नेपालले पायो खस्रे रोग (ट्रकोमा) निर्मूलन गरेको प्रमाणपत्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपालले पायो खस्रे रोग (ट्रकोमा) निर्मूलन गरेको प्रमाणपत्र


७ जेष्ठ २०७५, सोमबार


काठमाडौं । नेपालले आँखामा लाग्ने खसरोग (ट्रकोमा) निर्मूलनमा सफलता हासिल गरेपछि विश्व स्वास्थ्य संगठनबाट निर्मूलनको प्रमाणपत्र पाएको छ ।

स्विटजरल्याण्डको जेनेभास्थित प्रधान कार्यालयमा चलिरहेको ७१औँ महासभामा यही जेठ ६ गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई रोग निर्मूलनको प्रमाणपत्र प्रदान गरिएको हो ।

राज्यमन्त्रीका स्वकीय सचिव राजेश शर्माले राससलाई दिएको जानकारी अनुसार विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानम देभ्रेयुसले राज्यमन्त्री अर्याललाई उक्त प्रमाणपत्र प्रदान गरेको हो ।

महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा पुग्नुभएकी राज्यमन्त्री पद्मा अर्याल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानम देभ्रेयुस विगतमा नेपालमा भएका स्वास्थ्यसँग सम्बन्धित सफल अभ्यास, उपलब्धि र योजनाहरुका विषयमा छलफलसमेत भएको शर्माले बताए ।

नेपाल संघीयता कार्यान्वयनको विशिष्टीकृत अवस्थामा रहेको हुँदा संगठनले स्वास्थ्यको नीति र पद्धति विकासमा विशेष प्राविधिक सहयोग गर्न, नेपाली विज्ञको अर्थपूर्ण सहभागितामा संगठनका नीति, योजना र कार्यक्रमहरु निर्माणका लागि पनि राज्यमन्त्री अर्यालले आग्रह गरेको बताइएको छ ।

भेटमा महानिर्देशक डा टेड्रोस अधानम देभ्रेयुसले नेपालले ट्रकोमा उन्मूलनमा प्रगति गरेको जस्तै कालाज्वरमा पनि प्रगति गरिरहेको कुरा सुन्दा आफूलाई खुशी लागेको शर्माले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस