तिंकर नाका खोल्न पहल गर्छु : मुख्यमन्त्री भट्ट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तिंकर नाका खोल्न पहल गर्छु : मुख्यमन्त्री भट्ट


२६ बैशाख २०७५, बुधबार


दार्चुला । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकारसमक्ष विशेष पहल गर्ने बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर दार्चुलाद्वारा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश नं ७ को समृद्धिको ठू्लो आधार तिंकर नाका भएको बताए । उनले सो नाका सञ्चालनका लागि तत्काल संघीय सरकारसँग पहल गर्ने बताए ।

भारत र चीनसँग जोडिएको उक्त नाका सञ्चालनमा ल्याउन सके प्रदेश नं ७ का सबै जिल्लाको आर्थिक वृद्धिदर बढ्ने बताउनुभयो । उहाँले भारत र चीनसँग जोडिएका प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, बैतडी, बझाङ र दार्चुलाका सबै नाका सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री भट्टले स्थानीय तह सञ्चालनमा सहजता ल्याउनको लागि कानून निर्माण गरेको बताए । दार्चुलाका नौवटै स्थानीय तहका जनप्रतिनिधिसँग समस्याका बारेमा जानकारी लिएको भन्दै उनले ती समस्यालाई मध्यनजर गर्दै कानून निर्माण गरिने बताए ।

प्रदेश सरकारले तीव्रगतिमा काम गर्न खोजिरहेको भए पनि कानूनको अभावमा चाहेजति छिटो र छरितो रुपमा काम गर्न नसकेको उनको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस