सूचना विभागलाई सूचना बैंकको रूपमा विकास गर्ने कामको थालनी गरें « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सूचना विभागलाई सूचना बैंकको रूपमा विकास गर्ने कामको थालनी गरें


बीर बहादुर राई

३१ बैशाख २०७५, सोमबार


महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव हुन्, बीरबहादुर राई । २०४३ सालमा सहलेखापाल(खरिदार)बाट जागिर शुरुवात गरेका राई २०६७ सालमा सहसचिव भए । उदयपुरको प्रमुख जिल्ला अधिकारी हुँदै इमिग्रेसन, जिल्ला प्रशासन नवलपरासी, सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग हुँदै एक वर्ष लामो सूचना विभागबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा आइपुगेका राई मन्त्रालयमा आएको करीब एक महिना जति पुग्न लागेको छ । उनले सूचना विभागको महानिर्देशकका रूपमा झण्डै एक वर्षभन्दा बढी समय बिताए ।

प्रायःजसो नयाँ जिम्मेवारीमा आउँदा तपाईँका योजना के छन् भनेर सोध्ने गरिन्छ तर हामीले सरुवा भएर आएको कार्यालयमा के गरेर आउनु भयो भनेर प्रश्न सोधेका छौं । राईको सूचना विभागको कार्यकालको सेरोफेरोमा रही प्रशासन डट कमका एस राज उपाध्यायले गरेको कुराकानी मा आधारित ।

सूचना विभागमा सुधारका प्रयास
मुलतः जो जहाँ गए पनि सरकारले तोकेको उद्देश्य, लक्ष्य र नीति तथा कानुनलाई नै फलो गर्ने हो । तोकिएको काम र जिम्मेवारीलाई सिर्जनशील र फरक किसिमले काम गर्न सकियो भने त्यसले संस्थाको छवीमा पनि राम्रो प्रभाव पर्ने र आफूलाई पनि सन्तुष्टि मिल्छ । म सूचना विभागको निर्देशक रहँदा दुई–चार ओटा रिफम र केही परम्परागत कामहरू पनि गरियो ।

सूचना बैंकको थालनी
नेपाल सरकारले सूचना विभागलाई सूचना बैंकको रूपमा विकास गर्ने भनेर नीतिगत रूपमा निर्णय गरेको लामो समय भइसकेको थियो । तर, कार्यान्वयन हुन सकेको थिएन । हामीले गत वर्ष यसको सुरुवात गर्यौं । र, पूर्वाधार बनाउन सुरु गर्याैं । केही कुराहरू व्यवस्थित गर्ने प्रयास गर्याैं । अहिलेको समय भनेको सेवाग्राहीलाई छिटो, छरितो र जनतालाई महसुस हुनेगरी सेवा प्रवाह गर्नु हो त्यसका लागि केही सुुरुवात गरियो ।

अहिले नेपाल सरकारका जति पनि निकायबाट भएका काम कारबाहीहरू त्यसमा भएका दस्तावेज, निर्णय र ती निकायले गरेका गतिविधिलाई व्यवस्थित तवरले एक ठाउँमा राख्न सकिएको छैन । जसले गर्दा हामीले गरेका कतिपय काम नदेखिने र नभेटिने अवस्था छ । यसलाई अर्काइभको रूपमा विकास गर्न सकियो भने लामो समयपछि पनि कुनै चिज भेट्न सक्छौं ।

नेपाल सरकारले ल्याएका डकुमेन्टलाई कलेक्सन गर्ने र त्यसलाई डिजिटल प्रविधिमा राख्ने काम सुरु गर्याैं । त्यसले केही हदसम्म मूर्तरूप लिईसकेको छ । त्यसलाई निरन्तरता दिन सक्यौ भने राम्रो हुन सक्छ । यसले पूर्णता पायो भने एकै ठाउँबाट सबैखाले सूचना पाउन सकिन्छ ।

अर्को यसले सेवाप्रवाहमा पनि सहजता ल्याउँछ । जस्तो : अहिले कृषिको कुनै डकुमेन्ट खोज्न कृषि सम्बन्धी कार्यालयमा, वनको डकुमेन्ट खोज्न त्यससम्बन्धी कार्यालयमा जानुपर्ने अवस्था छ । एउटै मान्छे विभिन्न ठाउँमा दौडिनुभन्दा एउटा ठाउँबाटै सबै सूचना पाओस् भन्ने आधारले हामीले यो काम गर्न खोजेका हौं । अर्काे कुरा, यसले कुनै निकायबाट डकुमेन्ट मिसप्लेस हुँदा पनि सहज हुन्छ । त्यसकारण लङ टर्मका हिसाबले पनि यो राम्रो छ ।

अहिले हामीले गरेका कतिपय कामहरू महत्वपूर्ण महसुस नहुन सक्छ । ५० वा सय वर्षपछि ओहो हामीले यस्तो पनि गरेका रहेछौं, नेपाल सरकारमा यस्ता मान्छे पनि थिए भन्ने अनुसन्धानको विषय पनि हुन सक्छ । रिसर्चमा पनि सहयोग हुन सक्छ भनेर यसको थालनी गर्याैं ।

प्रेसपास लेमिनेसनको व्यवस्था
पत्रकारको क्षेत्रमा पनि हामीले काम गर्याैं । पहिले सूचना विभागले लेमिनेसन नगरी प्रेस पास दिन्थ्यो । म त्यहाँ रहँदा लेमिनेसन गरेर दिने व्यवस्था लागू भयो । यसले पत्रकारहरूलाई सजिलो भएको छ । कुरा सानै भएपनि त्यसेका लागि अनेक ठाउँ दौडिनुपर्ने झन्झटबाट मुक्ति र समयको बचत भएको छ । अहिले उनीहरूलाई लेमिनेसन गर्न अन्यत्र दौड्नुपर्ने अवस्था छैन ।

पत्रकारको विवरण वेबसाइटमा
हामीले सर्वसाधारणलाई वेबसाइटमार्फत् जानकारी दिने व्यवस्था मिलायौं । पत्रकारहरूलाई जारी गरेको र नवीकरण गरेको परिचयपत्र प्रत्येक दिन वेबसाइटमा राख्न शुरु गरियो । कुनै कारणबस त्यही दिन राख्न सकिएन भने भोलिपल्ट राख्थ्यौं । यसबाट कुन–कुन पत्रकारहरूले परिचयपत्र पाए भन्ने कुराको सूचना प्रवाह भइरहेको छ ।

पत्रपत्रिकाले पाउँदै आएको रकम बैंकमार्फत भुक्तानी
सूचना विभागले प्रेस काउन्सिल नेपालबाट विभिन्न छापा माध्यमका पत्रपत्रिकाहरूलाई वर्गीकरण गर्छ, जसलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गीकरण गरिएको छ । त्यसरी वर्गीकरणमा परेका पत्रपत्रिकाहरुलाई लोककल्याणकारी विज्ञापनवाफत राज्यले केही रकम उपलब्ध गराउँछ । त्यो रकम बैंकमार्फत उपलब्ध गरायौं । र, त्यसलाई वेबसाइटमा समेत राख्यौं । जसले गर्दा पत्रपत्रिकाका सञ्चालकले पनि आफ्नो बैंक खातामा आएको रकमबारे जानकारी पाउन सजिलो भयो ।

क्लिन फिट क्यालेण्डर
सूचना विभागले नेपाल सरकारको आधिकारीक क्यालेण्डर प्रकाशन गर्छ । बोलपत्रमा सबैभन्दा बढी रोयल्टी दिने मार्फत छपाई गर्दा त्यसमा उहाँहरूले विज्ञापनहरू छाप्नुहुन्थ्यो । क्यालेण्डरमा राखिएका कतिपय विज्ञापनहरु राख्न नसुहाउने खालका पनि थिए । सूचना विभागको क्यालेण्डर सम्मानित व्यक्तित्वहरूसम्म पुग्ने भएकोले जे पायो त्यही विज्ञापन राख्ने कार्य रोकेर क्लिन फिट क्यालेण्डर प्रकाशन गर्यौं ।

सेवा प्रवाहमा प्रविधिको सुरुवात
अहिले भनेको सूचना प्रविधिको जमाना भएकोले व्यक्ति खोज्दै, शाखा खोज्दै हिड्ने होइन, इमेल इन्टरनेटको माध्यमबाट काम गर्नुपर्छ भनेर काम सुरुवात गर्याैं । बिभागबाट प्रदान गरिने सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै सेवाग्राहीलाई कार्यालय आउनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास गरेका छौं । यसले सेवाग्राहीको समय पनि बचत भएको छ । अर्कोतिर पारदर्शिता र काममा छिटोछरितोका कुरा पनि छन् । आजको भोलि नै हामी धेरै कुराहरू चेन्ज गर्न सकिँदैन । तर, पोजेटिभ रूपमा थोरै काम गर्न सकियो भने थोरै भए पनि सुधार आउँछ भन्ने मलाई लाग्छ ।

हाकिम होइन, अभिभावक
कर्मचारीहरूका वास्तवमा केही समस्याहरू छन् । सबैभन्दा ठूलो कुरा त कुनै पनि संगठनको नेतृत्वमा बसिसकेपछि नेतृत्वभन्दा पनि अभिभावक भएर जानुपर्छ । किनभने प्रत्येक कर्मचारीका आ–आफ्ना किसिमका समस्याहरू हुन सक्छन् । ती कर्मचारीका एक–अर्काका समस्या फरक पनि हुन सक्छन् । तर, हामीले सामान्यतया के मात्रै बुझ्छौं भने कर्मचारीलाई तलब दिएका छौं । र, तलब दिएपछि सबै कुरा हुन्छ भन्ने छ त्यो होइन, उनीहरुलाई बेलाबेलामा काउन्सिलिङ पनि हामीले गर्नुपर्छ । अर्को सबैभन्दा महत्वपूर्ण कुरो के हो भने कर्मचारीहरूलाई राज्यले जे जति दिइरहेको छ, त्योसँगै राज्यबाट केही पाइरहेको भन्ने कुरा बोध गराउनुपर्छ ।

हामीमा नकारात्मक कुरा पनि धेरै छन् । त्यसलाई विस्तारै करेक्सन गर्दै लैजानुपर्छ । राज्य तथा नेतृत्वले पनि सुधार गर्नुपर्ने हुन्छ । संगठन भित्र बसेका कर्मचारीहरूमा सहकार्य र समन्वय पनि गर्नुपर्छ । त्यति गर्यौं भने सेवाग्राहीले पनि हामीप्रति पोजेटिभ रेस्पोन्स गर्छ ।

‘सकारात्मक प्रतिक्रिया नै कर्मचारीको सम्पत्ति’
सेवाग्राहीले गरेको पोजेटिभ रेस्पोन्स भनेको हाम्रो सम्पत्ति हो । सेवाप्रवाहका क्रममा सेवाग्राहीलाई गरेको श्रद्धा र रेस्पोन्सले पनि हामीलाई मोटिभेट गर्छ । त्यो मोटिभेसन प्राप्त गर्न हामीले लामो समय प्रयास गर्नुपर्छ । सेवा गर्नका लागि संवेदनशील, कर्तव्यनिष्ट, अनुशासित र मृदुभाषि हुनुपर्याे । सकेसम्म कसरी राम्रो गर्न सकिन्छ ? ती प्रयासहरू गर्न सकियो भने विस्तारै सेवाग्राही हामीप्रति पोजेटिभ हुन्छन् । त्यो पोजेटिभ म्यासेजले वातावरण नै पोजेटिभ बनाइदिन्छ । त्यसले राम्रो काम गर्ने वातावरण बन्छ भन्ने मलाई लाग्छ ।

अवकासपछिको आत्मसन्तुष्टिका लागि जिम्मेवारीलाई इमान्दारीतापूर्वक बहन
आध्यात्मिक रूपमा म के भन्ने गर्छु भने हामीलाई जन्मदै एउटा सर्टेन टाइम दिएको छ । नेपालीको औसत आयु ५८ वर्ष छ । त्यसैले यो समय महत्वपूर्ण छ, जुन समयमा हामीलाई राज्यले पत्याएर राज्यले तोकेर हामीलाई जुन जिम्मेवारी, उत्तरदायित्व र भूमिका दिएको छ त्यो समयसम्म हामीलाई दिएको स्पेस, जिम्मेवारी, भूमिका र दायित्वलाई सही रूपमा निर्वाह गर्न सक्यौं भने भोलि यो काम गर्न सकिएन भनेर पछुताउनु पर्दैन । किनभने सबै काम हामी गर्न सक्दैनौं । हामीलाई दिएको थोरै कामलाई मात्र व्यवस्थित, संयमित, अनुशासित र कर्तव्यनिष्ट भएर काम गर्न सकियो भने आत्मसन्तुष्टि हुन्छ । आत्मसन्तुष्टि हुँदा सरकारको जिम्मेवारीबाट बाहिर जाँदा पनि सकारात्मक सोच लिएर बाहिर निस्कन्छ भन्ने मलाई लाग्छ ।

विगतका कामले वर्तमानमा आनन्द
मैले धेरै ठाउँमा काम गरें । काम गर्दा म सधै सकारात्मक रूपमा काम गर्नुपर्छ भन्ने गर्छु । सम्भवतः मैले धेरै ठाउँमा सकारात्मक रूपमा काम पनि गरेको छु । हिजो मैले गरेको कामबारे कसैले राम्रो भन्दा पनि ऊर्जा आउँदो रहेछ । यो ऊर्जा एकै पटकमा आउने विषय होइन । मोटिभेसन एकै पटकमा आउने विषय पनि होइन । एकै पटकमा म गर्छु भन्ने खालको भावना विकास पनि हुँदैन । यो बिस्तारै काम गर्दै गइसकेपछि हुने कुरा हो । त्यसले हामीलाई काम गर्न प्रेरित गर्नुका साथै बल दिन्छ । त्यो एउटा सफलताको सानो कडीको रुपमा काम गर्छ भन्ने पनि लाग्छ ।

निरन्तर सक्रिय
म यहाँ एकदम नयाँ छु । यहाँको कुरा भर्खर बुझ्दै छु । मलाई के लाग्छ भने यहाँ झन् अत्यन्तै ठूला क्षेत्रहरू छ । बालबालिका, महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकको क्षेत्र छ । यी भनेको अत्यन्त संवेदनशील हुनुपर्ने र सहृदयका साथ काम गर्नुपर्ने हो । त्यही किसिमले सम्बोधन गर्न सकियो भने सायद उहाँहरूले सोचेको जति पूरा गर्न नसकिए पनि केही थोरै भए पनि मैले काम गर्न सक्छु की भन्ने आशा राखेको छु । टिमले, समाजले र सरोकारवालाले सकारात्मक सोचका साथ सहयोग गर्नुभयो भने सकारात्मक रूपमा एक्टिभ्ली काम गर्छु भन्ने मलाई लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस