कागजात लिएर आउने सेवाग्राहीको काम आधा घन्टामै गर्छाैं « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कागजात लिएर आउने सेवाग्राहीको काम आधा घन्टामै गर्छाैं


प्रशासन विशेष ब्युरो

३० बैशाख २०७५, आइतबार


जनप्रतिनिधिहरुले जनतासँग गरेका प्रतिवद्धताहरु कति पुरा गरे या गरेनन् ? सेवा प्रवाहमा जनताले महसुस हुने गरी सुधार आयो कि आएन ? अनि कर्मचारीहरुले कसरी काम गरीरहेका छन् लगाएत विषयमा काठमाडौं महानगरपालिका–९ का अध्यक्ष रामकृष्ण श्रेष्ठसँगको कुराकानी ।

जनतासँग गरेका प्रतिबद्धता के–कति पूरा गर्नुभयो ?
हामीले पार्टीको घोषणापत्र र चुनावी भेटघाटका क्रममा जनतासँग विभिन्न प्रतिवद्धता गरेका थियौं । तिनै प्रतिबद्धताका आधारमा विकास निर्माण गरिरहेका छौं । यसक्रममा सडक तथा ढल निर्माण भइरहेको छ । जनतासँग गरेका प्रतिबद्धतामध्ये २५ प्रतिशत मात्रै बाँकी छन् ।

हामीले अनलाइन सिस्टमबाट सेवा दिइरहेका छौं । कागजात लिएर आएका सेवाग्राहीको काम आधा घन्टामै हुने गरेको छ । हामीले मठमन्दिर तथा ढुंगेधाराको संरक्षणमा पनि हामीले चासो देखाएका छौं । ढुंगेधारा पुनर्निर्माण, मर्मत र उत्खनन् गरिरहेका छौं । वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने योजना छ । त्यसबारे महानगरमा छलफल चल्दैछ ।

हाम्रो वडामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपति क्षेत्रको केही भाग पर्छ । त्यसकारण पर्यटक र दर्शनार्थीको सुविधाका लागि शौचालय बनाउने योजना छ ।

सेवाप्रवाह र विकास निर्माणलाई गुणस्तरीय बनाउन के–कस्ता योजना बनाउनु भएको छ ?
सेवाप्रवाहमा समस्या देखिए वडाका सामाजिक संस्था, टोल विकास समिति र महानगर बोर्ड बैठकमा छलफल गर्ने गरेका छौं । सामान्य समस्या भए कार्यालयमै छलफल गरी समाधान गर्ने र जटिल समस्या देखिए महानगरको बोर्ड बैठकमा राख्ने गरेका छौं । त्यहाँ छलफल गरेर समाधान गर्छाैं ।

कर्मचारीको काम गर्ने शैली कस्तो पाउनुभएको छ ?
पहिलेभन्दा धेरै अन्तर छ । हिजो कर्मचारीले काम गर्न अटेरी गर्थे । उनीहरूको सेवाग्राहीसँग त्यति राम्रो सम्बन्ध हुँदैनथ्यो । काममा पनि ढिलासुस्ती हुन्थ्यो । तर, अहिले परिस्थिति बदलिएको छ । अहिले सेवाग्राही सिधै जनप्रतिनिधिकहाँ आउँछन् । त्यसकारण काम छिटोछरितो हुने गरेको छ ।

स्थायी सरकार पनि भनिने कर्मचारी प्रशासन अर्थात् सेलेक्टेड र जनप्रतिनिधि अर्थात् इलेक्टेडको समूहबीच कसरी समन्वय गरेर अघि बढ्दै हुनुहुन्छ ?
जनप्रतिनिधि र कर्मचारी आ–आफ्ना काम, कर्तव्य र अधिकारबारे परिचित छन् । त्यसकारण पनि कामका क्रममा कुनै समस्या छ जस्तो मलाई लाग्दैन । कामका क्रममा कुनै समस्या देखिए छलफल गरेर समाधान गर्छाै ।

वडा समृद्ध बनाउने तपाईका योजना के छन् ?
वडा कार्यालय व्यवस्थित हुनुपर्याे । धेरै विषयहरू स्थानीय तहअन्तर्गत आएको छ । हाम्रो वडामा पुरानो भवन छ । त्यहाँ ठाउँ अभावको समस्या छ । त्यसैले सेवाप्रवाहलाई गुणस्तरीय बनाउन नयाँ भवन बनाउने योजना बनाएका छौं । सार्वजनिक जग्गा पहिचान गरेर नयाँ भवन निर्माणमा लाग्नेछौं ।

Tags :
प्रतिक्रिया दिनुहोस