डाँडागाउँका घरघरमै धारा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

डाँडागाउँका घरघरमै धारा


४ जेष्ठ २०७५, शुक्रबार


पाँचथर । केही समयअघिसम्म फिदिम नगरपालिका–११, डाँडागाउँका वासिन्दाले खानेपानीको जोहो गर्न निकै सकस खेप्नुपथ्र्याे । खानेपानी धारा नहुँदा त्यहाँका वासिन्दा कुवाको दूषित पानी पिउन बाध्य थिए । अहिले भने यहाँका स्थानीयलाई यो समस्या छैन ।

जल वर्ने खानेपानी आयोजनाको निर्माण सम्पन्न भएसँगै गाउँमा खानेपानी समस्या हटेको हो । सो आयोजनाअन्तर्गत वडामा रहेका ६९ घरधुरीलाई छुट्टाछुट्टै धारा निर्माण गरिएको छ । खानेपानी वितरणका लागि चार वटा ट्यांकी निर्माण गरिएको छ ।

आयोजनाको निर्माणको समन्वय नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखाले गरेको हो । रेडक्रस जिल्ला शाखाका कार्यकारी अधिकृत तथा आयोजनाका टिम लिडर गुरुराज तिम्सिनाले ६१ लाख रूपैयाँमा आयोजनाको निर्माण सम्पन्न भएको जानकारी दिए ।

उनका अनुसार आयोजना निर्माण गर्न ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन बोर्ड) तथा हुसाडेक नेपालको ३६ लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको थियो । यस्तै, स्थानीयले २३ लाख रूपैयाँको जनश्रमदान गरेका थिए ।

जल वर्ने खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष यज्ञविक्रम न्यौपानले अघिल्लो चैतमा आयोजना निर्माण सकिएको जानकारी दिए । उनका अनुसार अघिल्लो असारमा आयोजनाको निर्माण शुरु भएको थियो । घरघरमै धाराको शुद्ध पानी पाएपछि स्थानीय खुसी भएको उनले बताए । ‘यसअघि कुवाको पानी पिउनुपर्ने बाध्यता थियो, अहिले घरघरमै धारा जडान गरिएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस