सुन काण्डका मुख्य अभियुक्त गोरे कारिन्दा मात्रै हुन् « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुन काण्डका मुख्य अभियुक्त गोरे कारिन्दा मात्रै हुन्


३१ बैशाख २०७५, सोमबार


साढे ३३ किलो सुन प्रकरणको चर्चा अझै सेलाएको छैन । पछिल्लो अवधिमा संगठनमा देखिँदै आएको नेतृत्व विवाद केही मत्थर हुँदै गइरहेको अवस्थामा सुन तस्करीमा प्रहरी उच्च अधिकारीकै संलग्नताले शान्त हुन दिएन । यस घटनाले एकातिर केही अधिकारीका कारण सिँगो प्रहरी संगठन नै बदनामित हुन पुगेको छ र जनताले प्रहरीलाई मात्र होइन, प्रहरीभित्रै एकले अर्कोबीच अविश्वास देखा परेको छ भने अर्कोतिर नयाँ नयाँ व्यक्तिहरुको संलग्नता खुल्दै जानु र गायब भएको सुनसहित मुख्य नाइके भनिएका व्यक्ति अझै पक्राउ पर्न नसक्नुले घटना निश्कर्षमा पुर्याउन केही समय लाग्ने देखिएको छ । नेपालमा सुन तस्करीको इतिहास, बजार, संलग्नता र यसै घटनाको अनुसन्धानको सेरोफेरोमा पूर्वडिआइजी तथा अपराध अनुसन्धानविद् हेमन्त मल्ल ठकुरीसँग प्रशासन डट कमका एस राज उपाध्यायले गरेको कुराकानी ।

साढे ३३ किलो सुन गायव प्रकरणपछि प्रहरीमा त ठूलै पहिरो गयो नि, कसरी हेर्नुहुन्छ यसलाई ?
योभन्दा पहिले पनि सुन तस्करीमा नेपाल प्रहरी, भन्सार कर्मचारीलगायतलाई कारवाही भएको छ । तर, त्यो बेला संख्या सानो सानो हुन्थ्यो । तर, यसपाली के देखियो भने डिटेल अनुसन्धान गर्ने सिलसिलामा नेपाल सरकारले छानबिनका लागि समिति गठन गर्याे । त्यससँगै सरकारले छानबिन गर्न सक्ने विशेष व्यवस्था पनि गर्याे ।

त्यो समितिले विस्तृतरूपमा अनुसन्धान गर्दा एयरलाइन्स र प्रहरी कर्मचारी घटनामा मुछिएको पाइयो । घटनामा जिआइजीसम्मै पनि मुछिएको देखियो ।

यसअघि लिडरसिपको इस्युलाई लिएर हुने गरेको मिस अन्डरस्यान्डिङ बिस्तारै तग्रिँदै गइरहेको अवस्था थियो । अहिले आएर सुनसँग जोडिएर कारवाही हुँदा यसले विभागलाई ठूलो असर परेको देखिन्छ । जनताले प्रहरीलाई गर्ने विश्वासमा संकट देखापरेको छ । प्रहरीभित्र पनि एक–अर्काेबीच अविश्वास देखापरेको छ ।

एक पूर्व प्रहरीको नजरबाट हेर्दा यो घटनाले विभागलाई ठूलो असर पुर्याएको देखिन्छ, जुन सच्चिनै टाइम लाग्छ जस्तो लाग्छ ।

मुख्य नाइके गोरे फरार छन्, अहिलेसम्म पत्ता नलाग्नुको कारण के हुन सक्छ ?
मलाई त अहिले पनि गोरे मुख्य अभियुक्त हो जस्तो लाग्दैन । किनकी जुन लेबलमा सुन स्मग्लिङ भइरहेको छ भन्ने कुरा आएको छ, त्यो लेबलमा स्मग्लिङ गर्नका लागि सबैलाई म्यानेज र कोर्डिनेट गराउन सिन्डिकेट छ । नेपालभन्दा बाहिर जहाँबाट सुन आइरहेको छ, त्यो गल्फ होला, चाइना होला । तर, सुन त भारतका लागि आउने हो । त्यहाँ सुनमा लगानी गरेका व्यापारीहरू छन् । सबैलाई सहुलियत र कोर्डिनेट हुने गरी यो कारोवार भएको जस्तो लाग्छ ।

मेरो विचारमा गोरे एउटा कारिन्दा हो । उसलाई लुक्न सजिलो किन भयो भने दुई–तीन वर्षदेखि उसले यो काम गर्दै आएको थियो । उसको प्रहरीलगायतसँग सम्पर्क पनि भएको थियो । त्यसकारण उसलाई के हुँदैछ भन्ने कुरा थाहा हुन्थ्यो । प्रहरीसँग के गर्दा के हुन्छ, केही गलत काम हुँदा त्यसको प्रतिक्रिया के आउँछ भन्ने जानेकोले उसको खोजी गर्न अप्ठ्यारो भएको हो । तर, यस्तो मान्छे लामो समयसम्म लुक्न सक्छ जस्तो मलाई लाग्दैन ।

