सामाजिक सञ्जालको म्यासेजले दिएको मानसिक यातना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सामाजिक सञ्जालको म्यासेजले दिएको मानसिक यातना


सृजना तिवारी

१ जेष्ठ २०७५, मंगलबार


एक्काइसौं शताब्दीलाई सूचना र प्रविधिको चरम प्रयोगको अवधिको रूपमा लिन सकिन्छ । आज मानिस बरु एक छाक खान तयार हुन्छ । तर, मोबाइलबिना रहन सक्दैन । मोबाइल बोक्ने एक किसिमको लत नै लागिसकेको छ । त्यसैगरी इन्टरनेटबिनाको मानव जीवनको कल्पना पनि गर्न नसक्ने अवस्थामा पुगिएको छ । सामाजिक सञ्जालहरू आधुनिक जीवनको अपरिहार्य अंग बनेका छन् । घरघरमा परिवारका सबै सदस्यहरू बसेर गफ गर्ने, योजना बनाउने, हाँसो ठट्यौली गर्ने, कथा सुनाउने चलन हराउँदै गएको छ ।

दिनभरि सबै आ–आफ्नो काममा व्यस्त हुने र बिहान बेलुका पनि सबै आ–आफ्नै धुनमा स्मार्ट फोनमा व्यस्त भई रमाइरहेका हुन्छन् । एउटै घरका सदस्यहरूबीच कुरा गर्ने फुर्सद नहुने उस्तै परे सञ्जालको संवाद बक्समार्फत कुरा गर्नुपर्ने अवस्था आइसकेको छ । सामाजिक सञ्जालको संवाद बक्सका तीता मीठा अनुभवहरू सबैसँग होलान् । तर पनि धेरैजसो महिलाहरूको अनुभव तिक्तपूर्ण छ ।

एक दिनको कुरा हो, परिवारसँगै बसेर फेसबुक हेर्दे थिए । फेसबुकको संवाद बक्समा म्यासेज आयो– ‘डार्लिङ लभ यू ।’ संवाद बक्सको आवाजले कसको म्यासेज आयो भनी नजिकै रहनुभएका परिवारको सदस्यले पनि हेर्नुभयो । म त छक्क परे । चिन्नु न जान्नुको मान्छेले यस्तो म्यासेज पठाउँदा ।

त्यसपछि घरमा १० रेक्टर स्केलको भूकम्प जान थाल्यो । ती म्यासेज पठाउने महोदयलाई मैले राम्ररी चिनेको पनि थिइनँ । कहिले हो एक दिन फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । यसो उनको प्रोफाइल सामान्य रूपमा हेरेर ठीकै खालको मान्छे जस्तो लागेर फेसबुके साथी बनाएको थिए । कुराकानी पनि केही भएको थिएन । तर, अब तिनै महोदय बज्र बनी खसे मेरो शान्त र सुखी परिवारमाथि ।

मेरो फोन जफत गरी फौजदारी मुद्दाको कसुरदार जस्तो गरी मसँग धमाधम वयान लिन थालियो परिवारबाट । कहिलेदेखि चिनेको ? को हो ? के गर्छ ? घर कहाँ हो ? कहाँ काम गर्छ ? विवाहित कि अविवाहित ? कसरी यस्तो म्यासेज पठायो ? किन पठायो ? केही नभई त्यसै त पठाएन होला ? आदि आदि ।

मेरो एउटै उत्तर थियो– फेसबुके साथी हो राम्रोसँग चिन्दिनँ । यति बयानले मात्र नपुगेर मेरो परिवारले थुनछेकको बयान पनि सुरु गर्यो । जे गरे पनि मेरो उत्तर त्यहि नै थियो । इजलासहरू तोकिए बयान दिनका लागि । बयानको क्रम निरन्तर जारी नै रह्यो । सबै विचलित थिए । मेरो तनावको त कुरै नगरौं । नचिनेको फेसबुके साथीको म्यासेजले दिनुसम्म तनाव दियो । आफ्नो आत्मस्वाभिमानको ज्वाला पनि भित्रभित्र दन्किरहेको थियो । यो घटनाक्रममा म आफ्नो त्रुटि खोजिरहेको थिएँ । राम्रोसँग नचिनेको मान्छेलाई साथी बनाएकोमा पछुतो पनि मान्दै थिए ।

