छिटोछरितो र सहजरूपमा सेवा दिइरहेका छौं « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

छिटोछरितो र सहजरूपमा सेवा दिइरहेका छौं


१३ जेष्ठ २०७५, आइतबार


स्थानीय तहमा जनप्रतिनिधि आएको लगभग एक वर्ष भइसकेको छ । त्यस अवधिमा के–के काम भए ? सुशासन, सेवाप्रवाह र विकास निर्माणलाई प्रभावकारी बनाउन के–के गर्दैछन् ? यही सेरोफेरोमा रही रूपन्देहीको सैनाबैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीसँग प्रशासन डट कमले गरेको कुराकानी ।

जनतासँग गरेका प्रतिबद्धता के–के पूरा गर्नुभयो ?
जनतासँग चक्रपथ बनाउने प्रतिबद्धता गरेको थिएँ । त्यसै अनुसार चक्रपथको १५–१६ किलोमिटर ट्रयाक खोलेर जेठ मसान्तभित्र ग्राभेल गर्दैछौं । त्यसैगरी विद्युत सब स्टेसन निर्माणको अनुमति लिएर काम गर्दैछौं ।

हाम्रो नगरपालिकामा फोहोरमैलाको ठूलो समस्या थियो । अहिलेसम्म फोहोर उठ्न सकेको थिएन । हामीले यही जेठ ६ गतेदेखि व्यवस्थितरूपमा फोहोरमैला संकलन र व्यवस्थापनको काम सुरु गरेका छौं । विद्यालय सुधारको योजनाअन्तर्गत विद्यालयलाई व्यवस्थित रूपमा कार्यक्रम र बजेटसहित उपलब्ध गराएका छौं । स्वास्थ्यको क्षेत्रमा तीनवटै हेल्थ सेन्टरबाट निःशुल्करूपमा सेवा सुविधा उपलब्ध गराइरहेका छौं । सर्पदंश अस्पतालको स्थापनाका लागि भवन निर्माण अन्तिम चरणमा पुगेको छ । अबको दुई–तीन महिनाभित्रै त्यहाँबाट डाक्टरसहितको सेवा आरम्भ हुनेछ । तीन वटा पुलको डिपिआर अन्तिम चरणमा पुर्याएका छौं । गत आर्थिक वर्षमा राजस्व संकलनमा अनुमान गरेको रकममध्ये सत प्रतिशत संकलन गर्न सफल भएका छौं ।

सुशासन र सेवाप्रवाहको हिसाबले हेर्ने हो भने भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता अपनाउने नीति कार्यान्वयन भएको छ । कतै अनियमित भएको छ भनेर ठोकुवै गर्न नसके पनि धेरै हदसम्म न्यूनीकरण भएको अवस्था छ । यसबारे अहिलेसम्म केही सुनिएको छैन । यस्तो अवस्थामा छिटोछरितो र सहज रूपमा सेवा उपलब्ध गराएका छौं ।

जस्तो यहाँले सेवाप्रवाह र सुशासनको कुरा गर्नुभयो, स्थानीय तहमा सेवाप्रवाह र विकास निर्माणलाई प्रभावकारी बनाउन के–के काम गरिरहनुभएको छ ?
हामीले व्यक्तिगत घटना (पञ्जीकरण)देखि लिएर सबै काम अनलाइनमार्फत् गरिरहेका छौं । यस्तै रेकर्ड अपडेड पनि अनलाइनबाटै गरिरहेका छौं । नगरबाट प्रवाह हुने सेवा पारदर्शी, छिटोछरितो र प्रभावकारी बनाउने हाम्रो प्रयास काम गरिरहेका छौं । नगरको गुरुयोजना बनाउने चरणमा रहेकाले ५० लाख रूपैयाँमा प्राविधिकको टोली आउँदै छ । गुरुयोजना बनिसकेपछि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार भएपछि काम गर्न जति सहज हुन्छ, त्यति सहज त छैन । तर, भोलिका दिनमा केही समयपछि बन्ने गुरुयोजनामा मेल खाने गरी हामीले सेवाप्रवाहलाई अघि बढाएका छौं ।

कतिपय नगरमा कर्मचारी अभावले कामकाजमा समस्या देखिएका छ, तपाईँको नगरमा कर्मचारी अभावको समस्या छ कि छैन ?
हामीकहाँ ७५ जनाको दरबन्दी छ । तर, ३०–३५ जना मात्रै कार्यरत हुनुहुन्छ । दरबन्दीको आधा मात्रै कर्मचारी भएकाले केही समस्या देखिएको छ । यद्यपि, यो देशभरका स्थानीय तहकै समस्या हो ।

स्थानीय तहमा विभिन्न कार्यालयमा काम गरेका कर्मचारी हुनुहुन्छ, उहाँहरूका लागि स्थानीय तहको काम नयाँ छ । अर्काे कुरा, आजको काम गर्ने प्रविधिसँग कतिपय कर्मचारी साथीहरू अपडेट छैनन् । कर्मचारीको संख्या धेरै भन्दा पनि अलिकति डाइनामिक वा प्रतिभाशाली सबै काम जानेको कर्मचारी हुँदा थोरै कर्मचारी भए पनि काम गर्न सहज हुन्छ । तर, काम राम्रोसँग नजानेका कर्मचारी धेरै भए पनि हुन्न छ । हामीकहाँ संख्या नै कम भएकाले पनि केही समस्याहरू छन् । खास ठूलो समस्या के हो भने सिंहदरवारको अधिकार गाउँमा गएको भनिएको छ । गाउँमा अधिकार आएको पनि छ । तर, शासकीय हिसावले अहिले पनि संक्रमणकाल छ । कतिपयको मानसिकतामा अझै संघीयता आइसकेको छैन । यसले समस्या देखिन्छ । त्यकारणले अधिकार तल आए पनि सहजीकरण तल आइसकेको छैन । त्यसकारणले जिल्लामा सहजीकरणका लागि बसेका अड्डाहरूलाई हस्तान्तरण गरेर पठाउनुपर्ने हो त्यो हुन नसक्दाखेरी केही सेवा तल आइसक्दा पनी अझै सुचारु हुन सकेका छैनन् ।

यहाँले कर्मचारी अभाव र आधुनिक प्रविधिसँग अभ्यस्त हुन नसकेको कुरा भन्नुभयो, यस्तो अवस्थामा कसरी गुणस्तरीय सेवाप्रवाह गर्न सकिन्छ ?
होइन, यो हामीले तुलना गरेको हो, हिजोसँग । हिजोको तुलनामा आज धेरै कुरा राम्रो छ । तर, हामीले जुन खालको पारदर्शी, सुशासनयुक्त प्रशासनको कुरा गरेका थियौं त्यसका लागि दक्ष जनशक्तिको आवश्यक छ । तर, हिजोको तुलनामा प्रभावकारी र पारदर्शी ढंगले सेवा सुचारु भएको छ ।

कतिपय स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच सौहार्द सम्बन्ध देखिँदैन, तपार्इँको नगरमा जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध कस्तो छ ?
जनप्रतिनिधि र कर्मचारीका क्षेत्राधिकार तोकिएका छन् । आ–आफ्नो क्षेत्राधिकारमा रहेर काम गर्ने हो । अरुको अधिकारमा हस्तक्षेप गर्नुहुन्न । त्यो भयो भने काम गर्न कुनै समस्या हुँदैन । कतिपय कार्यशैली रूपान्तरण हुन नसकेका कुरा होलान् । तर, हाम्रोमा जनप्रतिनिधिले कर्मचारीको र कर्मचारीले जनप्रतिनिधिको क्षेत्राधिकारभित्र प्रवेश गरेको छैन । जनताका समस्या बुझेर एकले अर्कालाई सहयोग गर्ने भएकाले हाम्रोमा कर्मचारीबीच पनि आन्तरिक समस्या देखिएको छैन । जनप्रतिनिधि कर्मचारीमा पनि समस्या देखिएको छैन ।

नगर समृद्ध बनाउन के–के काम गरिरहनुभएको छ ?
चक्रपथ । चक्रपथ दुई वर्षमा पूरा हुने गरी काम गरिरहेका छौं । चक्रपथ जोड्ने सबै बाटो कालोपत्रे गरिरहेका छौं ।

नगरपालिका कृषिमा निर्भर भएकाले यस क्षेत्रको विकासलाई जोड दिएका छौं । यसको विकास बिना नगर समृद्ध हुँदैन भन्ने हाम्रो ठम्याई छ । । पर्साघाटमा कोल्ड स्टोर र अनुसन्धान केन्द्र स्थापनाका लागि सम्बन्धित मन्त्रालयमा लेखी पठाएका छौं । त्यसमा मन्त्रालय सकारात्मक छ । जहाँसम्म योजना अगाडि बढ्छ । ४१ लाख रूपैयाँको कृषि अनुदान वितरण गरेका छौं ।

Tags :
प्रतिक्रिया दिनुहोस