हरेक वडामा गएर जनतालाई जागरुक बनाइरहेका छौं « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हरेक वडामा गएर जनतालाई जागरुक बनाइरहेका छौं


२ जेष्ठ २०७५, बुधबार


स्वशासन मार्फत सुशासन कायम गर्ने अभियान अन्तर्गत जनप्रतिनिधिसँग कर्मचारीका कुरामा आजको श्रृंखलामा वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीसँग कुरा गरेका छौं ।

जनतासँग गरेका प्रतिवद्धता के–के पूरा गर्नुभयो ?
जनतासँग गरेको प्रतिवद्धता सात महिनामा पूरा हुन सक्दैनन् । तर, हामीले तत्काल राहत पुर्याउने खालका काम अघि बढाएका छौं । सडक मर्मत सम्भार, खानेपानी व्यवस्था र शिक्षाको विकासका काम गरिरहेका छौं । सरकारी स्कुलमा आउँदो वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन गराउने प्रतिवद्धता गरेको थिए । त्यसअनुरूप यस क्षेत्रका सरकारी स्कुलमा कक्षा १ मा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भइसकेको छ । यससँगै शिक्षाको अभियान पनि चलाएका छौं ।

सेवाप्रवाह र विकास निर्माणलाई गुणस्तरीय बनाउन के गरिरहनुभएको छ ?
हरेक वडामा गएर जनतालाई जागरुक बनाइरहेका छौं । महानगर क्षेत्रका योजनाको प्रभावकारिता र पारदर्शितामा सम्झौता गर्दैनौं ।
हरेक योजनाको जानकारी दिन बोर्ड राख्ने गरेका छौं । योजनाको गुणस्तर जाँच्न अनुगमन समिति बनाउँछौं । र, त्यसपछि सामाजिक लेखापरीक्षण गराउँछौं । त्यसपछि मात्रै कार्यसम्पन्नताको प्रमाणपत्र दिन्छौं ।

कर्मचारीको काम गर्ने शैली कस्तो छ ?
कर्मचारी सबै सचेत छन् । १८–२० वर्ष कर्मचारी एक्लैले स्थानीय निकाय चलाएको हुँदा केही समय उहाँहरूको कार्यशैलीमा केही परिवर्तन देखिएको थियो । तर, अहिले यस्तो छैन । हामीले सहकार्य गरेर काम अघि बढाइरहेका छौं ।

स्थायी सरकार भनिने कर्मचारी प्रशासन अर्थात् सेलेक्टेड र जनप्रतिनिधि अर्थात् इलेक्टेड समूहबीच कसरी समन्वय गर्नुपर्ला ?
मलाई के लाग्छ भने कर्मचारीले कार्यपालिका र नगरसभाबाट भएका निर्णय कार्यान्वयन गर्ने र जनप्रतिनिधिले त्यो कुरामा हस्तक्षेप गर्नुभएन ।
हामीले सहजीकरण गरेर जनताको भावना बुझेर जनताको सहभागितामा काम गर्नुपर्छ ।

वीरगन्ज महानगरलाई समृद्ध बनाउन के गर्नुपर्ला ?
जबसम्म लगानी आउँदैन, तबसम्म यसलाई समृद्ध बनाउन सकिँदैन । त्यसकारण केन्द्र र प्रदेश सरकारले यसतर्फ ध्यान दिनुपर्छ । किनकी हाम्रो बजेट केन्द्र र प्रदेश सरकारको बजेटमा निर्भर हुन्छ । अहिलेसम्म आइसिटीका लागि मात्रै लगानी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस