपालको मात्र होइन, विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये पर्छ । अनुसन्धानहरूलाई हेर्ने हो भने प्रदूषण भएका ठाउँमा युभिबी किरण छिर्न गाह्रो हुन्छ । अनुसन्धानले काठमाडौंमा बिहान सबैभन्दा बढी प्रदूषण हुने देखाएको छ । साधारण प्रदूषणले त युभिबी किरणहरू छिर्न दिँदैन भने बढी प्रदूषण भएको बेला भिटामिन डी पैदा हुन सक्ने त कुरै नै भएन । पैदा भए पनि एकदमै न्युन मात्रामा हुन्छ ।

माथिका यी दुई तथ्यहरूलाई हेर्दा काठमाडौं जस्ता सहरमा बिहान–बेलुका घाम तापेर भिटामिन पाउन सकिँदैन वा एकदमै न्युन फाइदा मात्र हुन्छ । एकदमै सफा र प्रदूषणविहिन गाउँघरमा भने बिहान घाम तापेर थोरबहुत भिटामिन डी पैदा हुन सक्छ ।

 

त्यसो भए भिटामिन डी पाउन कुन समयमा घाम ताप्नु उपयुक्त हुन्छ ?
भिटामिन डी पाउन बिहान १० देखि दिउँसो २ बजेको घाम ताप्नु सबैभन्दा उपयुक्त हुन्छ । अझ १२ बजेतिरको घाम सबैभन्दा उपयुक्त हुन्छ । यो कुरा ग्राफले पनि प्रमाणित गर्छ । तर, १२ बजेको घामले चाडै डढाउन सक्छ, त्यसबाट भने बच्नुपर्छ तर डढाउँछ भनेर सनस्क्रिन क्रिम वा लोसन लगाएर भने कहिलै घाम ताप्न हुदैंन ।

दिउँसो १२ बजेको घाम सबैभन्दा उत्तम भन्नुहुन्छ, फेरी चाँडै डढ्ने पनि कुरा गर्नुहुन्छ ? कसरी ताप्ने त ?
पहिलो कुरा त पूरै डढ्ने गरी घाम ताप्ने होइन । हप्ताको एक दिन नडढ्ने गरी घाम ताप्नुपर्याे । काठमाडौंमा एक घन्टा घाम ताप्दैमा आम मान्छे डढ्दैन ।

दोस्रो कुरा, गोरो वर्ण वा सेतो छाला भएका मानिसले घाम ताप्दा युभिबी किरणले गर्दा कोषहरू मर्ने र चाडै डढ्ने हुन्छ । त्यति मात्र होइन, ती व्यक्तिहरूलाई अत्याधिक युभिबिले गर्दा छालाको क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ । आम नेपालीमा त्यस्तो छैन । त्यसैले हामी निर्धक्क भएर घाम ताप्न सक्छौं ।

उपत्यका जस्तो व्यस्त सहरमा बसोबास गर्ने मानिसहरूले, त्यो पनि दिउँसो १२ बजे कसरी मज्जाले घाम तापेर बस्न कतिको सम्भव होला र ?
त्यही कारण मैले हप्तामा एक दिनको फर्मुला निकालेको हो । हप्तामा एक दिन त सबैको छुट्टी हुन्छ । एक दिनमा एक घन्टा त जोसुकैले पनि समय निकाल्न सक्छन् । त्यो दिन घाममा बसेर साँधेको भोगटे खानुहोस् अथवा खाजा वा खाना खादैं मजाले घाममा पल्टिनुहोस् । यस्सँगै अन्य चिजमा पनि ख्याल राख्नुपर्ने हुन्छ ।

त्यो अन्य चिज के हो फेरी ?
हामीले ध्यान दिनुपर्ने कुरा के हो भने जसरी प्रदूषण भयो भने युभिबी किरण छिर्न सक्दैनन् । त्यस्तै, सिसाबाट पनि यी किरण पस्न सक्दैनन् । त्यसैले सिसाभित्र घाम तापेर पनि भएन । घाम ताप्दा कपडा खोलेको नांगो छाला हुनुपर्याे र प्रत्यक्ष सूर्यको किरणमुनि बस्नुपर्याे ।

बादल लागेको बेला पनि भिटामिन डी कम पाइन्छ । त्यसकारण अत्यधिक प्रदूषण र बादल लागेका बेला घाम तापेर फाइदा हुँदैन ।

कतिले घाम ताप्दा डढिएला भनेर सन स्क्रिन लोसनको प्रयोग गर्छन् । पछिल्लो समय सनस्क्रिनमा एसपिएफ ७५ वा एसपिएफ १५० प्रयोग भइरहेको छ । एसपिएफ टु प्रयोग गर्दा पनि ९८ प्रतिशत युभिबी किरण रोकिदिन्छ भने अब १५० को के होला ? त्यसैले यसको प्रयोगले शरीरमा भिटामिन डी पैदा हुन पाउँदैन । त्यसकारण सनस्क्रिन लगाएर घाम ताप्नुको फाइदा छैन ।

यहाँले भनेजस्तै पाँच जनामध्ये चारमा भिटामिन डीको कमी रहेका बिरामीहरूमध्ये सबैले घामै तापेर बस्न नसक्ने अवस्था पनि हुनसक्छ, तिनका लागि के छ उपाय ?
घाम ताप्नै नसक्ने व्यक्तिले भिटामिन डी औषधी खान पनि सक्नुहुन्छ । यो विभिन्न डोजमा पाइन्छ– दैनिक, हप्ता तथा महिनामा एक पटक खाने वा इन्जेक्टेबल्स । विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार औषधी खानुपर्छ । तर, हामीले के याद राख्नुपर्याे भने भिटामिन डी औषधीले घामको काम गर्ने होइन । घामका थुप्रै फाइदा छन् । तर, भिटामिन डी खाँदा एउटा मात्र फाइदा हुन्छ । त्यो हो, भिटामिन डीको सप्लिमेन्टेसन । त्यसकारण भिटामिन डी औषधीले घामको होइन, भिटामिन डीको परिपूर्ति मात्र गर्दछ ।

भिटामिन डी औषधी खाँदा पनि भिटामिन डी नबढेका केस सुनिन्छन् नि ?
एकदम सही हो, भिटामिन डी औषधी खाने सही तरिकाबारे बिरामीलाई थाहा छैन । यसबारे कतिपय डाक्टरहरूलाई पनि थाहा छैन । भिटामिन डी चिल्लोमा मात्र घुल्न सक्ने भिटामिन हो । यदि भिटामिन डी चिल्लो पदार्थसँग खाएनौं भने शरीरले ग्रहण नगर्न पनि सक्छ । मसँग त्यस्ता बिरामीहरू छन्, जस्को भिटामिन डि को लेभल १२ जति थियो, वहाँलाई दुई महिनासम्म हरेक हप्ता भिटामिन डी खान दिइयो । तर, दुई महिनापछि उहाँहरूको शरीरमा भिटामिन डी बढ्नुको साटो उल्टो घटेर ८ पो पुग्यो । खाली पेटमा पानीसँग औषधी खाँदा यस्तो भएको रहेछ । त्यसकारण औषधी खान नजान्दा पनि शरीरमा भिटामिन डीको मात्रा घट्न सक्छ ।

भिटामिन डी औषधी खानामा चिल्लो पदार्थसँग खाँदा राम्रो हुन्छ, जस्तै: बाक्लो तर भएको दुध, दही अथवा घिउ आदि । अनि मात्रै शरीरले राम्ररी भिटामिन डी ग्रहण गर्न सक्छ । भिटामिन डी औषधी खाँदा अलिकति चिल्लो खानु एकदमै जरुरी हुन्छ । यो चिल्लो खानाको तुरुन्तै पछि पानीसँग समेत खान सकिन्छ ।

डा. सुनिल पौडेललाईअर्थाेन्यूरो हेल्थ केयरः लगनखेल वा बागबजारको साथै कीर्तिपुरमा पनि भेट्न सकिन्छ । हटलाइन ९७४१३३३००९

जेष्ठ १८ गते, २०७५ - १२ः२३ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

underhealth
gsdfs dfg