एक मनले त अब यो फेसबुकलगायत सबै सामाजिक संजाल बन्द गरी चुपचाप बसौं भन्ने पनि लाग्यो । फेरि अर्को मनले कहाँ हुन्छ यसै त महिलालाई चुनौतीपूर्ण काम दिन हिच्किचाउने पुरुष मानसिकता हावी समाजमा सूचना प्रविधिबाट अलग रहेर अहिलेको प्रतिस्पर्धात्मक युगमा पछि पर्नु छैन भन्ने सोच आयो । यता परिवारमा भने त्यो म्यासेजको लगातार पराकम्पन गइरहेको थियो । मलाई आफुले गर्दे नगरेको कसुरको कसुरदार ठहर्याइँदै थियो । यत्तिकैमा फेरि मोबाइलमा म्यासेज आएको आवाज आयो ।

सबैका कान टाठा भए र परिवारका सबै सदस्य मोबाइलमा झुम्मिन पुगे । म भने अक्क न बक्क भएर टुलुटुलु हेरिरहें । परिवारका एक सदस्यले खुसी हुँदै भने हि…अघि म्यासेज पठाउनेले फेरि पनि पठाएछ । म्यासेज यस्तो थियो– ‘सरी है मेडम ! अघि श्रीमतीलाई मेसेज पठाएको गल्तीले हजुरकोमा गएछ ।’ ठूलै युद्ध जितेजस्तो गरी परिवारका सदस्यहरू खुसी हुँदै थिए । म भने आफ्नो सम्पूर्ण इच्छा, आकांक्षा त्यागेर परिवारको खुसीमा समर्पित भएर आफूलाई भाग्यमानी सम्झेर गौरव अनुभव गरिरहेकोमा पश्चाताप गर्दे थिए ।

एउटा फेसबुके पुरुष साथीले झुक्किएर पठाएको मेसेजको दोषारोपण केहीअघिसम्म ममाथि गरिँदै थियो । यदि उसले सरी भनेर पुनः म्यासेज नपठाएको भए मेरो स्वभिमान, अस्तित्व, विश्वास, आत्मसम्मान माथि अझै कति प्रश्न चिन्ह उभिने थिए होलान् ।

यो त एउटा प्रतिनिधि घटना मात्र हो, महिलाहरूले सामाजिक संजाल प्रयोग गर्दा परिवारबाट खेप्नुपरेको । उच्च ओहोदामा पुगेका, सार्वजनिक छवि भएका, समाजमा प्रतिष्ठित पुरुषहरू पनि मौका छोपेर फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालका संवाद बक्समार्फत महिलाहरूलाई छेडखानी गर्न हिच्किचाउँदैनन् । फेसबुके साथी बनाएर संवादमा ओलर्दासम्ममा आफ्नो हैसियत नै बिर्सने पुरुषहरू देख्दा अचम्म मान्नुपर्देन् ।

पुरुषहरूले यस्ता क्रियाकलापलाई आनन्द, रमाइलो, मनोरञ्जनको माध्यम ठाने पनि महिलाहरूलाई निकै ठूलो मानसिक एवं पारिवारिक तनावको कारण हुने गरेको छ । आफ्नो क्षणिक खुसी र आनन्दका लागि अरुको भावनामा चोट पुर्याउने काम कहि, कतै र कसैबाट नगरी सामाजिक संजाललाई सामाजिक एवं सभ्य तरिकाले परिचालन गर्न सिकौं ।

 

Tags :
प्रतिक्रिया दिनुहोस