यसरी हटाऔं ढाड, गर्दन र कम्मर दुख्ने समस्या « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

यसरी हटाऔं ढाड, गर्दन र कम्मर दुख्ने समस्या


४ जेष्ठ २०७५, शुक्रबार


गर्दन, ढाड र कम्मरको दुखाई आम मानिसका साझा समस्या हुन् । प्रायः सबै उमेर समूहका व्यक्तिलाई यी समस्या छन् । गृहिणीदेखि कर्मचारीसम्म यी समस्याबाट पीडित छन् । यसबाट कसरी छुटकारा पाउन सकिन्छ ? यस सम्बन्धमा विशेषज्ञ डा. सुनिल पौडेलका टिप्स ।

१. पोस्चुरल केयर अर्थात् शारीरिक अवस्थाको ख्याल गर्ने
शरीरको पोजिसन अथवा शारीरिक अवस्थाको ख्याल राख्नुलाई पोस्चुरल केयर भनिन्छ । मेरुदण्ड अर्थात् गर्दन, ढाड, कम्मरको दुखाईको उपचारमा यो महत्वपूर्ण मानिन्छ ।

  •  पोस्चुरल केयरमा चार वटा कुरा सधैं याद राखौं ।
    • एक पटकमा १५ मिनेटभन्दा बढी नबसौं ।
    •  निहुरिएर वा भुइँमा बसेर काम नगरौं ।
    •  निहुरिएर कहिलै सामान नउठाऔं ।
    •  उठेर काम गर्नुभन्दा यताउती हिँडेर काम गरौं ।
  •  टेबल वर्कमा वा कम्प्युटरमा बस्दा कुन पोजिसनमा बस्ने ? कम्प्युटरको मनिटर कति टाढा हुनुपर्छ ? किबोर्ड कहाँनेर राख्ने ? यी सबै चिजमा हामीले ख्याल राख्नुपर्छ । टेवुल वर्क गर्दा आफू बसेको कुर्सी टेबलभित्र घुसाइ दिनुपर्छ, ताकी हामी निहुरिन नपरोस् । टेबल जति टाढा भयो त्यति निहुरिन पर्ने हुन्छ । काम गर्दाखेरी कुर्सीभित्र घुस्यो भने ढाड सिधा राखेरै काम गर्न सकिन्छ ।
  •  यदि कुर्सीमा बसिराख्नु भएको छ भने हाम्रो हिप अर्थात् पुठ्ठाले कुर्सीको पछाडिको भाग छोएकै हुनुपर्छ तथा यसमाथिको ढाडलाई राम्ररी पछाडि सपोर्ट दिएकै हुनुपर्छ ।
  •  कुर्सीमा अगाडि झुक्नुको साटो सिधा बस्नुपर्छ । कुर्सीमा सिधा ९० डिग्रीमा नबसेर अझै अलि पछाडि १२० डिग्री जतिमा जाँदा मेरुदन्डमा चाप कम हुन्छ । तर, त्यसरी बस्दा हिपले कुर्सीको पछाडि धकेलेकै हुनुपर्छ ।
  •  कामका क्रममा उठिरहनु पर्नेले यताउता हिँडडुल गर्ने र थोरै बेर बस्ने गर्नुपर्छ । उठिरहनु पर्ने भए सम्भव भए एउटा खुट्टा स्टुलमा राख्ने गर्नुपर्छ ।
  •  लामो समय बसिरहने वा उठिरहने गर्नु हुँदैन । काम गर्दा बीचबीचमा हरेक घन्टामा ब्रेक लिएर ५ वा १० पटक हल्का पछाडि उल्टो झुक्ने वा केहि तन्काउने खाले व्यायाम गर्नु एकदमै राम्रो हुन्छ ।
    •  सामान उठाउँदा कहिल्यै पनि निहुरिएर उठाउने गर्नुहुँदैन । यसको साटो पहिला बस्ने अनि बसेर ढाडलाई सिधा राखेर मात्र सामान उठाउने गर्नुपर्छ । यसो गरे ढाडको समस्या ७० प्रतिशत घटाउन सकिन्छ ।
    •  जसले पोस्चरको ख्याल राख्छ, उसलाई मेरुदन्डको समस्या नै हुँदैन । र, जसले पोस्चरको ख्याल राख्दैन उसको रोग अप्रेसन नै गरे पनि ठिक हुँदैन ।
    •  रोग अनुसारको पोस्चुरल केयर हुन्छन् ।

२. व्यायाम
व्यायाम, ढाडलाई स्वस्थ राख्ने अर्काे विकल्प हो । तीन किसिमका व्यायाम गर्नु एकदमै महत्वपूर्ण हुन्छ ।

