सेवा निवृत्त जीवन अलैँची खेतीमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सेवा निवृत्त जीवन अलैँची खेतीमा


१४ बैशाख २०७५, शुक्रबार


तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–५, इसिवुका ५९ वर्षे वृखबहादुर तामाङले आफ्नो जीवनको १७ वर्ष नेपाली सेनामा बिताए तर बल र वैँस दुबै रहेको ऊर्जाशील उमेर सेनामा बिताएर सेवा निवृत्त हुँदा पनि तामाङमा अझै जोस् घटेको छैन ।

आर्थिक अवस्था कमजोर हुँदा सेनामा भर्ती भएर दुई चार रुपैयाँ कमाए पनि त्यसबखत घरधान्न मुस्किल भएकाले निवृत्त हुनासाथ उनले अलैँचीखेती थालेका हुन् ।

अहिले त्यही अलैँची खेतीबाटै तामाङले हाल ६० रोपनी जमिनमा अलैँची विस्तार गरोक छन् । रोगका कीराको संक्रमणले बगान मासिए पनि यो वर्ष तामाङले सात मन अलैँची फलाए । गतवर्ष ११ मन अलैँची फलाएको उनले बताए । ‘जागिर आफ्ना लागि त पर्याप्त नै थियो तर परिवारका लागि त्यसले मात्रै पुगेको थिएन, उनले भने ‘त्यसैले सेवावाट अवकास भएपछि परम्परागत खेतीपाती र त्यसमा पनि अलैँची खेतीलाई जोड दिएँ, अहिले ठिकै छ ।’

तामाङले अहिले अलैँची खेतीबाटै गाउँमा दुई खला खेत, तराईमा केही जग्गा र म्याङलुङ बसपार्कमा तीन तले घर बनाउनुभएको छ । बुढ्यौली उमेरले छोए पनि अलैँची बगान स्याहार्ने, गोडमेल र बजारसम्म पु-याउने काम तामाङ आफैँ गर्छन् । आफूले जागिर खाएर दुःखले घर चलाए पनि आर्थिक प्रगति जागिरबाट नहुने उनको तर्क थियो ।

आफ्नो जमिन अलैँची खेतीका लागि उपयुक्त भएकाले सबै जमिनमा अलैँची लगाएको तामाङले बताए । “विदेशिने सबैले आर्थिक प्रगति नगर्ने त होइनन् तर आर्थिक प्रगति गर्नेले पनि धेरै मेहिनत गरेका हुन्छन्, त्यही मेहिनेत स्वदेशी भूमि गर्नसके स्वदेशमै मनग्ये कमाउन सकिन्छ तर युवालाई अलैँची खेतीमा प्रोस्साहन गर्न अनुदान र बिनाधितो ऋणको व्यवस्था हुनु जरुरी रहेको उनले जोड दिए ।

तामाङसँगै गाउँका अन्य २९ घरधुरीले गाउँमै बिरुवा उत्पादन गरेर खेती लगाउने गरेका छन् । वि.सं. ०३२ मा कक्षा–८ पढेपछि सेनामा भर्ती भएका उनले विद्यालय उमेरदेखि नै निकै संघर्ष गरेको बताए ।

प्रतिक्रिया दिनुहोस