एक भारी दाउरा लगेपछि विद्यालयमा वर्षभरि खाजा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एक भारी दाउरा लगेपछि विद्यालयमा वर्षभरि खाजा


१३ जेष्ठ २०७५, आइतबार


धादिङ । विद्यालयमा दाउरा लानुपर्ने त होइन । विद्यालयले दाउरा किन्ने पनि होइन तर थाक्रे गाउँपालिका वडा नं ५ की निरमायाँ तामाङले एक भारी दाउरा विद्यालयमा लगिन् ।

दाउरा विद्यालयमा लगेपछि उनी खुशी हुँदै छोराका लागि यति काम त गर्न सकियो नि । उनका छोरा कक्षा ५मा भर्ना भएका छन् । विद्यालयले खाजा खुवाउने व्यवस्था गरेपछि अभिभावकले एक भारी दाउरा विद्यालयमा लानुपर्ने नियम बनाइएको छ ।

उक्त वडामा रहेको शिवशंकर आधारभूत विद्यालयमा खाजा कार्यक्रम सञ्चालित छ । १०१ विद्यार्थी भर्ना भएको विद्यालयमा हरेक अभिभावकले वर्षमा एकपटक एक भारी दाउरा लैजानुपर्छ ।

सन्तुलित भोजनअनुसार चना, फूल, चिउरा, फलफूल, गेडागुडी, मासु चिउराजस्ता दिनदिनै भिन्न खाजा विद्यालयका सबै विद्यार्थीलाई खुवाउने व्यवस्था छ । विद्यालयको खाजा कार्यक्रमपछि यसतर्फ विद्यार्थीको समेत आकर्षण बढेको विद्यालयका शिक्षक मुना लामाले बताइन्।

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुने भएकाले पनि निजी विद्यालयसँग प्रतिष्पर्धा गर्दै गरीबका छोराछोरी पढाउन लागिपरेको विद्यालय प्रशासनको भनाइ थियो ।

विद्यालयले कुनै शुल्क लिँदैन । भर्ना गर्दा, परीक्षा लिँदा वा महिनामा कुनै पनि बहानामा विद्यार्थीसँग पैसा नलिने तर अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्ने प्रतिबद्धताका साथ अघि बढेको शिक्षक लामाले बताइन् । रासस

प्रतिक्रिया दिनुहोस