. पसिना निकाल्ने जस्तै हिँड्ने, दौड्ने खाले व्यायाम ।
. तन्काउने खाले योग वा स्ट्रेचिङ खाले व्यायाम
. शरीर तथा ढाड बलियो बनाउने खाले व्यायाम ।

यदि गर्दन, ढाड, कम्मर सम्बन्धि कुनै समस्या छ भने पहिला विशेषज्ञकहाँ गएर चेक गराई सल्लाह लिनुपर्छ । अनि मात्र सुहाउँदो तथा फाइदा दिने ढाडका व्यायाम मात्र गर्ने गर्नुपर्छ ।

३. खानपिन तथा जीवनशैली
ढाडलाई स्वस्थ राख्न खानपिनमा ध्यान दिनु एकदमै जरुरी छ । जसरी सम्पूर्ण शरीरका लागि खानपान महत्वपूर्ण हुन्छ, त्यस्तै ढाडका लागि पनि प्रशस्त पानी तथा प्रशस्त क्याल्सियम भएका शाकाहारी खाना महत्वपूर्ण हुन्छ । यसका साथै चिनी, प्याकेटका जंक वा फास्ट फुडबाट टाढै रहनुपर्छ । पानी कम पिउनेमा झस्का पस्ने समस्या आइरहने तथा क्याल्सियमको कमीले हड्डी खिइने हुन सक्छ ।

  •  भिटामिन डी
    आजभोलिका धेरै मानिसहरूमा भिटामिन डीको कमी पाइन्छ । जसले गर्दा शरीरमा क्याल्सियम जम्मा हुन सकिरहेको छैन तथा हड्डी कमजोर हुँदै जान्छ वा दुखाई ठिक हुँदैन । भिटामिन डि को लागि सबैभन्दा राम्रो उपाय हो– घाम ताप्नु । हप्ताको १ घन्टा कपडा खोलेर नांगो छालामा घाम ताप्नु एकदमै राम्रो हुन्छ । भिटामिन डि का औषधिहरू पनि पाइन्छन् ।

४. नियमित चेकजाँच
मान्छेले के सोच्छ भने अलिकति ढाड दुखेको न हो, किन डाक्टरकोमा जाने ? दुई–चार दिनपछि आफैं ठिक भइहाल्छ नि । नसा च्यापिएर ठूलै समस्या ननिम्तिएसम्म वा थला नपरेसम्म डाक्टरकोमा नजाने प्रवृत्ति छ । यसले गर्दा पछि ठूलो समस्या झेल्नुपर्ने हुन्छ । समस्या जति सानो भयो त्यति त्यसलाई बुझ्न र समाधान गर्न त्यति नै सजिलो हुन्छ । त्यसैले यदि ढाड दुख्न सुरु भयो भने सम्बन्धित विशेषज्ञकहाँ गएर चेकजाँच गराउनु उपयुक्त हुन्छ । यदि रोग लागेमा सक्दो चाँडो उपचार गराउन गइहाल्नुपर्छ ।

५. एकीकृत चिकित्सा अर्थात् इन्टिग्रेटेड मेडिसिन
गर्दन, ढाड, कम्मर सम्बन्धि समस्या भएका बिरामीहरू उपचार गर्दागर्दै हैरान भएका छन् । कुनै डाक्टरले औषधी ‘प्रेस्क्राइब’ गर्छन् त कसैले थेरापी गराउँछन् । थेरापी गर्दा एउटा राम्रो सामन्जस्य रूपमा काम गर्ने खालको कम्बाइन्ड उपचारहरूको जरुरत पर्छ । यो संयोजन राम्रो भएन भने खानाको संयोजन नमिलेर पखाला लागेजस्तै रोग पनि ठिक नहुने हुन सक्छ । औषधोपचारसँग उपयुक्त खानपिन, व्यायाम तथा केयर अनि घरमै गर्न सकिने उपचारहरू पनि सिक्नु जरुरी हुन्छ ।

सर्वप्रथम विशेषज्ञकहाँ गएर चेक गराई सल्लाह लिनुपर्छ अनि मात्र सुहाउँदो तथा फाइदा दिने खालका उपचारहरूको एकीकृत उपचार लिनुपर्छ ।

डा. सुनिल पौडेललाई अर्थाेन्यूरो हेल्थ केयर : लगनखेल वा बागबजारको साथै कीर्तिपूरमा पनि भेट्न सकिन्छ । हटलाइन ९७४१३३३००९

Tags :
प्रतिक्रिया दिनुहोस