गोरे कारिन्दा भए मुख्य नाइके को हो त ?
जुन लेबलमा सुन आइरहेको छ जस्तो काठमाडौंमा एउटा होटेल मालिकको नाम आयो । ऊ सबै चिज हो भन्दैन । नेपालमा ऊजस्ता अरु पनि लगानीकर्ता हुन सक्छन्, जो पछाडि बसेका छन् । बाहिर देखिएका छैनन् अहिले पनि । जहाँबाट सुन आएको छ त्यहाँ पनि लगानीकर्ता हुन सक्छन्, होलान् पनि । जुन ठाउँमा सुन जाने हो । उनीहरूको पनि लगानी भएको हुन सक्छ । सुन जाने कहाँ त भन्दा भारतमा । नेपालमा पनि केही बिक्री हुने हो । सुन चाइनाबाट आइरहेको छ । त्यहाँ भएका केही व्यक्तिहरूको पनि लगानी हुन सक्छ ।

यति ठूलो परिमाणको सुन तस्करीमा राजनीतिक व्यक्तिको संलग्नता नहोला पनि भन्न सकिँदैन नि, त्यसमा उच्च तहको नेतृत्वको सम्भावना कत्तिको देखिन्छ ?
कुनै पनि अनुसन्धान गर्दा हामीले कसैलाई शंका गर्ने, आक्षेप लगाउने वा अनुसन्धानको दायरामा ल्याउने भनेको आधारहरूबाट हो । सरसर्ती हेर्दा अहिलेको घटनामा राजनीतिक व्यक्तिहरू मिसिएको पनि देखिँदैन ।

प्रहरी संगठनका पनि सबै कर्मचारी संलग्न छैनन् । केही व्यक्तिहरू मात्रै संलग्न भएको देखिन्छ । चाहे त्यो नेपाल प्रहरीको होला । चाहे एयरलाइन्सको होला । सबै एयरलाइन्सका मान्छेहरू त्यसमा संलग्न भएका छैनन् नि त । नेपाल प्रहरीको त्यत्रो ठूलो संख्या एयरपोर्टमा छ सबै त्यसमा संलग्न भएका छैनन् नि त । आधार केलाउने हो भने अहिलेसम्म नदेखिएकाले राजनीतिक व्यक्तित्व संलग्न छ, भन्सार संलग्न छ भन्न सकिँदैन । त्यत्तिकै आक्षेप लगाउनु त्यति उपयुक्त हुन्छ भन्ने मलाई लाग्दैन ।

एयरपोर्टबाटै त टनका टन आउँछ भने स्थलगतबाट त झन् कति आउँला, यसबारे के छ तपाईँको विश्लेषण ?
एकदमै धेरै आइरहेको छ । योभन्दा पहिला पनि आइरहेको थियो । पञ्चायतकालदेखि नै हो सुन नेपालबाट आउने गरेको । बीच बीचमा बाटो चेन्ज हुने हो । शंका हुने वित्तिकै अर्कोतिर डाइभर्ड गर्ने गरिँदै आएको हो । त्यसकारण यो रोकिने कहिल्यै रोकिएको छैन जस्तो लाग्छ । हाम्रो ध्यान अहिले एयरलाइन्समा मात्रै छ । एयरलाइन्सदेखि बाहेक यदि हामीले हेर्ने हो भने स्थलमार्गबाट बढी आइरहेको छ ।

नेपालमा किन यति धेरै सुन तस्करी हुन्छ त भन्दा पहिलो त नेपालमा दैनिक १५ देखि २० किलो सुन कानुनी रुपमा आयात हुन्छ । जबकी नेपालको माग ३० किलोदेखि माथि रहेको तस्करहरूलाई थाहा छ । अर्काे, भारतको जम्मा आयात पहिले कम थियो । त्यतिबेला त्यहाँ बैधरुपमा पाँच सय टनको हाराहारीमा हुन्थ्यो । त्यो बेला सुनको डिमान्ड करिव सात–आठ सय टन थियो । दुई–तीन सय टन इलिगल सोर्सबाट आउथ्यो ।

तर, डि–मोनेटाईजेसन र जिएसटी लागू भएपछि भारतमा सुनको माग धेरै बढेको छ । सुन पनि मनील्यान्ड्री एक्टको कानुनी दायरामा पर्ने व्यवस्था जुन थियो सन् २०१७ मा कारवाहीको दायराबाट हटाउने व्यवस्था गरेपछि भारतमा सुनको माग बढेको हो । यो कुरा इन्डियाकै धेरैलाई थाहा पनि छैन ।

सन् २०१७/१८ मा हेर्ने हो भने करिब सात सय टनको हाराहारीमा कानुनीरुपमा आयात भइरहेको छ । पहिले पाँच सय टन कानुनीरुपमा आयात हुँदाखेरी आठ सय टन डिमान्ड थियो । तीन सय टन इलिगल आयात हुन्थ्यो । सात सय टन अहिले आइरहेको छ भने हजार टन डिमान्ड हुनुपर्छ । त्यसकारण अहिले पनि तीन सय टन सुन इलिगल मार्केटबाट आइरहेको छ । तस्करीलाई टेवा पुग्नुको मुख्य कारण यही हो । तस्करीको जुन स्पेस छ यही कारणले गर्दा तस्करी निरन्तर रहन्छ । भारतमा सुन कि नेपालबाट आउँछ की बंगलादेशबाट ।

भनेपछि भारतीय माग धान्न पनि नेपालबाट सुन तस्करी बढेको हो ?
भारतमा बुझ्दा सबैभन्दा बढी सुन आउने बाटो भनेको नेपाल हो । अर्को कुरा नेपालमा सुन आउनका लागि वैदेशिक मुद्रा चाहिन्छ । त्यसका लागि हुन्डीबाट बाहिरिन्छ । अहिलेको हकमा नेपालबाट बाहिर जाने विदेशी मुद्रा चाइनिजहरूबाट भइरहेको छ । यसको संकेत के हो भने विदेशी मुद्रा चाइनातिर बढी गइरहेको छ ।

योभन्दा पहिलाको अनुसन्धानले पनि के प्रमाणित गरेको थियो भने नेपालबाट युरोप अमेरिका जाने सुनको विदेशी मुद्रा हङकङमा जम्मा हुन्थ्यो । विदेशबाट काम गर्ने नेपालीबाट जम्मा भएको रकम र केही नेपालबाट संकलन भएको पैसा जुन गल्फबाट आइरहेको छ ।

अर्को नेपाली लागूऔषध (गाजा चरेस)बाहिर जान्छ । त्यसको पैशा सुनमार्फत् आउँछ । अर्को हामीले जुन रेमिटेन्स घट्यो भनिरहेका छौं, त्यो पैसा कता गइरहेको छ त ? विदेशी मुद्रा यसैमा प्रयोग भइरहेको छ ।

सुन तस्करको सञ्जाल ठूलो छ भनिन्छ, कहाँ–कहाँसम्म हुन सक्छ ?
मैले अघि नै भनिसके, नेपालमा बिक्री भइरहेको छ भने नेपालीको पनि लगानी छ । धेरैजसो सुन चाइनाबाट आइरहेको छ । चाइनिज ग्रुप पनि संलग्न छन् यसमा । यसको बजार भनेको इन्डिया र नेपाल भयो । यहाँको मान्छेको पनि पैसा लागेको छ यसमा । गल्फबाट आइरहेको छ भने त्यहाँका व्यक्तिहरू पनि संलग्न छन् । यसमा हामी एउटै देशको मान्छे मात्र संलग्न छैनन् ।

अहिले धेरै चर्चामा आयो, पहिला यति चर्चा हुँदैनथ्यो, पहिला तस्करी नै कम भएर हो कि परिमाण कम भएर हो ?
सुन त पहिलादेखि नै आइरहेको छ । नेपाल र भारतमा जुन वास्तविक आयत र मागको ग्याप छ त्यो अहिलेका मात्रै होइन पहिलादेखिको ग्याप हो यो ।

अहिले मात्र होइन, पञ्चायत कालमा पनि ठूलो परिमाणमा सुन बरामद भएका घटना छन् । पञ्चायत कालमा राजदूतावासले मगाएको सामानभित्र पनि सुन बरामद भएको छ । पहिले डिटेल अनुसन्धान हुँदैनथ्यो । अहिले विशेष संगठित अपराधसँग सम्बन्धित ऐन पनि आयो । सरकारको विशेष व्यवस्थाले एउटा समिति गठन गरेर डिटेल अनुसन्धान गर्ने जिम्मा समितिलाई दिएर समितिले डिटेल अनुसन्धान गर्दाखेरी यो छरपस्ट भएको मात्रै हो ।

यो समिति सुन तस्करीको जालो तोड्न सक्ला भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
यो सानो ग्रुपले एक्सपोज गरेको मात्रै हो । तातोपानी, रसुवाको जुन बाटो छ, केरुङ लगायतको बाटोबाट आउने त्यहाँ ठूला सञ्जालहरू छन्, त्यहाँ यो समितिले हेर्ने की नहेर्ने ? अहिले त एउटा मात्रै सञ्जालको हेरियो यस्ता त यहाँ थुप्रै सञ्जालहरू छन् ।

यहाँको विचारमा त्यस्ता सञ्जाल कति जति होलान् नेपालमा ?
संख्या त ठ्याक्कै भन्न सकिँदैन । हाम्रो देशमा के छ भने एउटा सञ्जाल एक्सपोज भएपछि कारोबार गर्ने जुन ग्रुप छन्, उनीहरूले नयाँ सञ्जाल खडा गरिदिन्छन् । जस्तोः गोरे एक्सपोज भयो । गोरे एक्सपोज भएपछि अलिकति समय लाग्दा गोरेको ठाउँमा उनीहरूले अर्को मान्छे जन्माई हाल्छन् । त्यो एउटा बाध्यता जस्तै बनेको छ किनकी भारतमा माग पनि छ । सामान त आउँछ नै । एउटा टुल एक्सपोज भएपछि अर्को टुल विकास गरिहाल्छन् उनीहरूले ।

यो नहोस् भन्नका लागि के गर्न जरुरी छ ?
यो समितिले डिटेलमा अनुसन्धान गर्न जरुरी छ ।

अबको अनुसन्धान कसरी अगाडी बढ्दा प्रभावकारी हुने देख्नुहुन्छ ?
यो समितिलाई म्यान्डेड दिएर अगाडी बढाउनु पर्छ । अहिले समितिको म्यान्डेडसमयसकिने बेला भइरहेको छ । यसको समय थपेर थप अनुसन्धान गर्न जरुरी छ । त्यसमा थप ग्रुपहरू पनि एक्सपोज हुन्छन् ।

यसभित्रका सबै पाटाहरु बाहिर ल्याउनु पर्यो र भोलीका दिनमा त्यसलाई रोक्ने नयाँ उपायहरु खोज्नुपर्याे । र, त्यो गर्नको लागि पनि समय लाग्छ । यस्ता संगठित अपराधको लागि स्पेसल टाक्सपोर्स पनि गठन गर्नुपर्ने पनि हो की जस्तो लाग्छ मलाई ।

विदेशतिर संगठित अपराधको समस्या समाधान गर्न तीन–चार वर्षको समय दिएर त्योसँग सम्बन्धित अधिकृत सम्मेलित टाक्सफोर्स बनाएर काम गर्ने चलन छ । नेपालमा पनि सोसँग संगठित भनेको भन्सार, नेपाल प्रहरी, गृह मन्त्रालय, इमिग्रेसन लगायतका टाक्सफोर्स बनाएर लामो समय अनुसन्धान पनि गर्ने गरी उसलाई अधिकार दिएर टाक्सपोर्ट गठन गर्नुपर्ने हो की ?

अर्को सुनका जति पनि कारबाही भएका छन् । एउटा ब्लेम आएको छ । समात्ने व्यक्ति होस् एजेन्सी । कुनै पनि समातेको अफिसरलाई अहिले पनि सकारात्मक दृष्टिकोणले नहेर्ने, नेग्लिजेन्स कुरा गर्ने चलन अहिले पनि छ । यदि कानुनले त्यस्तो समस्या सिर्जना गरेको छ भने कानुनमा त्यो पनि सच्याउने हो की ? अनुसन्धान गर्ने एजेन्सीलाई कुनै विशेष व्यवस्था गर्नुपर्ने हो की ? अर्को पुरस्कारको कुराहरू पनि पारदर्शी ढंगले सरकारले केही कार्यविधि बनाएर त्यो पनि कार्यान्वयन गर्ने हो भने सजिलो हुन्छ जस्तो लाग्छ मलाई त ।

कतिपय अवस्थामा अनुसन्धानमै संलग्न अधिकारीको संलग्नताले थप जटिल बनाइदिएको छ, यहाँको धारणा के छ ?
अर्गनाइज क्राइममा अनुसन्धान गर्ने विभिन्न टुलहरू हुन्छन् । म कुनै स्पेसल टुलको कुरा गर्दैन । विदेशतिर के हुन्छ भने संगठित अपराधसँग साइट गर्नको लागि जुन विभिन्न टुलहरू छन् त्यो टुललाई कानुनले सपोर्ट गरेको हुन्छ । ती टुललाई सहज रूपमा परिचालन गर्नको लागि केही कार्यविधिहरू गरिदिनु पर्ने हुन्छ । ऐन÷कानुनमा पनि त्यसको व्यवस्था गरिदिनु पर्छ । त्यसले संगठित अपराधमा अनुसन्धान गर्न सजिलो हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस